+
+

द्वन्द्वकालमा जफत सम्पत्ति फिर्ता गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १२:५५

२३ माघ, दाङ । नेपाली कांग्रेसले द्वन्द्वकालमा जफत सम्पत्ति फिर्ता गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियानमा खटिएको टोलीले आज बिहान लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा द्वन्द्वकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको र बैंकबाट लुटिएका सुन बाफत क्षतिपूर्ति पनि प्राप्त नभएकाले तत्काल ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाउँदै समुदायमा कांग्रेस अभियानको क्रममा जनताबाट प्राप्त सुझाव र गुनासाहरु ज्ञापन पत्रमा समावेश गरिएको भन्दै तिनलाई सम्बोधन गर्न माग गरिन् ।

मुख्यमन्त्री चौधरीले प्रदेश तहबाट गरिने सम्बोधनलाई प्राथमिकतामा राख्ने र संघीय सरकारबाट गर्नुपर्ने निर्णयका लागि केन्द्रमा सिफारिस गर्ने बताए ।

ज्ञापन पत्र बुझाउन संग्रौलाको नेतृत्वमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ, महामन्त्री विक्रम खनाल, सहमहामन्त्री विष्णु खनाल र सहमहामन्त्री निमा गिरी गएका थिए ।

ज्ञापन पत्रमा बाटोघाटो, सिंचाइ, खानेपानी, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको व्यवस्था गर्न समेत माग गरिएको छ ।

पूर्वी रुकुममा भरपर्दो इन्टरनेटको व्यवस्था, रोजगारमुलक तालिम र अर्घाखाँचीको चिस्यान केन्द्रमा राखिएको झण्डै १ करोड रुपैयाँ बराबरको सुन्तला कुहिएकाले मर्कामा परेका किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था लगायतका माग पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?