+
+

घाम नलागेपछि वाणिज्य बैंकको कोल्टी शाखामा सेवा अवरुद्ध

प्रकाश सिंह प्रकाश सिंह
२०८० माघ २१ गते १७:५४

२१ माघ, बाजुरा । जिल्लाको कोल्टीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा घाम नलागेको दिनमा कारोबार नै बन्द हुने गरेको छ ।

बैंकमा सौर्य ऊर्जाबाट बत्ती जोडिएको तर ब्याट्री बिग्रेका कारण चार्ज टिक्दैन । त्यसैले घाम लागेका बेला मात्र सेवा दिन सकिने शाखा प्रबन्धक सुदामा शाहीले बताइन् । ‘सोलारको ब्याट्री डाउन भएको छ । यहाँको स्थानीय बत्तीको कुनै भर हुदैन’, उनले भनिन् ।

आइतबार यस क्षेत्रमा विहानैदेखि घाम लागेको छैन । त्यसैले सेवाग्राहीले पैसा राख्ने, झिक्ने जस्ता सेवा लिन सकेका छैनन् । वृद्धभत्ता झिक्न १० बजे नै बैंकमा पुगेकी बुढीनन्दा नगरपालिकाकी सौतेनी सार्की १२ बजेसम्म लाइन बसिन् । ६८ बर्षीया उनी भन्छिन्, ‘गाउँमा हिउँ परिरहेको छ । यता पानी परेको छ । यो चिसोमा बैंकमा पैसा निकाल्न चार घण्टा लाइनमा बसेँ । बत्ती नभएर पैसा झिक्नै पाइएन ।’

ब्याट्री डाउन भएर सौर्य ऊर्जाबाट काम नभएकाले जेनेरेटर खरिदका लागि लागि केन्द्रीय कार्यालयमा पत्राचार गरेको शाखा प्रमुख शाहीले बताइन् । राष्ट्रिय वाणिज्य बैंकको कोल्टी शाखामा बूढीनन्दासहित बाजुराका पूर्वी उत्तरी क्षेत्रका चारवटा स्थानीय तह र हुम्ला, मुगु तथा कालीकोटका बासिन्दाले पनि सेवा लिने गरेका छन् । विमानस्थल पनि भएकाले कोल्टी बाजुरा, हुम्ला, मुगु र कालीकोटको ब्यापारिक केन्द्रसमेत हो ।

बैंकको सेवा सञ्चालनका लागि बुढीनन्दा नगरपालिकासँग पनि जेनेरेटरका लागि सहयोग मागेको तर नपाएको शाखा प्रमुख शाहीले बताइन् । स्थानीय ब्यापारी जनम धामी बैंकमा जेनेरेटर जरुरी भए पनि कतैबाट पहल हुन नसकेको बताए ।

राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश प्रमुख राजेन्द्र आचार्यले कोल्टी शाखामा तत्काल सोलारको ब्याट्री खरिद गर्न शाखालाई भनिसकेको र जेनेटरका लागि केन्द्रमा पहल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?