+
+
मिथक :

अनि उनी अन्तर्ध्यान भइन् !

अघि कुरीबाट केवलकारको डब्बामा कोचिएर टापु उक्लिएको एक जोडी हात गाँसेर रमाउँदै कुण्ड जोड्ने फलामे भर्‍याङ चढेको देखिन् उनले । अनि ऊ बेला महादेवले पार्वतीलाई अंकमाल गर्दै सुखद् प्रेम साटेको मिठो अनुभूति गर्दै उनी अन्तर्ध्यान भइन् !

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० माघ २० गते १६:००

कालो बादल मडारिंदै गणेश थुम्काबाट अघि बढेपछि कालिञ्चोक भगवती माताले हिमपातको पूर्वानुमान गरिन् । फलामे भर्‍याङ उक्लेर आफ्नो वासस्थान भएको टापुमा नपुग्दै चारैतिर उज्यालो भएर हिउँ फुस्फुसाउन थाल्यो ।

माघको दोस्रो साता, टापुको अलिक तल कुरी बजारमा मानिसको भीडभाड र चहलपहल कुनै सहरको सभ्यताभन्दा कम लाग्दैनथ्यो । हिमपातले टापुसम्म उक्लने केवलकार बन्द भएपछि दिउँसै पनि यता भने सुनसान थियो । नत्र कालिञ्चोक भगवती माताले यसरी कुण्ड छेउमा बसेर सुस्ताउने मौकै कहाँ पो पाउनु थियो र !

कुण्डको पानीले आफूलाई अलिकति शुद्ध गरेपछि कालिञ्चोक भगवती माता फुस्फुसाउँदो हिउँको भुवादार छिर्काहरूसँग रमाउँदै लुकामारी खेल्न लागिन् । अनि एकैछिन सुस्ताएर रेलिङमा ढेपिंदै कुरीको चहलपहल नियाल्न लागिन् ।

दोलखा सहरमा हुर्के बढेको कालिञ्चोक भगवती मातालाई यतिबेला आफ्ना दिदीबैनी त्रिपुरासुन्दरी र बालकुमारीको याद आयो । उतिबेला उनी त्रिपुरासुन्दरी र बालकुमारीसँग दोलखा तल नागदहहुँदै तामाकोशी नदीमा पुगेर बालसुलभको विशेषतासँग उछलकुद गर्थिन् । दिदी-बैनीसँग पानी छेप्दै रमाएको र तामाकोशीको शुद्ध पानी बोकेर भीमेश्वर मन्दिरसम्म गफिंदै उकालिएको अतीतले उनलाई रोमाञ्चित बनाइदियो ।

अतीतमा हराउँदै गर्दा नाकको डाँडीमै हिउँको छिर्का पर्दा उनी झस्किइन् । ओहो ! अहिले त हिउँको भुवादार छिर्काहरूसँग एक्लै रमाइरहेको छु- उनी फिस्स हाँसिन् । त्यसो त तामाकोशी र सुनकोशीको मुहान नै कालिञ्चोकको टापु हो भनिन्छ । म त सधैं तामाकोशीको पानीले नै त स्नान गरिरहेको छु नि- मनको सन्तोष मेटिन् उनले ।

कालिञ्चोक भगवतीका धेरै दिदी-बैनी छन् । तीन हजार मिटर भन्दा अग्लो पहाडको टापुमा बस्ने भने उनी एक्ली हुन् । उनका दुई दिदीबैनी दोलखा सहरमा छन्, अनि केही सुनखानी, डुमकोट, महांकाल, लादुक, पिस्कर र केही काठमाडौं उपत्यका लगायत ठाउँमा छन् ।

टापुमा हिमपात हुँदा कालिञ्चोक भगवतीको मनमा थोरै विस्मात्को भाव पलाउँछ, चिसो सिरेटोले शरीरमा स्पर्श गर्दा । अनि क्षणभरमा उत्साहका रौं ठडिन्छन् हिउँका भुवादार छिर्काको प्रहार पर्दा । उनी टोलाउँछिन्, रमाउँछिन् र चिच्याउँछिन् खुशीले, कुरीमा हिउँका डल्ला बनाएर एक-अर्कोमा प्रहार गरेर रमाइरहेका मानिसको हुल देखेर । विगतलाई सम्झिन्छिन्- उतिबेला सुनसान थियो कुरी । महिनौंमा फाट्ट-फुट्ट मात्र मानिसको दर्शन मिल्ने गर्थ्यो । अब त हिमपात भएको सुईंको पाउनासाथ मानिस ओइरिहाल्छन् ।

उनलाई यी सबै कुराहरूसँग साक्षात्कार गरेर उसैगरी रमाउन मन छ, जसरी कुरीमा हिउँको डल्लो हानेर धेरै जोडीहरू रमाइरहेका थिए । तर उनी विवश छिन्, किनभने उनी भगवान हुन् । कालिञ्चोक भगवती माता ! मानिससँग साक्षात्कार गर्ने अनुमति उनलाई कसले दिएको छ र

अब त कालिञ्चोकको कुरी र टापु उक्लन सडक छ, केवलकार छ, सुन्दर-सुन्दर घर र टहरा छन् । अनि मानिसको चहल-पहल पनि औधी छ ।

कालिञ्चोक भगवती खुशी छिन् टापुमा वासस्थान बनाएकोमा । उनलाई थाहा छ, यही टापु हो पार्वतीले तपस्या गरेको र महादेव स्वामी पाएको । हिमालय पर्वत (पार्वतीका पिता) ले अरूसँगै विवाह गरिदिन लाग्दा पार्वती यही टापुमा आएर तपस्या गरेको उनलाई सम्झना छ । पार्वतीको खोजीहुँदा भेडाहरूको छेलो पार्दै पार्वतीलाई उनैले त हो लुकाएको । पछि तिनै भेडाहरू घाँससँग उग्राउँदै गर्दा टापु उक्लन थाले र उनको असली साथी भए ।

पार्वतीको तपस्याले खुशी भएर दोलखाकै देउलाङबाट उक्लिएका महादेवलाई कालिञ्चोक भगवतीले यही टापुमा पहिलो पटक देखेकी हुन् । गलामा सर्पको माला, हातमा डमरु र त्रिशूल, कम्मरमा बागको छाला, ओहो ! आकर्षक पहिरनले महादेवलाई चमकदार देखिएको थियो । महादेवको आगमन हुँदा पनि यसैगरी हिउँ फुस्फुसाएको उनलाई याद छ । कुण्डको अघिल्तिर महादेवले पार्वतीलाई अंकमाल गर्दै प्रेमभाव प्रकट गरिरहँदा हिउँ पुष्पवृष्टि झैं वषिर्एको थियो । महादेव-पार्वतीको आलिङ्गन भावमा आफू लाजले रातोपिरो भएको सम्झना कालिञ्चोक भगवतीको स्मृतिमा अझै पनि ताजै छ ।

म साँच्चै भाग्यमानी छु- कालिञ्चोक भगवती माता प्रसन्न भइन् । पृथ्वीको सबैभन्दा सुन्दर टापु मेरो वासस्थान छ- आफ्नो छनोटमा गौरव गरिन् उनले । टापु उक्लिएपछि पनि त दोलखा शहरसँगको साइनो हराएको छैन नि उनको । दोलखा शहरमा दानवहरूले दुःख दिंदा उनैको शरणमा टापु उक्लिएका थिए त्यहाँका बासिन्दा । अनि रक्तबीज नामको दानवलाई एकथोपा रगत पनि जमिनमा खस्न नदिई यही टापुमा बध गरेकी हुन् कालिञ्चोक माताले । यदि रक्तबीज दानवको एकथोपा मात्र रगत पनि जमिनमा परेको भए अरू हजारौं दानव जन्मने थिए । रक्तबीज जस्तो चमत्कारी दानवलाई पराजित गरेको टापु भएकोले पनि कालिञ्चोक मातालाई यहाँ बस्न पाउदा विछट्टै आनन्द मिल्दछ ।

*** ***

उनी अतीतमा हराउँदै जाँदा मौसम भने खुल्दै गएको छ । विस्तार- विस्तार हिमपातले विश्राम लिंदैछ । वर्षंदो हिमपातमा थोरै मानिस मात्र देखिएको कुरी बजारमा अब चहल-पहल बाक्लिंदै गएको छ । कोही हिउँको डल्लो बनाएर सेल्फी हान्दैछन् । कोही एक-अर्कोमा हिउँको डल्लाले हानाहान गर्दैछन् । अनि कोही यही रमाइलो वातावरणलाई आफ्नो क्यामेरामा कैद गर्न तल्लीन देखिन्छन् ।

अब कालिञ्चोक भगवती माता पनि कुरीको चहल-पहल हेर्न लागिन् । साँच्चै मानिसले कति धेरै रमाइलो गर्न जानेका । मानिसको खुशीमा उनको उत्साह टापु झैं अग्लियो । दानवहरूसँग लडाइँ गरेर मानिसको रक्षा गरेको विगतले उनलाई चसक्क घोचिदियो । त्यो घोचाइको पीडाले खुशीका बग्रेल्ती मिठास पस्किएको थियो ।

कुरीमा देखिएको मानिसको चहल-पहलसँगै गुनासाका केही तरङ्गहरूले उनलाई सतर्क पनि गराएको छ । कुरीम्ाा रमाउँदै टापु उक्लने आगन्तुकहरू भन्छन्- ठाउँ त यो असाध्य सुन्दर छ तर होटलहरूमा खाने-बस्ने कुरामा एकरूपता देखिएन । कोही सडक बने पनि यातायात व्यवसायीको मनोमानी भएको गुनासो सुनाउँदै उनीहरूको सभ्यता तौलिरहेका हुन्छन् । अनि कोही केवलकारको शुल्क बढी भएर पैदलै उक्लनु परेको विवशता सुनाइरहेका हुन्छन् । अनि धेरैलाई मन्दिरमा पनि सरकारले ठेक्का लगाएको कुरा चित्त बुझेको छैन ।

आगन्तुकको अनेकथरी गुनासो मैले सुनेको, मनन् गरेको छु । तर म विवश छु, मानिस देख्नासाथ अन्तध्र्यान हुनुपर्ने मेरो विवशताले आगन्तुकको गुनासो म सम्बन्धित ठाउँमा पुर्‍याउन सक्दिनँ- उनी आफू देवता हुनुको पीडाबोध गर्छिन् यतिबेला ।

टापु उक्लने आगन्तुकले दोलखा शहरको भीमेश्वर मन्दिर पुग्ने कुरा गर्छन्, देउलाङ्गेश्वरको महिमा वर्णन गर्छन्, महांकाल, शैलुङ, सुन्द्रावती, च्छो-रोल्पा हिमताल, लामाबगर, चरिकोट र जिरीको चर्चा गर्छन् । आगन्तुकका यस्ता खासखुसले भने उनलाई उत्साहित बनाउँछ । मनमनै भन्छिन्- महादेव, राम-सीता, भीमेश्वर, श्रृंगी लगायत ऋषिहरूको पाइला परेको दोलखाको सबै भूमि पवित्र छ ।

टापुमा हिउँ थामियो । चारैतिर हिउँको सेताम्य चमकले कुरी बजार अझ सुन्दर देखियो । गौरीशंकर हिमशृङ्खला कुनै सुन्दरीले दन्तलहर खोलेर मुस्कुराए झैं देखिए । महादेव-पार्वती पनि वायुपंखी घोडामा सवार भएर कुरीको चहल-पहल नियाल्दै टापुलाई फेरो मारेर देउलाङतिर लागे ।

कुरी बजारबाट छपक्कै मानिस भरेर केवलकारको दुई डब्बा टापुतिर उक्लन लाग्यो । कालिञ्चोक भगवती माताको मनमा एकनासको कम्पन सुरु भयो । टापुको सुन्दरता, हिउँको चमक, हिमालको सिरेटो अनि खुशीमा चिच्याइरहेका आगन्तुकको सुमधुर स्वरको कम्पन । उनलाई यी सबै कुराहरूसँग साक्षात्कार गरेर उसैगरी रमाउन मन छ, जसरी कुरीमा हिउँको डल्लो हानेर धेरै जोडीहरू रमाइरहेका थिए । तर उनी विवश छिन्, किनभने उनी भगवान हुन् । कालिञ्चोक भगवती माता ! मानिससँग साक्षात्कार गर्ने अनुमति उनलाई कसले दिएको छ र !

अघि कुरीबाट केवलकारको डब्बामा कोचिएर टापु उक्लिएको एक जोडी हात गाँसेर रमाउँदै कुण्ड जोड्ने फलामे भर्‍याङ चढेको देखिन् उनले । अनि ऊ बेला महादेवले पार्वतीलाई अंकमाल गर्दै सुखद् प्रेम साटेको मिठो अनुभूति गर्दै उनी अन्तर्ध्यान भइन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?