+
+

बराहपोखरी गाउँपालिकामा आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित

रासस रासस
२०८० माघ २९ गते १९:२५

२९ माघ, खोटाङ। बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ । बराहपोखरी-४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी ओलीले विसं २०७७ मङ्सिर १५ गते भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याको तीन सय नौ वटा अस्पतालको शिलान्यास गरेका थिए ।

दुई वर्षभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएका त्यही तीन सय नौ आधारभूत अस्पतालको सूचीमा बराहपोखरीको पनि समावेश भएको थियो ।

धर्तुङमा आधारभूत अस्पताल बनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु दश लाख खर्च गरेर घडेरी सम्याउने काम सम्पन्न गरेको गाउँपालिकाका प्रशासन सहायक एवं सूचना अधिकृत रमेश पोखरेलले जानकारी दिए ।

धाप्लाङ-धर्तुङ सडक नजिकै आधारभूत अस्पताल निर्माणका लागि गाउँपालिका उपाध्यक्ष भूवलराज राईले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

पालिकास्तरीय अस्पताल भवन निर्माणका लागि जग्गा जुटाएर भवनको विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर ) तयार पारेर अर्थमन्त्रालयमा बजेट माग्न जाँदा बजेटको सुनिश्चितता भएपछिमात्रै भवन बन्ने जवाफ आएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए ।

‘पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्दा हाम्रो पनि परेछ । अस्पताल बनाउन भनेर जग्गा जुटाएर घडेरी सम्यायौँ । डिपिआर पास गरेर अर्थमन्त्रालय गयौँ । मन्त्रालयले सबै पैसाको सुनिश्चितता छैन भन्छ । ‘

अस्पताल भवन निर्माणका लागि अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०८०/०८१ मा रु २० लाख विनियोजन भएको गाउँपालिका प्रमुख बञ्जराले जानकारी दिए । तर, सो रु २० लाख रकमले ठेक्का खोल्नै नपुग्ने गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको निर्णय, जग्गा व्यवस्थापन, डिपिआर तयार, बोलपत्र लगायतका प्रक्रिया पूरा नभएका कारण जिल्लामा शिलान्यास गरिएका धेरैजसो अस्पताल भवन निर्माणका लागि विनियोजित बजेट ‘फ्रिज’ भइरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा बराहपोखरीसँगै दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा दुई वर्षअघिमात्रै पाँच/पाँच शय्याको अस्पताल निर्माणका लागि योजना परेको थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पहिलो वर्षअर्थात् आव २०७७/०७८ मा छवटा स्थानीय तहका लागि योजना परेको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावाबेँसी, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल भवन निर्माणको योजना परेको हो ।

पहिलो वर्ष नै योजना परेका अस्पतालको कामसमेत अहिलेसम्म सम्पन्न भएका छैनन् । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा निर्माणाधीन पाँच शय्याको अस्पताल भवनमा ठेकेदार कम्पनीको लापर्वाहीका कारण गुणस्तरहीन बालुवा/गिट्टी प्रयोग भएको नपाइएपछि पुनः भत्काएर निर्माण सुरु गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो ।

२९ वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्लाको एकमात्र सरकारी अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने गरी स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?