काठमाडौं । काठमाडौंकी प्रमिता खनाललाई १३ वर्षअघि स्तन क्यान्सर देखियो । बच्चाहरु सानै थिए । डाक्टरले उनलाई ‘तपाईंलाई क्यान्सर भएको छ’ भन्दा धेरै दिन स्वीकार्नै गाह्रो भयो । क्यान्सर भएपछि त मरिन्छ भन्ने समेत लाग्यो । त्यो बेला क्यान्सरको उपचारका लागि नेपालमा धेरै अस्पताल पनि थिएनन् ।
सानो उमेरमा क्यान्सर हुनुको पीडा, समाजको हेर्ने दृष्टिकोण, पारिवारिक सहयोग आदि झेल्दै उनले आफ्नो उपचार पूरा गरिन् । तर त्यही बेला उनले अनुभव गरिन्, क्यान्सरको बिरामीलाई त उपचारसँगै हौसला पनि चाहिंदो रहेछ ।
‘क्यान्सर हुनुको पीडा, समाजको हेर्ने दृष्टिकोण, पारिवारिक अपेक्षा र आदिले झन् बिरामीलाई कमजोर बनाउने उनले बताइन् । यस्तो अवस्थामा बिरामीलाई उपचारसँगै हौसला दिनु जरुरी हुन्छ, जसले उनीहरूको आत्मबल बढ्ने र उनीहरूको पीडा कम हुन्छ,’ उनी भन्छिन् ।
अहिले त नेपालमा नै क्यान्सरको उपचार सम्भव छ । क्यान्सरको उपचारमा नयाँ-नयाँ प्रविधि भित्रिएका छन् । उपचार पनि धेरै हदसम्म सहज भएको छ । तर क्यान्सरका बिरामीलाई उपचारसँगै काउन्सिलिङको पनि जरुरी हुने प्रमिता बताउँछिन् ।
‘क्यान्सरका बिरामीलाई हामीजस्तै रोग लागेर यसलाई जितेकाहरूले कुरा गरेर यो रोग मैले जितें, तपाईँले नि जित्नुहुन्छ भन्दा निकै फरक पर्दोरहेछ,’ उनी भन्छिन्, ‘हुन त डाक्टर, नर्सले पनि परामर्श दिनुहुन्छ । तर पनि आफूजस्तै रोग लागेका र उपचारपछि निको भएकाले भन्दा बढी विश्वास हुँदो रहेछ ।’
क्यान्सरको उपचारपछि बिरामीहरूलाई पहिलेको दिनचर्यामा फर्किन एकदमै गाह्रो हुन्छ, यो समस्या म आफैंले पनि भोगे । यस्तोमा त्यसपछि पनि बिरामीलाई हौसला र काउन्सिलङको जरुरी हुन्छ । त्यसका लागि क्यान्सरसँग लडिरहेका साथीहरूसँग मिलेर ‘नेपाल क्यान्सर सर्भाइर सोसाइटी’ नामक संस्था स्थापना गरेको उनी सुनाउँछिन् ।
यो संस्थाले विभिन्न अस्पतालमा पुगेर क्यान्सरका बिरामीलाई परामर्श दिने काम गरिरहेको छ । क्यान्सरका बारेमा जनचेतना फैलाउन पनि आफूहरु लागिपरेको प्रमिता बताउँछिन् ।
****
१६ वर्षअघि बिनु केसीले एक दिन अचानक दायाँ स्तनबाट केही बगेको महसुस गरिन् । हेर्दा दूध जस्तो सेतो पदार्थ निस्किएको रहेछ । साढे तीन वर्षीया छोराले दूध खान छोडेको तीन महिना मात्र भएको थियो । त्यसैले उनलाई लाग्यो, दूध आएको होला, केही दिनमा सुकेर जान्छ ।
सेतो पदार्थ बग्न नछोडेपछि उनी स्त्रीरोग विशेषज्ञलाई देखाइन् । जाँच गरेपछि डाक्टरले केही भएको छैन भन्दै स्तनबाट बग्ने पदार्थ सुकाउने औषधि दिइन् । एक महिनाको औषधि लिएर ठीक हुने आशामा घर फर्किएकी बिनु झन्-झन् बिरामी र कमजोर हुँदै जान्छिन् ।
फेरी शरीरभरि नै डाबर पनि फैलिएपछि छालारोग विशेषज्ञलाई पनि देखाउँछिन् । कुनै एलर्जीका कारण डाबर फैलिएको हुनसक्ने भन्दै डाक्टरले एलर्जीको औषधि दिन्छन् । समस्या बढ्दै गएपछि उनले जनरल फिजिसियनसँग पनि जाँच गराउँछिन् । डाक्टरले उनलाई रक्तचाप कम भएका कारण त्यस्तो समस्या देखिएको भन्दै खानपिन र आराम गर्न लगाउँछन् ।
करिब तीन-चार महिनापछि नुहाउँदै गर्दा उनले भित्री वस्त्रमा रगतका टाटा देख्छिन् । त्यसपछि फेरि अस्पताल पुगेर चिकित्सकलाई आफ्नो समस्या सुनाउँछिन् । चिकित्सकले स्तनबाट सानो मासुको टुक्रा निकालेर जाँच गर्न लगाए । केही दिनमा उनको रिपोर्ट आयो र दाहिने स्तनमा प्रारम्भिक चरणमा क्यान्सर भएको पुष्टि हुन्छ । क्यान्सर पुष्टि भएपछि उनी उपचार गर्न भारत पुगिन् । भारतमा उपचार गरेर उनी नेपाल फर्किइन् ।
रोग पत्ता लगाउनका लागि उनले धेरै सास्ती भोग्नुपर्यो । यस्तै दु:ख अरूले भोग्न नपरोस् भनेर आफ्नो उपचारपछि उनी क्यान्सरबारे सचेतना फैलाउने र बिरामीलाई काउन्सिलिङ गर्ने उद्देश्यका साथ नेपाल ‘नेपाल क्यान्सर सर्भाइर सोसाइटी’मा जोडिइन् ।
‘एउटा बिरामीले राम्रो सल्लाह सुझाव नपाउँदा उसले कति दु:ख पाउँछ भन्ने कुरा मैले भोगेको छु । मैले जस्तो दु:ख अरूले भोग्न नपरोस् भन्ने उद्देश्यले यो काममा सक्रिय छु,’ उनी भन्छिन् ।
क्यान्सर निको हुन औषधि मात्र नभई परामर्श, घरपरिवारको साथ र सहयोगको उत्तिकै भूमिका हुने उनको अनुभव छ । ‘शरीरको पीडा कम गर्ने काम डाक्टरले गर्नुहुन्छ । मानसिक पीडाका लागि पनि डाक्टर हुनुहुन्छ तर जुन पीडाबाट हामी गुज्रिन्छौं, त्यो भोगाइ बाँड्नका लागि हामीले उस्तै साथ खोज्छौं । एक जना क्यान्सर बिरामीले अर्कोको पीडा देख्दा र बुझ्दा पनि निकै हिम्मत पाइने रहेछ,’ बिनु भन्छिन् ।
चिकित्सकले बिरामीलाई उपचारसँगै हौसला दिनैपर्छ
नेपालमा क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । बदलिंदो खानपिन र व्यस्त जीवनशैलीका कारण अन्य रोगजस्तै क्यान्सर पनि बढिरहेको छ । पहिले ‘क्यान्सर ह्याज नो एन्सर’ भनिन्थ्यो, अहिले चिकित्सा विज्ञानको प्रगतिसँगै ‘क्यान्सर ह्याज मल्टिपल एन्सर’ भनिन्छ । क्यान्सरलाई समयमै पहिचान गरेर उपचार गर्न सकियो भने क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने क्यान्सररोग विशेषज्ञ डा. अरुण शाही बताउँछन् ।
‘अहिलेको समयमा शरीरसँगै मान्छे मानसिक रूपमा पनि स्वस्थ हुनु जरुरी छ । जब कोही बिरामीलाई आफ्नो रोगको बारेमा थाहा हुन्छ, उसलाई उपचार कसरी हुन्छ, खर्च कति लाग्छ भन्ने कुराले तनाव हुन्छ । यस्तोमा बिरामीलाई नेपालमै उपचार सम्भव छ, उपचार खर्च यति लाग्छ लगायतका कुरा बिरामीलाई राम्ररी बुझाइयो भने बिरामीलाई सजिलो हुन्छ,’ डा. शाही भन्छन् ।
‘कसैलाई क्यान्सर भयो भने अब मृत्यु नै हुन्छ भन्ने समाजले चित्रण गरेको छ त्यो गलत हो । यो कुरालाई गलत साबित गर्न चिकित्सकसँगै रोगलाई जितेका व्यक्तिहरूको काउन्सिलिङले पनि महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनी भन्छन् । क्यान्सरलाई जितेका व्यक्तिले हौसला दिंदा अरु बिरामीको पनि मनोबल बढ्छ । युरोप-अमेरिकामा बिरामीलाई हौसला दिने कार्य चिकित्सकको जिम्मेवारीभित्रै पर्छ ।
‘हाम्रो देशमा एउटा चिकित्सकले तीनदेखि चार घण्टामा ५० देखि ६० जना बिरामीलाई हेर्नुपर्छ । यस्तोमा बिरामीलाई उचित मात्रामा समय दिन र काउन्सिलिङ गर्न पाएका हुँदैनन् । यसलाई व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्छ,’ डा. शाही भन्छन् ।
क्यान्सरको जोखिमलाई कसरी कम गर्ने ?
विश्वभर क्यान्सरबाट मृत्यु हुनेको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी फोक्सोको क्यान्सरले मृत्यु हुन्छ । चुरोट नखाने हो भने पनि ९० प्रतिशतभन्दा बढी क्यान्सर र अन्य दीर्घरोगको जोखिमबाट बच्न सकिने डा. शाही बताउँछन् ।
विश्व स्वास्थ्य संगठनले पनि सुर्तीजन्य पदार्थ र रक्सीको सेवन नगर्नु नै स्वास्थ जीवनको पहिलो सर्त मानेको छ । ‘क्यान्सर हुनुमा धेरैजसो कारण हाम्रो खराब जीवनशैली हो । खराब खानपान, आनीबानी क्यान्सरको कारण बनिरहेका छन् । पछिल्लो समय हाम्रो खानपान एकदमै धेरै परिवर्तन भएको छ । फास्टफुड, प्याकेट फुड र जंकफुड हाम्रो दैनिक खाना भएको छ । यस्ता खानेकुराले क्यान्सर लगायत अन्य दीर्घरोगको जोखिम बढाएको छ,’ डा. शाही भन्छन् ।
अहिलेको व्यस्त समयमा मानिसले आराममा ध्यान दिएका छैनन् । काम काम भनेर आराम गर्ने समय नछुट्याउँदा स्वास्थ्यमा समस्या भइरहेको छ । त्यसैले दैनिक ६ देखि ८ घण्टा आराम गर्न डा. शाही सुझाउँछन् ।
‘तनावको कारण पनि विभिन्न शारीरिक तथा मानसिक समस्या बढिरहेको छ । आजभोलि हामी चाहिने भन्दा बढी तनाव लिन्छौं । आफूसँगै अरूको चिन्ताले मानिसको तनाव बढाएको छ,’ उनी भन्छन्, ‘जुन तनावको कारण निद्रा पनि राम्ररी लाग्दैन, खाना पनि रुच्दैन र क्यान्सर लगायत विभिन्न रोगको जोखिम बढ्छ । त्यसैले अनावश्यक तनाव पनि लिनु हुँदैन ।’
क्यान्सरलाई समयमै पत्ता लगाउन सकिएमा निको हुन्छ । त्यसैले ५० वर्षभन्दा बढी उमेरका व्यक्तिले वर्षमा एक पटक रगत, पिसाब, कलेजो, मिर्गौला, सुगर र हड्डीको जाँच गर्नुपर्छ । केही लक्षण छ भने लक्षणको आधारमा जाँच गर्नुपर्छ । यसो गर्दा रोग समयमा पत्ता लाग्छ र पूर्ण रूपमा निको पनि हुने डा. शाही बताउँछन् ।
‘स्तन र पाठेघरको क्यान्सर समयमा पत्ता लगाउन ५० वर्षमाथिका महिलाले वर्षमा एकपटक मेमोग्राम गर्नुपर्छ । पाठेघरको मुखको क्यान्सरबाट बच्न खोप नै आएको छ, जुन नौदेखि १४ वर्षका बालिककाले यो खोप लगाउन सक्छन् । कलेजोको क्यान्सरका लागि पनि खोप लगाउन सकिन्छ,’ डा. शाही भन्छन् ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4