+
+

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे फोटो प्रदर्शनी सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १८:०८

२२ माघ, पोखरा । लिच्छविकालमा भिक्षा माग्न आएका गुरु गोरखनाथलाई कान्तिपुरीवासीले भिक्षा नदिएपछि उनलाई झोंक चल्छ । त्यही झोंकमा वर्षा गराउन मद्दत पुर्‍याउने नागलाई आसन बनाएर गोरखनाथ ध्यानमा बस्छन् । हामीले यो किंवदन्ती सुन्दै आएका छौं ।

जसअनुसार झण्डै १२ वर्षसम्म कान्तिपुरी नगरीमा वर्षात हुँदैन र अनिकाल हुन्छ । लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको भनिएको यो घटना तान्त्रिक गुरु वन्धुदत्तले पनि थाहा पाउँछन् ।

गोरखनाथका पनि गुरु रातो मच्छिन्द्रनाथलाई कान्तिपुर नगरीमा ल्याएमात्रै सहकाल अन्त्य हुने भनिएपछि राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त, ललित ज्यापुलगायतले भारतबाट कान्तिपुरमा रातो मच्छिन्द्रलाई ल्याउँछन् । आफ्ना गुरु आएको थाहा पाएपछि गोरखनाथ दर्शनका लागि जाने भन्दै आसनबाट उठ्छन् र नागहरुले मुक्ति पाउँछन् । त्यसपछि वर्षा भएको किंवदन्ती छ ।

रातो मच्छिन्द्रनाथको कान्तिपुर यात्राले वर्षा भएको र अनिकाल अन्त्य भएको भन्दै अहिलेसम्म बर्सेनि रातो मच्छिन्द्रनाथको रथ यात्रा गरिन्छ । रातो मच्छिन्द्रनाथको यो यात्रा भोटे जात्रासँग पनि सम्बन्धित छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भइसकेपछि नागराज कर्कोटकी रानीको आँखा दुख्छ । उनको आँखा एकजना सामान्य किसानले निको बनाएपछि नागराज खुसी भएर बहुमूल्य मणिजडित भोटो किसानलाई उपहार दिन्छन् ।

तर, एकदिन खेतमा काम गरिरहेकाबेला भोटो हराउँछ । खोज्दै जाँदा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ती किसानले आफ्नो हराएको भोटो फेला त पार्छन् । तर, दाबी अर्कैको हुन्छ ।

भोटो विवाद बढ्दै गएपछि प्रमाण पेश गरेर भोटो लैजाने र त्यतिञ्जेलसम्म मच्छिन्द्रनाथको जिम्मा लगाइन्छ् । भनिन्छ, ‘त्यसपछि अहिलेसम्म कसैले पनि त्यो भोटो आफ्नो हो भनेर प्रमाणित गर्न सकेको छैन । किसानको भोटो रातो मच्छिन्द्रनाथसँगै छ ।’

यो काठमाडौं उपत्यकामा मनाइने रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारेको जनश्रुति हो ।

पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले तिनै रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे जानकारीसहितको फोटो प्रर्दशनीमा राखेको छ ।

संग्रहालयले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा ऐतिहासिक फोटो प्रदर्शनीमा राखेको हो । रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे ऐतिहासिक फोटो प्रदर्शनी माघ २८ गतेसम्म चल्नेछ ।

‘हामी अहिले हाम्रो सम्पदाकै कारण गर्व गरिरहने मौका पाएका छौं । हाम्रो पुर्खाले आफ्नो सीप, पसिना र ज्ञानकै कारण यहाँसम्म आइपुगेका छौं’, पाटन दरबार संग्रहालयकी कार्यकारी निर्देशक मञ्जुसिंह थापाले भनिन्, ‘अब रातो मच्छिन्द्रनाथ र भोटोजात्राबारे पोखरेलीले पनि थाहा पाउने हुँदा हामी हर्षित छौं ।’

हनुमान ढोका दरबार संग्रहालय कार्यकारी निर्देशक सन्दीप खनालले अन्तर–संग्रहालय समन्वयमा पर्वतीय संग्रहालयमा राखिएको फोटो प्रदर्शनीले सेतुको काम गरेको बताए । ‘अबको आवश्यकता भनेकै संग्रहालयबीच समन्वय र आदानप्रदान हो । विश्वास छ यसले एकले अर्काको प्रचारप्रसारसँगै संग्रहालय पर्यटनमा सेतुको काम गर्नेछ’, उनले भने ।

संग्रहालयको २१ औं स्थापना दिवसको अवसरमा पोखराको रातोपैह्रामा राखिएको फोटो प्रदर्शनीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिने भएको छ ।

‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले भनिन् ।

प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व युद्धका लागि तयार पारिएका नेपाली सेना, १९९० सालको महाभूकम्प आदि झल्कने २२ तस्वीर पनि राखिएको छ ।

साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९५५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले हिमाली क्षेत्रको रहनसहन, संस्कृति र परम्परा झल्काउन र जीवन्त राख्न म्युजियम महत्वपूर्ण रहेको बताए । उनले फोटो प्रदर्शनीले २ ठूला सहरबीचको सांस्कृतिक सम्पदा आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

ललितपुर महानरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर वरिपरि मनाइने ऐतिहासिक जात्राबारे पोखरामा जानकारीमूलक फोटो प्रदर्शनीले दुवै सहरको प्रचारप्रसारमा सहयोग पुग्ने बताए ।

सांस्कृतिक शहर ललितपुरमा संपदा संरक्षण र पुनर्निर्माणको काम अधिकांश भइसकेको जानकारी दिए । ‘सम्पदाको संरक्षण आजमात्र नभई भोलिका लागि पनि हो । त्यसमा हामी सचेत हुनुपर्छ’, उनले भने ।

सय रोपनी क्षेत्रफलमा फैलिएको विशाल परिसरभित्र साढे ६ रोपनीमा २ तले संग्रहालय बनेको छ । संगग्रहालयको बाहिरी भाग मनास्लु हिमालको प्रतिरुप दिइएको छ । सन् २००२ देखि बनाउन सुरु भएको संग्रहालय २००४ फेब्रअरी ५ मा उद्घाटन भएको थियो ।

संग्रहालयमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा, आरोहण इतिहास, जानकारी तथा गतिविधि बुझाउन तस्वीर तथा सामग्री प्रदर्शनमा राखिएका छन् ।

यसबाहेक संग्रहालयमा विश्वभरका हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतबारे जानकारीमूलक तस्वीर, सामग्री पनि प्रदर्शनमा राखिएका छन् ।

संग्रहालय स्थापना गर्न स्व. डा. हर्क गुरुङ, कुमारखड्ग विक्रम शाह र दावानोर्बु शेर्पाले योगदान दिएका थिए । संग्रहालय परिसरमा उनीहरुको सम्झनामा शालिकसमेत बनाइएको छ ।

दैनिक सरदर साढे ३ सयदेखि ३ हजार जनासम्मले संग्रहालय अवलोकन गर्न आउने संग्रहालय प्रमुख निर्मला न्यौपानेका अनुसार संग्रहालयमा आउने अधिकांश विद्यार्थी हुन्छन् । संग्रहालय संयोजक ठाकुराज पाण्डले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९८ हजार ५३८ जनाले संग्रहालय भ्रमण गरेको र त्यसबाट साढे १ करोड रुपैयाँ आम्दानी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?