+
+

देव, अनिल, पवन, अर्जुन र सूर्यको नेपाली टोलीमा पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते २१:०१

२१ माघ, काठमाडौं । विकेटकिपर अनिल साह र सूर्य तामाङसहित पाँच खेलाडीले नेपाली क्रिकेट टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्ने २ टोली घोषणा गरेको छ ।

जसमा सूर्य तामाङ, अर्जुन साउद, पवन सरार्फ, अनिल कुमार साह र देव खनालले नेपाली टोलीमा पुनरागमन गरेका छन् ।

देव यू-१९ र अन्य चार खेलाडी प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्दै टोलीमा फर्किएका हुन् । सूर्य तामाङ दुबै टोलीमा परेका छन् ।

बागमती प्रदेशबाट प्रधानमन्त्री कपमा उनले ९ खेलमा ३० विकेट लिँदै प्रतियोगिता सर्वोत्कृष्ट र उत्कृष्ट बलर चुनिएका थिए ।

सूर्य गतवर्ष आईसीसी विश्वकप लिग–२ मा नामिबिया र नेदरल्यान्ड्ससँग सिरिज, एसीसी इमर्जिङ टिम्स एसिया कप र त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङ र युएईविरुद्ध टोलीमा रहे पनि डेब्यू गर्ने अवसर पाएका थिएनन् ।

सन्दीप लामिछाने बलात्कार मुद्धामा दोषी ठहर भएपछि उनको स्थानमा सूर्य परेका हुन् ।

मधेश प्रदेशबाट प्रधानमन्त्री कप क्रिकेट खेल्दै ९ खेलमा ३८६ रन बनाउँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका अनिल शाह पनि टोलीमा फर्किएका छन् ।

अनिल २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध खेलपछि पुनरागमन गरेका हुन् । २०१८ मा नेपालका लागि डेब्यू गरेका अनिलले ४ ओडीआई खेल खेलेका छन् ।

पवन सर्राफ पनि टोलीमा फर्किएका छन् । मधेशबाट प्रधानमन्त्री कप खेल्दै पवनले ३२९ रन बनाउँदै टोलीमा फर्किएका हुन् । उनी क्यानडा र लिग २ दुवै सिरिजको लागि टोलीमा छन् ।

गत जुलाईमा श्रीलंकामा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसियाकप पछि टोलीमा फर्किएका हुन् । पवनले नेपालबाट ८ ओडीआई र १७ टी-२० आई खेल खेलेका छन् ।

यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल पनि इमर्जिङ टिम्स एसिया कपपछि टोलीमा फर्किएका छन् ।

उनले नेपालबाट १० वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध ५८ रन बनाएका देवले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेल्दै आएका छन् ।

उनले नेपालबाट यू-१९ क्रिकेटमा पछिल्लो एक वर्षमा तीन शतक हानेका छन् ।

देव क्यानडासँगको सिरिजको लागि टोलीमा परेका हुन् । लिग २ मा वैकल्पिक सूचिमा छन् ।

त्यस्तै अर्जुन साउद पनि फर्किएका छन् । अर्जुन लिग २ को लागि नेपाली टोलीमा छन् । पुलिसबाट घरेलु क्रिकेट खेल्ने उनले यस पटकको प्रधानमन्त्री कपमा १० खेलमा २६८ रन बनाएका थिए । अर्जुनले किपिङमा राम्रो प्रदर्शन गर्दछन् ।

पछिल्लो समय टोलीमा रहँदै आएका प्रतिश जिसी, श्याम ढकाल र सन्दीप जोरा भने टोलीबाट बाहिरिएका छन् ।

सन्दीप जोरा र श्यामले नेपाल एपीएफ तथा प्रतिशले बागमतीबाट घरेलु क्रिकेट खेलेका थिए ।

क्यानडासँगको सिरिज ८ देखि १२ फेब्रुअरीमा हुनेछ । क्यानडासँग नेपालले फेब्रुअरी ८, १० र १२ मा त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।

लिग–२ मा नेपालले १५ फेब्रुअरीदेखि २४ सम्म नामिबिया र नेदरल्यान्ड्ससँग घरेलु मैदानमै खेल्नेछ ।

क्यानडासँग खेल्ने नेपाली टोली :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह ।

लिग २ खेल्ने नेपाली टोली :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुल्शन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?