+
+

१२ वैशाख २०७२ को भूकम्पलाई सम्झिने कि बिर्सने ?

अब ठूलो भूकम्प आउने छैन भन्ने विश्वास त पक्कै पनि होइन होला ! ‘के गर्ने, यस्तै चल्दै जान्छ’ भन्ने हाम्रो नानीदेखि लागेको बानी हावी हुन थालेको हो कि ?

कञ्चनमणि दीक्षित कञ्चनमणि दीक्षित
२०८१ वैशाख १२ गते १९:४०

गत हप्ता दुबईको बाढीको ताण्डव देख्दा प्रकृतिको सामु मानिसको केही नलाग्दो रहेछ भन्ने लाग्यो । इरादा त पानी पार्ने नै थियो तर प्रकृतिले कसरी प्रतिक्रिया दिंदो रहेछ भन्ने उदाहरण नै देखियो ।

हामीले नेपालको विभिन्न भू–भागमा हरेक वर्ष आएका बाढी र पहिरोले गरेको क्षति देखि–भोगिरहेकै छौं । तर त्यो कहालीलाग्दो २०७२ वैशाख १२ गतेको भूकम्प क्षति र त्रासदीका हिसाबले बिर्सन नसकिने बन्यो ।

९ वर्षअघि आजकै दिन मध्याह्नमा गोरखालाई केन्द्रविन्दु बनाइआएको ७.९ रेक्टर स्केलको भूकम्पमा झण्डै ९ हजार मानिसले ज्यान गुमाए भने करिब २२ हजार मानिस घाइते भए । ६ लाख घर पूर्णरूपमा ध्वस्त भए भने करिब ३ लाख घरमा केही न केही क्षति पुग्यो ।

वैज्ञानिकहरूका अनुसार नेपालको हिमालयमुनि अझै पनि ठूलो मात्रामा ऊर्जा जम्मा भएर रहेको छ । २०७२ को भूकम्पमा केही मात्रामा सो ऊर्जा निस्कन सफल भएको थियो । निकट भविष्यमा अर्को ठूलो भूकम्प जाने निश्चित छ ।

अन्य विपत्ति झैं २०७२ को भूकम्पको समयमा हामीले केही पाठ सिकेका छौं । त्यसमध्ये प्रमुख हो, अत्यन्त होसियार भएर बस्नुपर्छ । विपद्को समय एकअर्काको मद्दत गर्नुपर्छ ।

दैनिक चाहिने खाद्यान्न र इन्धनको जगेडा राख्नुपर्छ । एउटा झोलामा केही सुख्खा खानेकुरा र महत्वपूर्ण कागजात राख्नुपर्छ । नुहाउन र शौचालयको समयमा कमी ल्याउनुपर्छ ।

समय बितेर जाँदा हाम्रा यीे व्यवहार हराएको छ । अब हामी यी कुरा गर्न छोडेका छौं । अब ठूलो भूकम्प आउने छैन भन्ने विश्वास त पक्कै पनि होइन होला ! ‘के गर्ने, यस्तै चल्दै जान्छ’ भन्ने हाम्रो नानीदेखि लागेको बानी हावी हुन थालेको हो कि ?

भूकम्पको व्यवस्थापनमा नभई नहुने कुरामा भूकम्पको तयारी (ड्रिल), वैकल्पिक निकास, खाद्यान्न र पानीको जगेडा, खुल्ला ठाउँको व्यवस्था आदि हुन् । केही निजी कलेज र विद्यालयले आफ्नो हाताभित्र वैकल्पिक भ¥याङ र निकासको व्यवस्था गरी सम्भावित भूकम्पको तयारी सुरु गरेका छन् ।

साथै साइरनको व्यवस्था गरी विद्यार्थीलाई तालिम र समय–समयमा ड्रिल गर्ने गरेका छन् । सामुदायिक विद्यालयमा र सरकारी कलेजमा पनि यस्ता कार्य हुन अत्यन्त जरूरी भइसकेको छ ।

आर्थिक र मानवीय स्रोत कम भएका विद्यालयलाई विपद् व्यवस्थापनमा लागेका संघ–संस्थाले सघाउनुपर्ने हुन्छ र यसका लागि दुवै पक्षले सहकार्यको बाटो रोज्नुपर्छ ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय संघ–संस्थाहरूको सहयोगमा काठमाडौं र ललितपुरका केही वडाले विपद्को समयमा प्रयोग गर्न आफ्नो वरपरमा खुल्ला ठाउँ पहिचान गरेका थिए । यस्तो कार्य सबै पालिकामा हुनुपर्ने र यस्ता ठाउँ व्यवस्थित हुन जरूरी छ । किनकि पहिचान गरिएका खुल्ला ठाउँ अब नरहन पनि सक्छन् ।

केही समय अगाडि रहेका खुल्ला ठाउँमा ठूला–ठूला घरहरू र सपिङ्ग कम्प्लेक्सहरू बन्न थालेका छन् । यस अर्थमा हामीले अगाडिका विपद्बाट पाठ सिक्न बिर्सेका छौं । जब हामीलाई थाहा छ कि हामी भूकम्प जाने क्षेत्रमा बसेका छौं, हामी नै जोखिम बढाउने काममा लागेका छौं ।

२०८१ दुबईको र २०७२ नेपालको विपत्तिको स्वरुप उस्तै छ– प्रकोप । फरक यति नै छ कि दुबईमा यस्ता विपत्तिसँग जुध्न सक्ने क्षमता छ र मृत्यु पनि ज्यादै कम छ । यद्यपि त्यहाँको जीवन अस्तव्यस्त र क्षति पनि निकै भयो ।

हाम्रो देशको विपद् व्यवस्थापन ज्यादै फितलो छ । यसको उदाहरण हामीले हरेक वर्ष देख्ने गरेका छौं । अब आउने भूकम्प सानो वा ठूलो होला अथवा लामो समयसम्म नआउला, कसैले पनि भन्न सक्दैन ।

सोच्नुपर्ने बाध्यता भएको छ, सबैले आ–आफ्नो तवरबाट तयारी सुरु गर्नुपर्ने हुन्छ । धेरैले भन्छन्, २०७२ को भूकम्प बारे नसोचौं, अहिले पनि डर लाग्छ । त्यो डर आउन नदिऔं ।

‘बारम्बार २०७२ भूकम्पको याद गरौं, त्यसका बारे छलफल गरौं र सुरक्षित रहन सिक्दै जाउँ ताकि साँँच्चिकै भूकम्प आउँदा अभ्यास स्वस्फूर्त रूपमा सार्थक होस् । नभुलौं, अब आउने भूकम्प शनिबार दिउँसो नआउन पनि सक्छ र पहिलेको भन्दा ठूलो क्षति गर्न पनि सक्छ ।

वातावरण, जलवायु परिवर्तन लगायत विषयमा अनुसन्धानरत लेखक आइसेट नेपालका कार्यकारी निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?