+
+
Shares

डोटीको आदर्श गाउँपालिकाको आधारभूत अस्पतालका संरचना तयार, सञ्चालनको पर्खाइ

अस्पताल भवन निर्माणका लागि २०८० साल असार २२ गाउँपालिका र निर्माण व्यवसायी कम्पनी रोयल कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । सम्झौताको चारदिनपछि निर्माण कार्य सुरु भएको भवन यसवर्षको असार १० मा निर्माण सम्पन्न भएको छ ।

रामहरि ओझा रामहरि ओझा
२०८३ भदौ २ गते १९:४१

२ भाद्र, डोटी । एउटा ठूलो कंक्रिटको पर्खाभित्र सुरक्षित गरिएको जमिन, जमिनमाथि चिटिक्क परेको दुई तले भवन । टाढैबाट आँखा लोभ्याउने रङरोगन ।

यो दृश्य आदर्श गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पतालका संरचनाको हो । गाउँपालिकाको केन्द्र मौवानगरदहमा बनेको यही संरचनामा १५ शैयाको अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको छ ।

अस्पताल भवन निर्माणका लागि २०८० साल असार २२ गाउँपालिका र निर्माण व्यवसायी कम्पनी रोयल कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । सम्झौताको चारदिनपछि निर्माण कार्य सुरु भएको भवन यसवर्षको असार १० मा निर्माण सम्पन्न भएको छ ।

गाउँपालिकाका सूचना अधिकारी श्रीशान्त ओझाका अनुसार संघीय सरकारबाट १८ करोड रुपैयाँ र बाँकी गाउँपालिकाको गरेर कुल २६ करोड ६५ लाख १६ हजार रुपैयाँ लागतमा अस्पताल भवन बनेको छ ।

अब निर्माण सम्पन्न भएसँगै अस्पताल सञ्चालनको व्यवस्थापकीय तयारी चलिरहेको सूचना अधिकारी ओझाले जानकारी दिए ।

‘अस्पताल सञ्चालनका लागि निक साइमन नामक गैरसरकारी संस्थासँग साझेदारी भएको छ,’ ओझाले भने, ‘आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन भइरहेको छ ।’

अस्पतालमा जनरल फिजिसिएन एक जना, मेडिकल अधिकृत दुई जनासहित ३० जना कर्मचारीहरूको दरबन्दी रहने उनले बताए ।

तत्कालीन ग्रामिण समिति (हाल अस्तित्वमा नरहेको) को नाममा रहेको करिब चार रोपनी ६ आना जमिनमा अस्पताल भवन निर्माण भएको छ ।

उक्त जमिन लामो समयदेखि स्थानीयबासीले अतिक्रमण गरी भोगचलन गर्दैआएका थिए । अस्पताल बनाउन उक्त जमिन खाली गराएर भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष गणेश खड्काले जानकारी दिए ।

‘हामीले मालपोत कार्यालयसँग समन्वय गरेर गाउँपालिकाको नाममा नामसारी गराएर जग्गा अस्पतालकै स्वामित्वमा ल्याइसकेका छौं,’ अध्यक्ष खड्काले भने, ‘लामो समयदेखि बस्दैआएका व्यक्तिका संरचना हटाउन ढिलाइ भएकाले अस्पताल निर्माण थोरै ढिला हुनगयो ।’

अब भवन निर्माण भइसकेकाले छिट्टै अस्पताल सञ्चालन भएर स्थानीयबासीले सेवा पाउने अध्यक्ष खड्काले बताए ।

मौवानगरदहमा रहेको स्वास्थ्य चौकीमा कार्यरत एक जना मेडिकल अधिकृत, प्रयोगशाला र एक्स–रे सेवालगायत सेवा प्रवाह भइरहेको अध्यक्ष खड्काले जानकारी दिए । तत्कालका लागि त्यही जनशक्ति र पूर्वाधारबाट भएपनि आधारभूत अस्पताल सुरु गरिने उनले बताए ।

मौवानगरदहमा अस्पताल अस्पताल सञ्चालनमा आएपछि आदर्श गाउँपालिका सँगसँगै सायल गाउँपालिकाका जनता पनि लाभाम्वित हुनेछन् ।

डोटीका नौ स्थानीय तहमध्ये हालसम्म पूर्वीचौकी गाउँपालिकामा मात्रै संरचना बनेर आधारभूत अस्पताल सञ्चालनमा आएको छ । तर, उक्त अस्पतालले जनशक्ति र उपकरणको अभाव झेलिरहेको छ ।

यस्तै, शिखर नगरपालिकाले अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरेको भएपनि अस्पताल सञ्चालनमा आउने सकेको छैन ।

यस्तै, सायल, बोगटान फुड्सिल, केआईसिंह, जोरायल र बडीकेदार गाउँपालिकामा २०७८ सालदेखि निर्माण भइरहेका आधारभूत अस्पताल भवन भने अलपत्र छन् ।

यस्तै, दिपायल सिलगढी नगरपालिकाले दिपायलमा निर्माण गर्न लागेको नगर अस्पतालको भवन पनि अलपत्र जस्तै बनेको छ ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?