+
+

त्रिविमा अर्को लफडा : ‘प्रा.डा. पोखरेल माथि भ्रष्टाचारको आरोप’

पोखरेल भन्छन्, ‘यो शैक्षिक माफियाको हल्ला हो’

नुनुता राई नुनुता राई
२०८० माघ २८ गते २०:४०

२८ माघ, काठमाडौं । शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा.कविप्रसाद पोखरेलले विभागमा बदमासी गरेको आरोप लागेको छ ।

पोखरेलले विद्यार्थीको प्राप्ताङ्कमा अनियमितता गरेको, विभागीय प्रमुख लेखिएको स्थानमा परीक्षा शाखा प्रमुखको हस्ताक्षर सहितको प्रमाणपत्र वितरण गरेको, अनलाइन कक्षा सञ्चालन रोकेको, अनलाइन कक्षा लिएका शिक्षकहरूको पारिश्रमिक नदिएको लगायत आरोप लागेको हो ।

राजनीति शिक्षाशास्त्र विभागका सह–प्राध्यापक तथा पूर्व विभागीय प्रमुख समेत रहेका केशव पौडेलले पोखरेलले बदमासी गरेको भनेर त्यसका प्रमाणहरू सामाजिक सञ्जालमा राख्दै आइरहेका छन् ।

भूगोल शिक्षा विभागका प्राध्यापक समेत रहेका शिक्षाशास्त्र संकायका केन्द्रीय विभाग प्रमुख प्रा.डा.कविप्रसाद पोखरेलले शैक्षिक वर्ष २०७९/८० का पहिलो सेमेस्टरका पाँच जना विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नम्बर डीन कार्यालयमा पठाएका छन् ।

तर, ती पाँच जनामध्ये कुनै पनि विद्यार्थीले कक्षा नपढेको पौडेलको जिकिर छ । विभाग प्रमुखले आन्तरिक अंक दिएका ती पाँचै जना विद्यार्थी उपत्यका बाहिर नेपाल सरकारका जागिरे रहेको र कक्षामा पढ्न नआएको पौडेलको दाबी छ ।

विभागीय प्रमुखले दिएको आन्तरिक नम्बर किर्ते मात्रै नभएर सेमेस्टर प्रणाली विपरीत पनि रहेको पौडेलले उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा विद्यार्थीको आन्तरिक मूल्यांकनको हाजिरीतर्फ ३ अंक दिइएको विवरण राखेका छन् । उनका भनाइमा यो सेमेस्टर प्रणाली विपरीत छ ।

किनकि सेमेस्टर प्रणाली अनुसार हाजिरीमा ४ भन्दा तल नम्बर आएका विद्यार्थीलाई अरू ‘इन्टरनल असाइनमेन्ट’मा सहभागी गराउनै पाइँदैन । विद्यार्थी हाजिर भएको आधारमा पाउने मूल्यांकनको ५ पूर्णाङ्क हो । त्रिविको सेमेस्टर प्रणाली सम्बन्धी नियमावली अनुसार ९० प्रतिशत भन्दा बढी हाजिर हुनेले ५ नम्बर पाउँछ, ८० देखि ९० प्रतिशतबीच हाजिर हुनेले ४ पाउँछ ।

त्यस्तै ८० प्रतिशत भन्दा कम हाजिर हुने विद्यार्थीले आन्तरिक मूल्यांकन अन्तर्गतको हाजिरीको अंक प्राप्त गर्ने छैन भने सेमेस्टरको अन्तिम परीक्षामा सहभागी हुन योग्य मानिने छैन ।

तर, विभाग प्रमुखले दिएको अंक ६० प्रतिशत हाजिर हुनु हो । त्यसैले विद्यार्थीले प्राप्त गरेको अंकबारे कतै उजुरी नपरे पनि त्यसको मान्यता नभएकोले डीन कार्यालयले दिने नतिजामा विद्यार्थीको प्राप्तांक शून्य भएर आउँछ ।

पौडेलले यो मूल्यांकन अनुसार विभागीय प्रमुखले सेमेस्टर प्रणाली समेत नबुझेको स्पष्ट हुने आरोप लगाएका छन् । विद्यार्थीको आन्तरिक नम्बर राख्दै पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कक्षामै नआएका विद्यार्थीलाई आन्तरिक मूल्याङ्कन गरेर पठाउनु भनेको सर्टिफिकेट बेच्ने धन्दा हो ।’ आफ्नो मातहतमा रहेको करिब १४० जना शिक्षकलाई अनुशासनमा राख्नुपर्ने विभागीय प्रमुख नै ‘सर्टिफिकेट धन्दा’मा लागेको उनको आरोप छ ।

अनलाइन पढाउन रोक

पौडेलले प्रा.डा. पोखरेललाई ‘शैक्षिक माफिया’ को आरोप लगाएका छन् । विभाग प्रमुख पोखरेल विभागमा विद्यार्थी रोक्ने चलखेलमा लागेको उनको आरोप छ । विद्यार्थी भर्ना गर्ने, पढाउने विभागीय प्रमुखको जिम्मेवारी भए पनि त्यसभन्दा बाहिर गएर निजी कलेजहरूको मिलेमतोमा विद्यार्थीलाई कीर्तिपुर आउन रोकिरहेको उनको भनाइ छ ।

२०७८ असारमा त्रिविको सिनेट बैठकले विश्वविद्यालय क्याम्पस लगायत काठमाडौं उपत्यकाको ताहाचल र सानोठिमीले क्याम्पसमा पढाइ हुने विषयमा अनलाइन कक्षा पढाइ गर्न सक्ने निर्णय गरेको थियो । सिनेटको निर्णयलाई त्रिवि प्राज्ञिक परिषद् र कार्यकारी परिषद्ले पनि विश्वविद्यालय क्याम्पस र दुई आंगिक क्याम्पसहरूलाई अनलाइन कक्षा चलाउन दिने निर्णय गरेको थियो ।

सोही आधारमा शिक्षाशास्त्र संकायको डीन कार्यालयले २० असार २०७८ मा सूचना निकालेर अनलाइन कक्षाको लागि भर्ना प्रवेश परीक्षाको फारम खुला गरेको थियो । सूचनामा भनिएको छ– ‘काठमाडौं उपत्यकाको शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, महेन्द्ररत्न क्याम्पस ताहाचल र सानोठिमी क्याम्पस, भक्तपुरमा अध्यापन हुने सबै विषयहरूमा अनलाइन माध्यमबाट समेत पढाउने व्यवस्था गरिएको हुँदा उक्त क्याम्पस÷विभागमा भर्ना भई अनलाइन माध्यमबाट पढ्न चाहने विद्यार्थीले यस संकायको वेबसाइटमा गई इन्ट्रान्स रजिष्ट्रेसन गर्नुपर्नेछ ।’

सोही सूचना अनुसार १२ असोज २०७८ मा प्रवेश परीक्षा सञ्चालन गरेको नतिजा प्रकाशन गरेर २० असोजबाट भर्ना सुरु गरिएको थियो । २५ कात्तिकदेखि कीर्तिपुरमा अनलाइन कक्षा सुरु पनि भयो ।

भौतिक उपस्थितिमा भन्दा अनलाइनमा मासिक शुल्क ८ हजार बढी तिर्नुपर्ने र साँझ साढे ६ बजेदेखि ९ बजेसम्म पढाइ हुने समय तोकियो । यसरी शिक्षाशास्त्र केन्द्रीय शिक्षा विभागका गणित, नेपाली, अंग्रेजी, राजनीति शास्त्र, सामाजिक अध्ययन शिक्षा, विशेष आवश्यक शिक्षा गरी ६ वटा विषयमा अनलाइन कक्षाको पढाइ सुरु भयो ।

तर, शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख भएर आएका प्रा.डा. कविप्रसाद पोखरेलले अनलाइन कक्षा सञ्चालनका लागि भर्ना आवेदन बन्द गरेका छन् । २ असोज २०७९ मा प्रा.डा. पोखरेल विभागीय प्रमुख भएर आएपछि मंसिरमा खोलिएको भर्ना आवेदनमा अनलाइन माध्यमको लागि विज्ञापन भएन ।

विज्ञापन नभएपछि अनलाइन कक्षा सञ्चालन गरिरहेका ६ विभागीय प्रमुखहरू गएर अनलाइन विज्ञापन खोलिदिन आग्रह गर्दा स्वीकृत नभएकोले खोल्न नमिल्ने भन्दै खोल्न मानेनन् । स्वीकृत भएको र पढाइ भइरहेको भनेर अनुरोध गर्दा पनि खोल्न नमानेपछि ती ६ विषय विभाग प्रमुखहरू डीन कार्यालय पुगेका थिए ।

त्यसपछि डीन कार्यालयले १९ पुस २०७९ मा यी ६ वटा विषयमा अनलाइन कक्षा चलाउन सकिने व्यहोरा सहितको पत्र पठायो । तर, डीन कार्यालयको उक्त पत्र पछि पनि विभागले भर्नाको प्रक्रिया अगाडि बढाएन । त्यसपछि विभागीय प्रमुख तथा शिक्षकहरूले आ–आफ्ना सामाजिक सञ्जालमा प्रचार गरे र सोही आधारमा ७०० भन्दा बढीले आवेदन दिएको पौडेल बताउँछन् ।

त्यसपछि भने केन्द्रीय विभागीय प्रमुखले नै २७ माघमा ‘अनलाइन कक्षा हुने (आईसीटी र विज्ञान शिक्षा बाहेकको) सबै विषयहरूमा २० हजार रुपैयाँ लाग्ने र ती विषयहरूमा १० जना भन्दा कम विद्यार्थी भएमा अनलाइन कक्षा सञ्चालन नहुने’ भनेर भर्ना आवेदन खुलाएका छन् ।

तर, फेरि भर्ना हुन आउने विद्यार्थीलाई विभागीय प्रमुख प्रा.डा. पोखरेलले अनलाइन पढाइ नै हुने नभएको र जबरजस्ती पढाउँदा मान्यता पाउन नसक्ने भनेर तर्साएपछि विद्यार्थीहरू अन्यत्र गएको पौडेलको आरोप छ ।

पौडेल भन्छन्, ‘स्वीकृत कार्यक्रम सम्बन्धित निकायले रोकेपछि रोकिने हो तर यहाँ विभागीय प्रमुखले विद्यार्थीलाई कीर्तिपुरमा पढ्न नदिएर निजी कलेजमा जान बाध्य गराउनुभयो ।’ यस वर्ष पनि विभागले अनलाइन भर्ना आवेदन खुलाएको छैन तर विभाग तथा शिक्षकहरूले आफैं भर्ना गर्ने तयारी गरिरहेका छन् ।

टेन्डर छलेर कोटेशनमा काम

विभाग प्रमुख प्रा.डा. पोखरेलले कक्षा पार्टेसन गर्ने, हेल्थ डेक्स बनाउने, गार्डेन बनाउने काममा भ्रष्टाचार गरेको आरोप पौडेलले लगाएका छन् । आ.व. २०७९÷८० मा सम्पन्न विकास निर्माण तथा मर्मत कार्यको विवरण राख्दै टेन्डर गरेर सम्पन्न गर्नुपर्ने काम कोटेशन मार्फत गरेर भ्रष्टाचार गरेको उनको आरोप छ ।

क्युएए (क्वालिटी एस्युरेन्स एजेन्सी फर हाइयर एजुकेसन) प्राप्त गर्नको लागि पोखरेल विभागीय प्रमुख भएर आएपछि उनले विभागको करिब ५० लाख रुपैयाँको कामहरू भएका छन् । प्रचलित कानुन बमोजिम विभागीय प्रमुखले निर्णय गरेर एकदेखि पाँच लाखसम्मको कोटेशन मार्फत काम गर्न सकिने र पाँच लाखदेखि माथिको टेन्डर गरेर गर्नुपर्ने व्यवस्था छ ।

तर विभागीय प्रमुख पोखरेलले टेन्डर छल्नको लागि कोटेशनमा काम गरेको आरोप छ । एउटा कोठाको एउटा कोटेशन, अर्को कोठाको अर्को कोटेशन, बगैंचाभित्रको मन्दिर, पानीको फोहोरा टुक्रा टुक्रा पारेर कोटेशनमा काम भएका छन् । विभागको नाममा खुलेका दुई वटा वेबसाइट भए पनि दुवै वेबसाइटमा कतै पनि कोटेशनको सूचना राखिएको छैन । पौडेल भन्छन्, ‘टेन्डर छलेर कोटेशनमा र कोटेशनको सूचना सार्वजनिक नगरी काम गर्नु भनेको सीधै भ्रष्टाचार हो ।’

किर्ते हस्ताक्षर

पौडेलले फेसबुकमा विद्यार्थीको क्यारेक्टर सर्टिफिकेटको फोटो राखेका छन् । जसमा हेड लेखिएको ठाउँमा हस्ताक्षर छ । तर उक्त हस्ताक्षर विभागीय प्रमुख प्रा.डा. पोखरेलको नभएको उनको दाबी छ । २ असोज २०७९ मा प्रा.डा. पोखरेल विभागीय प्रमुख भएपछि वितरण भएका करिब १२५ भन्दा बढी विद्यार्थीको क्यारेक्टर सर्टिफिकेटमा सोही हस्ताक्षर रहेको पौडेल बताउँछन् ।

उक्त हस्ताक्षर विभागीय प्रमुख पोखरेलको नभएर परीक्षा शाखा प्रमुख रामचन्द्र घिमिरेको रहेको देखिन्छ । हेड अर्थात् विभाग प्रमुख लेखिएको स्थानमा फरक व्यक्तिको हस्ताक्षर हुनु र यदि विभागीय प्रमुख पोखरेल आफू नभएको समयमा फरक व्यक्तिलाई निमित्त दिएको भए हेडको अगाडि निमित्त लेखिएको हुनुपर्ने उनको जिकिर छ ।

अनलाइनमा पढाउने ३३ जना शिक्षकलाई अनलाइन पढाए बापतको पारिश्रमिक नदिएको शिक्षाशास्त्र विभागीय प्रमुख सह–प्राध्यापक पौडेलले आरोप लगाएका छन् ।

अहिले चौथो सेमेस्टरमा अध्ययन गरिरहेका विद्यार्थीलाई तेस्रो सेमेस्टरमा अनलाइन पढाएको पारिश्रमिक नपाएको र त्यसमध्ये डा. रेणु सिंहले पहिलो सेमेस्टरको समेत नपाएको बताउँछन् । पूर्व विभागीय प्रमुख हुँदा अरूले पाए पनि डा. रेणु सिंह कामविशेषले बाहिर भएकोले उनले दोस्रो सेमेस्टरको पारिश्रामिक पनि नपाएको उनको भनाइ छ ।

सबै ठाउँमा उजुरी

शिक्षाशास्त्र केन्द्रीय विभागबाट भइरहेको गलत कामबारे विभागीय प्रमुखलाई सचेत गराउँदा पनि विभागीय प्रमुखले वास्तै नगरेपछि सम्बन्धित निकायका सबै ठाउँमा उजुरी तथा जानकारी गराएको बताउँछन् ।

विभाग, समिति, डीन कार्यालय, कार्यकारी परिषद्मा जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । पौडेलको भनाइ अनुसार उनले विभागीय प्रमुखको संयोजकत्वमा रहेको कार्यव्यवस्थापन समिति (विभाग संचालक समिति) का सबै सदस्यहरूलाई जानकारी गराए । तर विभाग प्रमुख नै संयोजक रहेको र उनैले नियुक्त गरेको सदस्यहरू भएकोले संयोजक विरुद्ध नबोलेको उनको आरोप छ ।

पौडेलका अनुसार विभाग सञ्चालक समितिमा कुनै पनि खालको सुनुवाइ नभएपछि विभागको व्यवस्थापन समितिमा गुनासो राखे । तर, यो समिति पनि विभागीय प्रमुखले गठन गरेको हुँदा संयोजक तथा सदस्यहरू बोल्न नचाहेको उनको आरोप छ ।

सञ्चालक समितिमा ईपीएम (एजुकेशन प्लानिङ एन्ड म्यानेजमेन्ट) विभागीय प्रमुख नारायण अधिकारी, सोही विभागका शिक्षक गणेश खनाल, गणित विभागका विभागीय प्रमुख अवतार सुवेदी, शिक्षक लोकनाथ भट्टराई र भूगोल विभागका प्रा.डा.नारायण पौडेल सदस्य रहेका छन् ।

यता गुनासो समितिमा पनि सञ्चालक समितिमध्येका संयोजक गणेश खनाल, सदस्य रवीन्द्र शिवाकोटी र अवतार सुवेदी छन् ।

पौडेलले विषयगत विभागीय समितिमा उजुुरी गरेका थिए । शिक्षा संकायभित्र १५ वटा विषय छन् । ती १५ वटै विषयका आ–आफ्नै विभागीय समिति छन् । ती विभागीय समितिका प्रमुखहरू भएको विषयगत विभागीय समिति छ । जसले विभागमा उठेको विषयलाई निर्णय गरेर टुंग्याउने जिम्मेवारी हुन्छ ।

१५ जना भएका विभागीय विषयगत समितिको बैठकमा समेत विभागमा भइरहेको अनियमितताबारे कुरा राखे । त्यहाँ पनि पौडेलले उठाएको विषयलाई छलफलमा ल्याउने कोसिस भएन । त्यसपछि उनले शिक्षाशास्त्र संकायका डीन प्रा.डा. चित्रबहादुर बुढाथोकीलाई जानकारी गराएका थिए ।

पौडेल भन्छन्, ‘डीन पनि विभागीय प्रमुखले गरेको बदमासीको बारेमा जानकार हुनुहुन्छ तर एक्सन लिन सक्नुहुन्न । भागबन्डामा आएको मान्छे कसैले चलाउन सक्दैन ।’

डीनबाट पनि केही नहुने भएपछि उनी तत्कालीन उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा सहित सबै कार्यकारी परिषद्का सदस्यहरूलाई विभागीय प्रमुख प्रा.डा. पोखरेलले गरेको ‘बदमासी’को १९ पेजको प्रमाण बुझाएको दाबी गर्छन् । तर, अहिलेसम्म कतैबाट पनि कारबाहीको प्रक्रिया अगाडि नबढेको उनको गुनासो छ ।

यस सम्बन्धमा शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा. कविप्रसाद पोखरेलले चाहिं १२ मंसिरमा प्रहरी वृत्त कीर्तिपुरमा आफूलाई ८–८ पटक कुटपिट गर्न खोजेको भन्दै ज्यान मार्ने उद्योगमा उजुरी गरेका छन् ।

त्यसपछि मात्रै आफूले मंसिर १५ गतेदेखि सबै प्रमाणहरू सामाजिक सञ्जालमा राख्न थालेको पौडेल बताउँछन् । उनी भन्छन्, ‘मैले प्रक्रियागत रूपमा सबै निकायमा जानकारी, उजुरी गरेको छु । सुनुवाइ नभएपछि फेसबुकमा प्रमाणहरू राख्न थालेको हुँ । यी कागजातहरू गलत भए म जहिल्यै पनि कारबाही भोग्न तयार छु ।’

राजनीतिक भागबन्डाको कारण विभागीय प्रमुखको बदमासी छरपस्ट हुँदा पनि डीन, सहायक डीनहरू, विभागीय प्रमुखहरू, प्राध्यापक तथा शिक्षकहरू उनको विरुद्धमा नबोलिरहेको शिक्षा आधार विभागका उप–प्राध्यापक रामबाबु मण्डल बताउँछन् । उनी भन्छन्, ‘यहाँ सबै चिज भागबन्डामा हुने हो, एक जनाको पोल खुल्दा भोलि उनीहरूको पनि खुल्छ र भागबन्डामा नपर्ने डर हुन्छ ।’

शैक्षिक माफियाले लगाएको आरोप : प्रा.डा. पोखरेल

शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा. पोखरेल विश्वविद्यालय सिध्याउन लागिपरेका शैक्षिक माफियाहरूले चलाएको हल्ला भएको बताउँछन् । त्रिभुवन विश्वविद्यालय बिगार्न आफूमाथि माफियाहरूले खेल खेलिरहेको उनको भनाइ छ ।

तर, आन्तरिक मूल्यांकनको क्रममा ४ जना विद्यार्थीलाई नम्बर दिएको भने उनले स्वीकार गरे । ‘चार जना विद्यार्थी कलेज आएका छन् र उनीहरूको आन्तरिक मूल्यांकनमा मैले अंक पनि दिएकै हुँ र ८० प्रतिशत हाजिर पुगेको थियो चाहिं भन्दिनँ ।’ उनी भन्छन्, ‘अरूले मूल्यांकन गरेर नम्बर दिएका छन् र मैले त्यत्ति नम्बर दिंदा उनीहरूलाई राम्रो हुन्छ भनेर दिएको हुँ ।’

आफू विषयगत शिक्षक भएकोले नम्बर दिएको तर आफूले मात्रै नदिएको अवस्थामा आफूमाथि मात्रै प्रश्न उठ्नु अस्वाभाविक भएको उनको भनाइ छ । सेमेस्टर प्रणाली अनुसार देशैभरका विद्यार्थीको हाजिरी नपुगेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘जागिर खाएका मान्छे कहिले बिहान आउने कहिले कहाँ आउने भएकाले सर हाम्रो जाँच चाहिं लिइदिनुपर्‍यो, हामी दुई–दुई चोटि भर्ना हुनुपर्छ कुनै न कुनै हिसाबले एउटा पेपर च्याप्न सक्यो भने पहिलो सेमेस्टरको हाम्रो भर्ना कायम हुन्छ, दोस्रो सेमेस्टरमा जान्छौं र त्यसपछि हामी नियमित हुन्छौं भनेर त्यस्तो भएको हो ।’

यसरी चार जनालाई दिएको तर पाँचौं व्यक्तिलाई भने अहिले आरोप लगाउने व्यक्ति (सह–प्राध्यापक केशव पौडेल) ले थप गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘अघिल्ला चार जना मेरा विद्यार्थी हुन् । चार जनालाई मैले अंक दिएको हुँ, पाँचौं विद्यार्थी आरोप लगाउनेले नै थप गरेका हुन् ।’

विभागले वितरण गर्दै आएको विद्यार्थीको क्यारेक्टर सर्टिफिकेटमा परीक्षा प्रमुखले हस्ताक्षर गर्ने भने आफूभन्दा अघिल्ला विभागीय प्रमुखले सुरु गरेको उनको भनाइ छ । ‘१० वर्षदेखि हेड मात्रै लेखिएको र त्यसमा परीक्षा शाखा प्रमुखले हस्ताक्षर गर्ने गरेको छ । तर म आएपछि प्रश्न उठेपछि केही महिनायता मैले हस्ताक्षर गर्न थालेको छु ।’

अनलाइन भर्नाको विषयमा उनी भन्छन्, ‘अनलाइन पढाउने निर्णय मलाई चाहियो भने तर त्यो निर्णय मकहाँ आएको छैन । कुन तहबाट आधिकारिक निर्णय भएको हो त्यो नपाएसम्म म खोल्दिनँ ।’

कोभिडको बेला चलेको कक्षालाई विभागहरूले जबरजस्ती अनलाइन भनेर चलाएको उनको आरोप छ । उनी भन्छन्, ‘त्रिविले अहिले अंगीकार गरेको पठनपाठन प्रणाली भनेको ब्लेन्डेड मोड हो । त्यो भनेको आवश्यकता परेको बेला भौतिक र अनलाइन भन्ने हो । निर्णय नै नभएको अनलाइन कक्षा सञ्चालन गर्दा भोलि त्यसको वैधानिकताको जिम्मा कसले लिन्छ !’

कोटेशनमा विभागको भौतिक संरचनामा काम गरेको विषयमा उनी भन्छन्, ‘समयसीमा भित्र सक्नुपर्ने भएकोले कोटेशनमा काम गरिएको हो र वेबसाइटमा खराबी आउँदा साइटमा राख्न नसकेको हो ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?