+
+

म डट बलका लागि खेल्छु, विकेट आइरहेको छ : रोहित पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते २०:२१

२७ माघ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले खेलमा आफ्नो व्यक्तिगत सफलतामा कहिले पनि ध्यान नदिएको बताएका छन् ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दुई खेल नेपालले जितिसकेको छ र दुबै खेलमा कप्तान रोहित प्लेयर अफ दि म्याच बनेका छन् ।

बिहीबार सिरिजको पहिलो खेलमा रोहितले ४ विकेट लिएका थिए भने शनिबार दोस्रो एक दिवसीय खेलमा उनले दुई विकेट लिनुका साथै ८७ रन जोडे ।

शनिबारको खेलमा रोहित र देव खनालले तेस्रो विकेटका लागि १५० रनको साझेदारी गरेका थिए । देवले ७६ रनमा आउट भएका थिए ।

रोहितले आफूहरु अर्धशतक वा शतक बनाउने उद्देश्यले नखेलेको बताए । ‘मैले देवलाई पनि भनिरहेको थिएँ । जसरी हुन्छ २८६ कसरी पुर्‍याउने हो । शतक अर्धशतक भन्ने त खेलमा भइरहन्छ ।”

नेपाली टिममा अहिले दीपेन्द्र सिंह ऐरी नभएका कारण उनको सट्टा बलिङको जिम्मा पनि रोहितले नै लिएका छन् । आफूले हालै भएको प्रधानमन्त्री कप क्रिकेटमा बलिङ गरेको अनुभवका आधारमा राष्ट्रिय टिमबाट बलिङ गर्दा राम्रो नतिजा आइरहेको बताए ।

बलिङ गर्दा आफ्नो उद्देश्य विकेट लिने भन्दा पनि रन बन्न नदिनु रहेको रोहित बताउँछन् ।

‘मैले डट बलका लागि प्रयास गरिरहेको हुन्छु । ब्याटरले मलाई हान्न खोज्छ, त्यो गर्दा मैले जहाँ फाल्दा पनि विकेट पाइरहेको छु । मेरो लागि बलिङ फेभर गरिरहेको छ’ उनले भने ।

नेपालले सिरिजको पहिलो खेलमा पहिले ब्याटिङ गर्दा २२५ रनको लक्ष्य दिएको थियो र त्यसलाई मुश्किलले रोकेर खेल जितेको थियो । शनिबार पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको थियो । रोहित भने आफूहरुले अघिल्लो खेलमा बनाएको भन्दा बढी रनको लक्ष्य दिए पनि जित्नेमा विश्वस्त रहेको बताउँछन् ।

शनिबारको खेलमा लामो समयपछि राष्ट्रिय टिममा फर्किएका अनिलकुमार साहले आक्रामक ब्याटिङ गरेर २० बलमा अर्धशतक पूरा गरे ।

५० रन पूरा गरेलगत्तै अनिल आउट भए पनि त्यसपछि ब्याटिङ गर्न आएको आफूहरुलाई सजिलो भएको रोहित बताउँछन् । ‘उहाँले राम्रो सुरुवात दिँदा हामीले केही स्लो सुरुवात पाए पनि समय लिएर खेल्न पायौं’ उनले भने ।

क्यानडासँगको सिरिजले नेपाललाई लिग टु को तयारीका लागि धेरै सजिलो हुने उनले बताए । ‘हामीले क्यानडालाई जस्तो सोचेका थियौं । त्यो भन्दा ब्याटिङ बलिङ दुवैमा राम्रो पायौं । त्यसले गर्दा हामीलाई आइसीसी विश्वकप लिग २ को लागि निकै सहज हुनेछ’ रोहितले भने ।

हाल केही नयाँ खेलाडीसहित टिम घोषणा गरेको नेपाली टिमलाई यो सिरिज खेलाडी परीक्षणको राम्रो मौका भएको छ । यू–१९ टिमबाट आएका अब एक खेलाडी हेमन्त धामीले मात्रै राष्ट्रिय टिममा डेब्यु लिन बाँकी छ । ‘आशा छ, अर्को खेलमा हेमन्तले पनि टिममा डेब्यू गर्छन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?