+
+

विलियम्सन र रचिनको सानदार ब्याटिङमा दक्षिण अफ्रिकामाथि न्युजिल्यान्डको फराकिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १४:३४

२४ माघ, काठमाडौं । रचिन रविन्द्रको दोहोरो शतक र केन विलियम्सनको दुई शतकमा घरेलु टोली न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा दक्षिण अफ्रिकामाथि २८१ रनको फराकिलो जित हात पारेको छ ।

जितको लागि ५२९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २४७ रनमा अल आउट भयो ।

दोस्रो रोजाइको टोली खेलाएको दक्षिण अफ्रिकाका डेविड बेडिंघमले ९६ बलमा १३ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन बनाए ।

रुआन डी स्वारड्ट ३४, जुबायार हाम्जा ३६ र रायनर्ड भान टन्डेर ३१ रनमा आउट भए । यस सिरिजमा पहिलो रोजाइका कुनै पनि खेलाडी छैनन् । यस टेस्ट खेलमा दक्षिण अफ्रिकाका ६ खेलाडीले डेब्यू गरेका थिए ।

न्युजिल्यान्डका कायल जेमिसनले सर्वाधिक ४ र मिचेल सान्टनारले ३ विकेट लिए । टिम साउथी, म्याट हेनरी र ग्लेन फिलिप्सले १–१ विकेट लिए ।

त्यसअघि न्युजिल्यान्डले दोस्रो इनिङमा १७९–४ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । तर पहिलो इनिङमा ३४९ रनको अग्रता लिदा विशाल लक्ष्य दिएको थियो ।

न्युजिल्यान्डका केन विलियम्सनले १३२ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १०९ रन बनाएका थिए । दक्षिण अफ्रिका पहिलो इनिङमा १६२ रनमा अल आउट हुँदै ३४९ रनले पछि परेको थियो ।

दक्षिण अफ्रिकाका केगन पिटरसनले सर्वाधिक ४५ रन बनाएका थिए ।

न्युजिल्यान्डका मिचेल सान्टनार र म्याट हेनरीले ३–३ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ५११ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका रचिन रविन्द्रले ३६६ बलमा २६ चौका र ३ छक्कासहित सर्वाधिक २४० रनको दोहोरो शतकीय इनिङ खेले । उनको करिअरको पहिलो दोहोरो शतक हो ।

केन विलियम्सनले २८९ बलमा १६ चौकासहित ११८ रनमा आउट भए । विलियम्सनले यस खेलमा टेस्ट करिअरको ३० औं र ३१ औं शतक हानेका हुन् ।

खेलको प्लेयर अफ द म्याच दोहोरो शतक हानेका रचिन रविन्द्र भए । दक्षिण अफ्रिका कप्तान निल ब्रान्डले सर्वाधिक ६ विकेट लिए । दुई खेलको सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट मंगलबार हमिल्टनमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?