+
+

गगनको संवादयात्रा र ‘मिसन पिएम’

राजनीतिप्रति बढेको निराशा चिर्ने प्रयासमा पनि थापाको यात्रा केन्द्रित छ । यात्राले लक्ष्य कति पूरा गर्छ, त्यो अहिले नै भन्नु हतारो हुन्छ । तर, थापालाई सुन्न आतुर भिडको सन्देशचाहिँ नेपाली राजनीतिमा अर्थपूर्ण छ ।

जगन्नाथ दुलाल जगन्नाथ दुलाल
२०८० माघ २३ गते १२:४९

माघको कठ्याङ्ग्रिदो चिसोमा नेपाली कांग्रेसका महामन्त्री एवं लोकप्रिय युवा नेता गगन थापा मेचीदेखि महाकाली ‘जनसंवाद’ यात्रामा छन् । अहिले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा स्थगित भएको संवादयात्रा केही दिनपछि पुनः सुरु हुने छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत झापाको मेचीनगरबाट सुरु भएको संवादयात्राको क्रममा थापाले हुलाकी राजमार्ग क्षेत्रका नागरिकसँग भेटघाट र अन्तर्क्रिया गर्दै आएका छन् । मध्य तराई जोड्ने हुलाकी राजमार्गको दूरावस्था र कांग्रेसको दिशाहीनता अहिले विकास निर्माण र राजनीतिमा पर्याय जस्तै लाग्ने विम्ब बनेका छन् ।  दुवै मुलुकका लागि निर्विकल्प छन् तर समस्याका चाङले थिचिएका छन् । सायद यसैकारणले पनि हुनसक्छ, थापाले आफ्नो अभियानलाई कांग्रेस पार्टीको समुदायमा कांग्रेस अभियानसँगै जोडेका छन् ।

त्यसो त कांग्रेसको राजनीति बुझ्नेहरुका लागि मधेश पार्टीको मेरुदण्ड हो र मधेशी समुदायको सद्भाव पनि कांग्रेसप्रति नै देखिन्छ ।

गगनले कांग्रेसभित्र आफ्नो लोकप्रियताको ग्राफ करिब दुई दशकदेखि ओर्लिन दिएका छैनन् । ०६२/६३ मा नेविसंघ महामन्त्री रहँदै थापाले बनाएको ‘सुन्नैपर्ने नेता’ को छवि मातृ पार्टी कांग्रेसकै महामन्त्री भइसक्दासम्म पनि कायम छ । संवाद यात्रामा देखिएको नागरिकको उपस्थितिले त्यसलाई पुनर्पुष्टि गरेको छ ।

गगनलाई देख्न, सुन्न र सुनाउन इच्छुकहरुको भिडले अब नेतालाई सुन्दैनन् भनेर बनाउन खोजिएको भाष्यलाई गलत सावित गरिदिएको छ । राजनीतिमा लोकरिझ्याइँको चर्चा चुलिएका बेला गगनलाई सुनिनु भनेको कांग्रेस सुनिनु मात्र नभै मुलुकको राजनीतिको मूलधारप्रतिको भरोसा मरेको छैन भन्ने सन्देश पनि हो ।

जनसंवाद : निराशा चिर्ने यात्रा

पार्टीका कार्यकर्ता र जनताका गुनासा-सुझाव सुन्न झापाको छोटी भन्सारबाट सुरु भएको दुई हप्ता लामो संवाद यात्रामा थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्ला पुग्नेछन् ।

जगन्नाथ दुलाल

२१ जिल्लामा जनता र ग्रासरुट तहका पार्टीका कार्यकर्ताका कुरा सुन्ने कार्यक्रम छ । बिहान ७ देखि बेलुका ९ बजेसम्म कार्यक्रम तय गरिएको भए पनि गगनलाई सुन्न र सुनाउन आउनेहरूको भीड बाक्लिंदा बेलुकी ११ बजेसम्म पनि थापा सक्रिय देखिएका छन् । काठमाडौंमा जन्मे हुर्केर यहिँ हुर्केबढेका गगनका लागि यो ठूलो राजनीतिक पुँजी हो । नेतालाई सुनाएर के हुन्छ र ? भन्नेहरूलाई जवाफ पनि हो रातको ११ बजेसम्म पनि थापाको कार्यक्रममा देखिएको जनसहभागिता ।

उनको यात्राको मूल उद्देश्य जनतासँग संवाद गर्ने नै हो । राजनीतिप्रति बढेको निराशा चिर्ने प्रयासमा पनि थापाको यात्रा केन्द्रित छ । यात्राले लक्ष्य कति पूरा गर्छ, त्यो अहिले नै भन्नु हतारो हुन्छ । तर, थापालाई सुन्न आतुर भिडको सन्देशचाहिँ नेपाली राजनीतिमा अर्थपूर्ण छ । थापालाई सुन्नेमात्र नभई उनलाई दिइएका सुझावहरु झनै अर्थपूर्ण छन् ।

केन्द्रमा कांग्रेस गुट-उपगुटको संघर्षमा छ । कार्यकर्ताहरू पनि नेताहरूको छिनाझपटीमा आजित छन् । यस्तो बेलामा महामन्त्री थापाको संवाद यात्रा कालो बादलमा चाँदीको घेराका रूपमा देखापरेको छ । पार्टीलाई माथिबाट (केन्द्रबाट अब गाउँतिर) तल फर्काउने अभियान भनेका छन् थापाले । वास्तवमा लोकतन्त्र भनेको त्यही हो । भुइँ तहका कुरा सुन्ने, आफूलाई सच्याउने र अघि बढ्ने । पार्टीलाई प्राण दिने कार्यकर्ता नै हुन्, जनता नै हुन् ।

तर, कांग्रेस एउटा भ्रमबाट आजित भएको धेरै भइसक्यो- गठबन्धन गरी सत्तामा पुग्ने । यो बाटोले कांग्रेसलाई सत्तामा पुर्‍याए पनि पार्टी जीवन भने कमजोर बनेको छ । यसको अनुभूति ‘अभि नहि त कभी नहि’ भनेर सत्ताका लागि बल्छी हानिरहेका कति नेतालाई होला ? कांग्रेसभित्रै छलफल होस् । तर, आउँदो चुनाव कांग्रेस आˆनै बलमा लड्छ, गठबन्धन गर्दैन भन्ने सार्वजनिक उद्घोष गरेका महामन्त्री थापालाई भने पक्कै छ ।

संवाद यात्रा तत्काल केही प्राप्त गरिहाल्ने भन्दा त्यसका लागि कार्यकर्ता र नागरिकको मनोविज्ञान जाँच्ने एउटा प्रयास पनि हो । मधेशका जिल्लाहरूमा थापाले तय गरेको मार्गमा देखिएको जनविश्वासले पक्कै थापालाई थप ऊर्जा र आत्मविश्वास हासिल भएको छ ।

अहिले नागरिकमा राजनीति, राजनीतिक पार्टी र नेताप्रति चरम निराशा छ । यसमा थापाको स्वीकारोक्ति छ । निराशा चिर्न त्यसैले सक्छ, जोसँग नागरिकको आशा छ । यो मानेमा थापा कांग्रेसभित्र उपयुक्त पात्र हुन् । थापाको प्रयास सार्थक हुँदा उनको यात्रा मात्र सफल हुँदैन, समग्रमा नेपालको राजनीतिले त्राण पाउनेछ । जनतासँग टुटेको राजनीतिक दलहरूको संवाद र विश्वासले नयाँ सेतु प्राप्त गर्नेछ । गगनको यात्राले नेपाली राजनीतिमा जनतालाई सुन्ने परम्पराको थालनी हुनेछ ।

त्यसैले यो अभियान हुलाकी राजमार्गमा मात्र सीमित हुनुहुँदैन, पूर्व-पश्चिम महेन्द्र राजमार्ग, मध्यपहाडी लोकमार्गदेखि विकट बस्तीहरूसम्म पुग्नु आवश्यक छ । अहिले संवाद यात्रा २१ जिल्ला पुग्दैछ, यो ७७ जिल्ला पुग्नुपर्छ । देशकै पुरानो पार्टीको सांगठनिक नेतृत्व बोकेको नयाँ पुस्ताको नेताले जनता ब्युँझाउँदा त्यसले अन्ततः मुलुककै समुन्नतिमा नयाँ इँटा थप्नेछ ।

कांग्रेसमा आशा

गगन थापा, पार्टीगत रूपमा कांग्रेसका नेता हुन् । तर, थापालाई अरू पार्टीका नेता कार्यकर्ताले समेत आशाको नजरले हेर्छन् । स्वास्थ्यमन्त्री हुँदा थापाले बोल्न मात्र होइन, अवसर आउँदा काम गर्न पनि सक्छन् भन्ने प्रमाणित गरिसकेका छन् । नेपाली राजनीतिमा ‘टेस्टेड एण्ड फेल’ हरूको जगजगी रहँदा थापा ‘टेस्टेड एण्ड पास’ नेताका रूपमा हेरिन्छन् । अवसर पाए थापाले गर्छन् भन्ने विश्वासकै कारण थापासँग नागरिकको भरोसा छ । अहिले संवाद यात्रामा पनि थापासँग संवादमा सबै जोडिएका छन् । यो संवाद यात्राको सबैभन्दा सुन्दर पक्ष हो ।

जब राष्ट्रिय राजनीति र पार्टीमा संकट सिर्जना हुन्थ्यो, कांग्रेस संस्थापक बीपी कोइराला पनि जनतासँग संवाद गर्नुहुन्थ्यो । तल्लो तहबाट प्राप्त सल्लाह, सुझाव, आलोचना ग्रहण गरेरै बीपी आफूलाई परिष्कृत गर्नुहुन्थ्यो, शक्ति प्राप्त गर्नुहुन्थ्यो । बीपी कोइरालाले भन्नुहुन्थ्यो- ‘देशको बारेमा द्विविधा भएमा निर्णय लिनुपर्दा मातृभूमिको माटो एउटा हातमा समात्नुस्, अर्को हात छातीमा राख्नुस्, एकाग्र भएर सोच्नुस् अनि मनमा जे आउँछ त्यही निर्णय गर्नुहोस् ।’ कोइरालाको यो भनाइको सार जमिनलाई सुन भन्ने पनि हो । थापाले संवादयात्राबाट त्यही पदचाप पछ्याउन खोजेका छन् ।

‘समुदायमा कांग्रेस अभियान’का क्रममा सप्तरीको भेला ।

इतिहास बोकेका, देशमा योगदान गरेका दलहरू अब काम छैन भनिएका बेला थापाले एउटा हिम्मत गरेका छन् । जनतालाई निराश नहुन अपील मात्र गरिरहेका छैनन्, नयाँ आशा जगाउन प्रयास पनि गरिरहेका छन् । दल र नेताप्रति नागरिकमा रहेको आक्रोश, असन्तुष्टि र निराशा चिर्ने भन्दा दलहरू संवादबाट भागिरहे । जसकारण नागरिकले वैकल्पिक दलतिर नजर लगाए । यो कटु सत्य हो । यसलाई चिर्न पनि दलभित्रबाट नागरिकसँग टुटेको संवादमा जुट्ने साहस स्वागतयोग्य छ ।

पार्टीभित्र बढिरहेको डनवाद र धनवादले कांग्रेसका इमानदार कार्यकर्ता अहिले निराश छन् । उनीहरूमा उत्साह भर्न पनि थापाको संवाद यात्राले सक्नुपर्छ । नागरिकमा सकारात्मक सन्देशसँगै नयाँ आशा जगाउन सक्नुपर्छ । जनजीविकासँग जोडिएका विषयहरूमा थापाले आˆनो प्रष्ट दृष्टिकोण राखिरहेका छन् । जसलाई नागरिकले ध्यानपूर्वक सुनेको देखिन्छ । यो अत्यन्त सकारात्मक विषय हो ।

थापाको सक्रियता लोभलाग्दो देखिन्छ । प्राज्ञिक र बौद्धिक वर्गले पनि थापाको संवाद यात्रालाई चासोका साथ हेरेको छ । कार्यक्रमको प्रारम्भकै दिन अर्का महामन्त्री विश्वप्रकाश शर्माको ढाडस र अर्का आशा गरिएका नेता प्रदीप पौडेलले जसरी उत्साह भर्ने काम गरेका छन्, यसले कांग्रेसको नयाँ पुस्ता पुरानो पुस्ताको गल्ती दोहोर्‍याउन तयार छैनन् भन्ने देखाउँछ । भाषण होइन यात्राको नाम जस्तै पार्टीका कार्यकर्ता, शुभेच्छुक र नागरिकसँग संवाद गर्दै उनीहरूको सुझाव सुन्न थापालाई उनीहरूको सुझाव पनि छ । थापाको यात्राले दलप्रतिको गुनासो, आलोचना र वितृष्णालाई सकारात्मक रूपान्तरण गर्नेमा बौद्धिक तह आशावादी छ । थापाले कार्यकर्ता, जनतासँगै उनलाई नजिकबाट हेरिरहेका प्राज्ञिक बौद्धिकहरूलाई पनि सुनेर अघि बढुन् ।

भिजन र मिसनमा प्रष्ट

समकालीन नेताहरूमा गगन आफ्नो लक्ष्यमा प्रष्ट नेता हुन् । परिवर्तित सन्दर्भमा कांग्रेसले अनुसरण गर्नुपर्ने सिद्धान्त, विचार र नीतिबारे गत साउनको केन्द्रीय समितिको बैठकमा ४१ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेर कांग्रेसलाई सामाजिक लोकतन्त्रको बाटोमा हिँडाउन खोजेका छन् उनले ।

सामाजिक लोकतन्त्रको कोरा गफ मात्र होइन थापाले स्पष्ट दृष्टिकोणसहितको अवधारणा अघि सारेका छन् । ‘समुन्नत नेपाल अब हाम्रो पार्टीको कार्यसूची हो, राष्ट्रिय संकल्प हो । समुन्नत नेपालको परिकल्पना साकार पार्नका लागि सामाजिक लोकतन्त्र हाम्रो सिद्धान्त हो,’ थापाको अवधारणा प्रष्ट छ ।

महासमिति बैठक अगाडि जनसंवाद यात्राबाट प्राप्त सुझावले थापालाई महासमिति बैठकमा आफ्नो दस्तावेज निर्माणमा पक्कै आवश्यक सल्लाह मिल्नेछ । परिष्कृत आफ्नो धारणा सहित थापाले आफ्नो अवधारणा महासमिति बैठकमा लैजान सक्दा यात्राको सान्दर्भिकता थप बढ्नेछ ।

पार्टीको अबको बाटो मात्र होइन भावी प्रधानमन्त्रीका रुपमा देश कसरी चलाउने भन्ने तयारीमा पनि छन् थापा । त्यसका लागि उनले ‘मिसन पिएम’को तयारी पनि सँगसँगै गर्दैछन् । नेता कुहिरोको काग होइन, ऊ त दूरद्रष्टा हो । त्यही योजनासहित हिँड्ने प्रष्ट अवधारणा बोकेको चतुर नेताको रुपमा देखिन्छन् गगन । त्यसैले गगनको यो संवादयात्रा मिसन पिएमको एउटा कडी हो भनेर बुझ्न गाह्रो छैन ।

गगन-विश्व केमेस्ट्री

कांग्रेसको १४औं महाधिवेशनले महामन्त्रीमा गगन-विश्वलाई निर्वाचित गर्‍यो । त्यसपछि धेरैलाई लागेको थियो, अब दुई नेताबीच लडाइँ सुरु हुन्छ । तर, सनातनी नेताभन्दा उनीहरू भिन्न देखिएका छन् । सहकार्यको संस्कृतिमा उनीहरू अभ्यस्त हुँदैछन् । संसदीय दलको नेताका रूपमा गगनलाई विश्वप्रकाशले बलियो साथ दिए ।

अर्का लोकप्रिय नेता प्रदीप पौडेल पनि गगन-विश्वकै साथमा उभिए । संसदीय दलको चुनावमा आफ्नो ‘कम्फर्ट जोन’ छोड्ने प्रदीप पौडेलको निर्णय सामान्य होइन । व्यक्तिगत लाभ-हानि हेर्ने हो भने प्रदीपले उठाएको जोखिम कांग्रेसभित्र सामान्य होइन ।

संवाद यात्रामा देखिएको द्वय महामन्त्री, नेता प्रदीप पौडेल र अरू युवा नेताहरूको सहकार्य सकारात्मक छ । कांग्रेसको अबको भविष्य गगन-विश्व-प्रदीपकै पुस्ता हो । पूर्वबाट उदाएका अर्का नेता गुरुराज घिमिरे हुन् वा विकट बाजुराबाट उदाएका बद्री पाण्डे । कांग्रेसभित्र आशा गरिएका नेताहरू निराशा चिर्ने अभियानमा सक्रिय छन् । यो पुस्ता सफल हुँदा मात्रै कांग्रेस सफल हुनेछ ।

(दुलाल पत्रकार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?