+
+

जसपा विभाजन हुँदा मधेशमा तरंग, सोमबार संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते २१:५२

२३ वैशाख, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) केन्द्रमा विभाजन भएपछि मधेश प्रदेशमा तरंग पैदा भएको छ ।

प्रतिनिधिसभाका १२ सांसदमध्ये ७ जना सांसद लिएर नेता अशोक राई समूहले छुट्टै पार्टी  गठन गर्न निर्नवाचन आयोगमा दर्ताको लागि निवेदन दिएका छन् । मधेश जसपाको आधार क्षेत्र रहेकाले केन्द्रको विभाजनले मधेश तरंगित भएको छ ।

केन्द्रजस्तै मधेशमा पनि कुन सांसद कता लाग्ने भन्ने पनि आकलन गर्न थालिएको छ । मधेश प्रदेशसभामा जसपाका १९ सांसद छन् । २०७९ को निर्वाचनमा मधेशमा प्रत्यक्ष निर्वाचित र समानुपतिकसहित १६ सांसद रहेका थिए । तर स्वतन्त्रलाई पार्टी प्रवेश गराएर १९ सांसद पुर्‍याएको छ ।

केन्द्रमा पार्टी विभाजनपछि पहिलो पटक सोमबार बिहान ८ बजे जसपाले संसदीय दलको बैठक डाकेको छ । प्रदेश सांसद रामअशिष यादवले भने, ‘पार्टी फुटेको समाचार अघि नै प्रदेश सभा सञ्चालनको विषयमा छलफल गर्न भोलि बिहान ८ बजेको लागि बैठक डाकिएको थियो । पछि पार्टी विभाजनको खबर आयो । स्वभाविक रुपमा अब त्यो विषयमा पनि बैठकमा छलफल हुन्छ ।’

मधेश प्रदेशसभाका सदस्यमध्ये विभाजित पार्टीमा को को जान्छन् र जसपामा को को रहन्छन् भन्ने खुलेको छैन । तर, मधेश संघीयताको जननी र त्यसको श्रेय पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नै रहेकाले सकभर सबै सांसद यतै रहने प्रदेश सांसद सरोज कुशवाह बताउँछन् ।

‘महाधिवेशनमा स्वार्थ परिपूर्ति नहुने देखेपछि अध्यक्षजी विदेश भ्रमणमै रहँदा उनीहरुले पार्टी फोडे । अध्यक्षजी आएपछि कसले के गर्‍यो भन्ने विषयमा छलफल हुन्छ’, प्रदेश सांसद कुशवाहले थपे, ‘मधेशमा अध्यक्षजीलाई छाडेर जाने मनस्थितिमा अहिले कुनै पनि सांसद छैनन् । र जान्न पनि भन्ने मलाई विश्वास छ ।’

यद्यपि मधेश प्रदेशबाटै प्रत्यक्ष निर्वाचित जसपाका प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी नयाँ पार्टीतिर लागेकाले उनीहरु निकटका प्रदेश सांसद पनि नयाँ दलमा जाने आकलन गरिएको छ ।

श्रोतका अनुसार अहिलेसम्म यी तीन प्रतिनिधिसभा सदस्य निकट करिब ९ जना प्रदेश सांसद छन् । उनीहरु राई नेतृत्वको पार्टीतिर लाग्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?