+
+

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको हानथाप

झन्डै एक वर्षसम्म नेतृत्वविहीन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा उपकुलपतिको दरखास्त खुलेको थियो । तर नेताहरू आफ्नालाई उपकुलपति बनाउन खोजिरहेका कारण अहिलेको गतिरोध अझै लम्बिन सक्छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० माघ २३ गते १८:४६

२३ माघ, जनकपुरधाम । जनशक्ति अभावका कारण प्रादेशिक अस्पताल जनकपुरले न्यूरो र क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्याको उपचार सेवा दिनसकेको छैन ।

मुटु उपचारका लागि केही दिनअघि जेनतेन क्याथ ल्याब सञ्चालन गरिएको तर जनशक्ति नहुँदा निरन्तरतामा प्रश्न छ । अस्पतालले न्यूरो, क्यान्सर र मुटुका गम्भीर बिरामीलाई अन्यत्र रेफर गर्दै आइरहेको छ ।

दुई वर्षअघि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधीनमा आएको प्रादेशिक अस्पताल मधेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल हो ।

अस्पतालले कन्सल्ट्यान्ट चिकित्सक, चिकित्सक, मेडिकल ल्याब टेक्निसियन, स्टाफ नर्स, कम्प्युटर इन्जिनियर, कानुन अधिकृत लगायत विभिन्न पदमा ३०–३५ गरी ६५ जना कर्मचारीका लागि १० असोजमा सूचना प्रकाशित गरेको थियो । त्यसअघि २०७९ साउनमा पनि ५० जना कर्मचारी भर्ना गर्न विज्ञापन गरेको थियो । १० महिनादेखि उपकुलपति नहुँदा अस्पतालले गरेको विज्ञापन अनुसार कर्मचारी छनोट हुनसकेको छैन ।

२५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको थियो । कलेजोको क्यान्सरबाट पीडित डा. साहको निधन भएको १० महिना बित्न लाग्दा समेत मधेश सरकारले उपकुलपति नियुक्त गर्न सकेको छैन ।

जसकारण जनशक्ति भर्नादेखि अन्य कामकारबाही गर्न नसकेर प्रादेशिक अस्पताल सञ्चालनदेखि प्रतिष्ठान अन्तर्गत भइरहेको चिकित्सा शिक्षाका विभिन्न विषयको शिक्षण पनि प्रभावित भएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति डा. अंकुरप्रसाद साह बताउँछन् ।

प्रतिष्ठानले कर्मचारी भर्ना लिने तयारी गर्दा करिब तीन महिनाअघि मुख्यमन्त्री कार्यालयले रोकेको थियो । उपकुलपति रिक्त हुँदा दीर्घकालीन असर पर्ने कुनै निर्णय नलिन मुख्यमन्त्री कार्यालयले पत्राचार गर्दा कर्मचारी भर्नादेखि विभिन्न कामहरू प्रभावित भइरहेको प्रादेशिक अस्पतालका निर्देशक डा. पण्डितको भनाइ छ ।

‘तीन पटकको विज्ञापनमा ११३ जना कर्मचारी भर्ना गर्न आवश्यक छ । हामी प्रक्रिया अघि बढाउँदा मुख्यमन्त्री कार्यालयले पत्र पठाएर रोकायो । अहिलेसम्म उपकुलपति नियुक्त छैन । कामकाज प्रभावित हुँदै आएको छ’, उनी भन्छन् ।

तर, उपकुलपतिकै कारणले कुनै काम रोकिन सक्ने अवस्था नरहेको सहकुलपति समेत रहेको मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहको तर्क छ ।

‘उपकुलपतिको कारणले प्रतिष्ठानको कुनै काम रोकिने अवस्था छैन । निमित्त उपकुलपति शिक्षाध्यक्षसमेत रहेका डा. अंकुर साहलाई बनाएकै छौं । रजिष्ट्रार र निर्देशक छँदैछ’ उनले भने ‘कर्मचारी भर्ना गर्ने काम दीर्घकालीन भएन नि ! नीतिगत कुनै निर्णय हुनुभएन । भ्याकेन्सी निकालेर दैनिक क्रियाकलाप गर्न सकिन्छ ।’

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आह्वान गरेको थियो । जसमा १५ कात्तिकसम्म ९ जनाको दरखास्त परेको छ । १५ र २१ कात्तिकमा उम्मेदवारको संशोधित नामावली प्रकाशन गरेको थियो ।

डा. रमेशप्रसाद सिंह (सर्लाही), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. पशुपति चौधरी (सुनसरी), डा. राजेन्द्रप्रसाद साह (पर्सा), डा. गौरीशंकर साह (सुनसरी), डा. विद्यानाथ यादव (सप्तरी), डा. रोहितप्रसाद यादव (रौतहट), डा. अंकुरप्रसाद साह (धनुषा) र डा. सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका छन् ।

उपकुलपति नियुक्तिका लागि तीन महिनाअघि मन्त्रालयको स्वास्थ्य समितिले परीक्षा लिए पनि अहिलेसम्म उपकुलपछि छान्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले समितिका सदस्यहरू विभिन्न कारणले जम्मा हुन नसक्दा उपकुलपति नियुक्तिमा ढिलाइ भइरहेको स्वीकारे । यद्यपि कहिलेसम्म नियुक्ति भइसक्छ भन्नेमा उनी आफैं अन्योलमा छन् ।

‘विभिन्न कारणबाट सबै जना जम्मा हुन नसक्दा हुन सकेनौं । यो विषयमा मन्त्रीले बुझ्नुहुन्छ । विलम्ब भइरहेको छ’ सचिव यादवले भने ‘कहिले नियुक्त हुन्छ भन्ने कुुरा अहिले भन्न सकिंदैन ।’

यता स्वास्थ्य मन्त्री सिंहले स्वयम् पनि कहिले उपकुलपति नियुक्त हुन्छ भन्नेमा ढुक्क छैनन् । ‘उपकुलपति नियुक्ति अहिले प्रक्रियामै छ । उचित दिनमा, उचित व्यक्ति नियुक्त गरेर सार्वजनिक गर्छौं’, मन्त्री सिंह भन्छन् ।

छनोट गर्ने स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्री, मन्त्रालयका सचिव, जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका प्रमुख, नीति आयोगका उपाध्यक्ष र एकजना विशेषज्ञ छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार आ–आफ्नो मान्छे उपकुलपति नियुक्त हुनुपर्छ भन्ने स्वार्थको कारण ढिलाइ भएको हो ।

उपकुलपतिको दौडमा दरखास्त दिएका ९ जनामध्ये तीन जना प्रबल सम्भावित उम्मेदवार छन् । तीन जनामा सरकारको नजिकका दुई र प्रतिष्ठानका अनुभवी तथा निमित उपकुलपति छन् ।

मन्त्रालय स्रोतका अनुसार दरखास्त दिएका डा. विद्यानाथ यादव (सप्तरी) जसपा अध्यक्ष उपेन्द्र यादवका सम्धी हुन् । डा. रमेशप्रसाद सिंह (सर्लाही) स्वास्थ्य मन्त्री सिंहका जिल्लावासीसँगै निकटस्थ हुन् भने डा. अंकुर साह प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका उनी निमित्त उपकुलपति पनि छन् ।

‘जसपा नेतृत्वकै सरकार रहेकाले प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादव जसपा अध्यक्ष उपेन्द्रका सम्धी विद्यानाथलाई उपकुलपति बनाउन चाहन्छन्’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘स्वास्थ्य मन्त्री आफ्ना निकटस्थ डा. रमेशलाई बनाउने पक्षमा छन् ।’

अर्को कुरा निमित्त उपकुलपति रहेका प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साह अनुभवी रहेको र उसले गर्दा प्रतिष्ठान सञ्चालनमा सहजता हुने हुनाले उनैलाई बनाउनुपर्ने प्रतिष्ठान तथा मन्त्रालयभित्र दबाब रहेको एक अधिकारीले बताए । स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा छ ।

यता स्वास्थ्य मन्त्री सिंहले टाढा–टाढाको नातागोतामा आफ्ना कोही उम्मेदवार उपकुलपतिको उम्मेदवार नरहेको दावी गरे । उपकुलपति कुनै पनि भागबन्डामा नहुने जिकिर उनको छ ।

‘भिसी नियुक्ति भागबन्डामा कुनै पनि हालतमा म हुनदिन्नँ । जो उम्मेदवार योग्य छन्, उनको नाम म सिफारिस गर्छु । भागबन्डाकै आधारमा म सिफारिस गर्दिनँ’ मन्त्री सिंहले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?