+
+
सन्दर्भः विश्व रेडियो दिवस २०२४ :

गुणात्मक रूपान्तरणको पर्खाइमा सामुदायिक रेडियो

कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ भने झैं सामुदायिक रेडियोको स्थापित मूल्य, मान्यता एवं आदर्श अनुरूप स्थापना, सञ्चालन र नेतृत्व विकास हुँदा यसको व्यापक सम्भावना छ ।

सुवास खतिवडा सुवास खतिवडा
२०८० फागुन १ गते ८:२४

आज विश्व रेडियो दिवस । संयुक्त राष्ट्रसंघकै आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ का दिन विश्व रेडियो दिवस मनाउन थालिएको छ । नेपालमा २०१२ देखि नै विभिन्न कार्यक्रम आयोजना गरी विश्व रेडियो दिवस मनाउन थालियो । रेडियो दिवसले रेडियोको महत्व बुझाउन मद्दत गर्नुका साथै गएको १०० वर्षको अवधिमा रेडियो प्रसारण क्षेत्रका विविध पक्षहरू सम्झने, छलफल गर्ने अवसर प्रदान गर्दछ । सर्वप्रथम १३औं विश्व रेडियो दिवसको अवसरमा रेडियो सञ्चालक, रेडियोका सक्रिय सर्जक एवं श्रोता र सरोकारवाला सबैलाई हार्दिक शुभकामना !

आम नागरिकको सबैभन्दा सरल र सहज माध्यम रेडियोको महत्व र सान्दर्भिकता व्यापक छ । रेडियो प्रसारणले १०० वर्षको अवधि पार गर्दा समेत यसको बढ्दो पहुँच र प्रभावको वर्चस्व कायमै छ । प्रथम विश्वयुद्घको समाप्तिसँगै व्यापक बन्दै गएको रेडियो प्रसारण दोस्रो विश्वयुद्घ ताका शक्तिशाली माध्यमको रूपमा स्थापित भइसकेको थियो ।

सूचना, जानकारी र मनोरञ्जन दिने रेडियो अद्भुत र रोमाञ्चक माध्यमको रूपमा छोटो अवधिमा विश्वभर फैलियो । रेडियो प्रसारण तीव्र गतिमा विस्तारसँगै यसमा चौतर्फी परिवर्तन भएको छ । रेडियो प्रसारणका विषयवस्तु, प्रविधि र सञ्चालन पद्घतिमा ठूलो रूपान्तरण आएको छ । प्रसारण प्रविधिमा सर्टवेभ, मिडिवेभ, एफएम हुँदै अनलाइन प्रसारणले विश्वव्यापी पहुँच पुगेको छ । स्वामित्व र सञ्चालन विधिका हिसाबले समेत रेडियोमा विविधता छ ।

सरकारी रेडियो, सार्वजनिक सेवा प्रसारणको रेडियो, व्यापारिक रेडियो र सामुदायिक रेडियो प्रसारणमा छ । सामुदायिक रेडियो समुदायको स्वामित्व र सक्रियतामा सञ्चालन हुन्छ । सामूहिक स्वामित्व, सहभागिता र सक्रियतामा रेडियो स्थापना र सञ्चालनको यो पद्घतिको छुट्टै स्थान छ । यसको आम्दानी रेडियोकै क्षमता विकास र दिगोपनामा लगाइन्छ । सामुदायिक हक–हित एवं सामूहिक रुचि र सरोकार सामुदायिक प्रसारणको मुख्य क्षेत्र हो ।

प्रविधिले ल्याएको परिवर्तन
रेडियो सबै वर्ग, क्षेत्र र समुदायका निम्ति सजिलो माध्यम हो । प्रविधिको विकासले रेडियो सुन्ने तौरतरिकामा परिवर्तन ल्याएको छ । प्रसारण प्रविधिमै व्यापक फेरबदल भएको छ । प्रसारक र श्रोता बीचको दूरी घट्दै गएको छ । आफ्ना सरोकारका सवाल आफैंले भन्ने तत्परता रेडियोले जगाएको छ । लक्षित समुदायको रुचि, भावना र सरोकारलाई समेट्नै पर्ने दबाब रेडियो कार्यक्रम उत्पादकलाई छ ।

माध्यमको विकल्प थपिंदै गर्दा श्रोता संख्या बढाउन रचनात्मक र सिर्जनात्मक बन्नैपर्ने चुनौती प्रसारकलाई छ । हिजोका दिनमा रेडियो सुन्न छिमेकीको घर धाउनुपर्ने श्रोताको अवस्था परिवर्तन भएको छ । प्रविधिको विकासले आफ्नो अनुकूलको समयमा आफ्नो रुचिको सामग्री खोजेर सुन्न पाउने सुविधा प्राप्त भएको छ ।

पक्कै पनि सूचनाप्रविधिको विकासले रेडियो प्रसारणको एकछत्र प्रभाव र उपस्थिति बदलिएको छ । यद्यपि मानवीय विविधता र बहुलता अभिव्यक्त गर्ने शक्तिशाली माध्यमको रूपमा आफ्नो उपस्थिति कायम राख्न रेडियोले प्रयास गरिरहेको छ । नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा रेडियो व्यापक र अत्यधिक जनताको पहुँचमा पुगेको माध्यम हो ।

गएको १०० वर्षमा रेडियो माध्यमको उपस्थिति र उपयोग यति व्यापक भयो कि यसको व्यापकतालाई अन्य माध्यमले चुनौती दिन सकेनन् । रेडियो प्रविधि असीमित श्रोताहरूमा सजिलै पुग्ने अद्भुत माध्यम भयो । यसले समाजको विविधताको अनुभवलाई आकार दिन र सबै प्रकारका आवाजको प्रतिनिधित्व गर्दै बोल्न सक्छ । रेडियो बोलीको माध्यम भएकाले यसले समुदायका विभिन्न विचार, दृष्टिकोण र आवाज समेट्न सक्छ । सत्य–तथ्यका आधारमा सूचना र जानकारी प्रदान गर्ने हुनाले रेडियो भरपर्दाे र विश्वसनीय माध्यम बनेको छ ।

रेडियो सेवा डिजिटल प्रविधिका साथै पड्काष्टमा रूपान्तरण हुन थालेको छ । रेडियो श्रव्य, दृश्यको माध्यम बन्न थालेको छ । श्रव्यसामग्री उत्पादन गरी श्रोताको अनुकूल समय र उपकरण छनोटको सुविधा रेडियो माध्यमले उपलब्ध गराउन थालेको छ ।

हिजो अन्य माध्यमलाई दबाबमा राख्ने रेडियो प्रसारण आज आफैं श्रव्य दृश्य माध्यमको दबाबमा पर्न थालेको छ । इन्टरनेटको विस्तारसँगै श्रव्य दृश्य सामग्रीको बढ्दो पहुँचले रेडियोले आफ्ना श्रोता जोगाउन संघर्ष गरिरहेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले समेत रेडियोको प्रभावमा चुनौती थपेको छ ।

सामुदायिक प्रसारणको महत्व
सामुदायिक प्रसारण कसैको प्रतिस्पर्धी र चुनौती होइन । यो सामुदायिक अभियान हो । यो अभियानमा समुदायकै स्वामित्व, सहभागिता र सक्रियता रहन्छ । यही शक्ति र विशेषताका कारण सामुदायिक प्रसारणको दिगोपना सुनिश्चित हुन्छ । रेडियो प्रसारणको केन्द्र नै समुदाय हुन्छ । समुदायभित्रको बहुलता, विविधता र भिन्नता प्रसारणमा प्रकट हुनुपर्छ ।

स्थानीयपन र अपनत्वको भाव हुने भएकाले प्रसारण माध्यमप्रति विश्वास रहन्छ । समुदायको हरेक क्रियाकलापमा सामुदायिक रेडियोको उपस्थिति रहने हुनाले यसको सञ्चालनमा समुदायको सहयोग, शुभेच्छा रहन्छ । समुदायका सदस्यहरूको पेशा, व्यवसायलाई सम्मान गर्नुका साथै उद्यमशील संस्कृतिलाई प्रोत्साहन गर्नु सामुदायिक प्रसारणको मूल चरित्र हुन्छ ।

न्याय, समानता र दिगो विकासका लागि स्थापना भएका यस्ता सञ्चारमाध्यम सबै वर्ग, पेशा र समुदायको आत्मसम्मानप्रति प्रतिबद्घ रहन्छ । समाजको प्रगतिशील रूपान्तरणका साथै मानवअधिकारको रक्षामा सामुदायिक प्रसारक सक्रिय रहन्छन् । समुदाय र सामुदायिक प्रसारणको सम्बन्ध नङ र मासुको जस्तै हो । यी दुई एकअर्काको परिपूरकको रूपमा सञ्चालित र विकसित हुन्छन् । समुदायलाई गति प्रदान गर्ने इन्धनको भूमिका निर्वाह गर्ने माध्यम भएकाले सामुदायिक प्रसारण समाजको निम्ति महत्वपूर्ण छ ।

सामुदायिक रेडियोको समीक्षा
नेपालमा सामुदायिक प्रसारणले साढे दुई दशक पार गर्दा समुदायको विकास र रूपान्तरणमा पुर्‍याएको योगदानको समीक्षा हुनुुपर्दछ । सामुदायिक प्रसारण कमि–कमजोरीबाट मुक्त छैन । नेपालमा सामुदायिक रेडियो स्थानीय आवश्यकताको आधारमा स्थापना र सञ्चालन भएका हुन् । प्रसारण अभ्यासबाटै ज्ञान र सीप आर्जन गरेर यसको विकास र विस्तार भएको हो ।

प्रसारणको सुरुदेखि नै केही विषयमा हामी अल्मलियौं । हामीले समुदायलाई भन्दा प्रविधिलाई धेरै महत्व दियौं । समुदायको आवाजमा भन्दा समुदायलाई प्रभाव पार्ने टाठा–बाठाहरूको आवाजलाई प्राथमिकता दियौं । सामुदायिक भन्दा दलीय राजनीतिको विषयवस्तु हावी भयो । शिक्षित, पहुँचवाला, समाजमा स्थापित नेतृत्वकै वरिपरि प्रसारणको विषयवस्तु घुमिरह्यो ।

समाजमा रहेको असमानता, विभेद र अन्यायले द्वन्द्व बढाउन बल पुर्‍याइरहेको छ । समाजको सकारात्मक रूपान्तरणका साथै न्याय र समानताका लागि सामुदायिक प्रसारणको सक्रियता आवश्यक छ ।

व्यावसायिक मिडियाले उपभोक्ता बनाएको समुदायलाई हामीले प्रसारण अभियानको सक्रिय सहभागी बनाउन जाँगर चलाएनौं वा हाम्रो होसियारी पुगेन । यिनै कारणले सामुदायिक प्रसारणको शक्ति र सुन्दरता मापन गर्ने कैयौं आधार हुँदाहुँदै हामी आफैंले आफैंलाई विश्वास गर्नबाट हच्किन थालेका छौं । तर, कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ भने झैं सामुदायिक रेडियोको स्थापित मूल्य, मान्यता एवं आदर्श अनुरूप स्थापना, सञ्चालन र नेतृत्व विकास हुँदा यसको व्यापक सम्भावना छ ।

नेपालको सामुदायिक आन्दोलन र अभियान सफल र गौरवपूर्ण छ । अधिकांश हाम्रा सांस्कृतिक धरोहर राज्यको लगानी विना सामुदायिक सहभागिता र योगदानबाट निर्माण भएका हुन् । सामुदायिक वन, सामुदायिक सिंचाइ, सामुदायिक विद्यालय, सामुदायिक खानेपानी, सामुदायिक विद्युत् लगायत धेरै क्षेत्रहरू सामुदायिक सक्रियता र नेतृत्वबाट सञ्चालित छन् । सामुदायिक मूल्य, मान्यता आत्मसात् गरेर सामुदायिक प्रसारणलाई थप प्रभावकारी र उपयोगी बनाउन सकिन्छ ।

प्रभावकारी भूमिका आवश्यक

अनलाइन र सोसल मिडियाको पहुँच व्यापक भएसँगै अब रेडियो प्रसारणको आवश्यकता र उपयोगिता माथि शंका गर्न थालिएको छ । लामो समयदेखि प्रसारणमै सक्रिय अगुवाहरू समेत भविष्यबारे आशावादी देखिंदैनन् । प्रसारकहरूमा भयपूर्ण अनिश्चय र अन्योल देखिन्छ । सामुदायिक रेडियो अभियानमै सक्रिय मित्रहरू विगत गौरवपूर्ण भए पनि वर्तमान कठिन बन्दै गएको भविष्य संकटोन्मुख होला कि भनेर चिन्तित हुनुहुन्छ ।

कतिपय अनलाइन र सोसल मिडियाकै कारण समाजमा गलत र भ्रामक समाचार अनियन्त्रित बन्ने चुनौती बढेको छ । यसले समाजमा आवेग र उत्तेजना बढाउनुका साथै द्वन्द्व फैलाउन मलजल गरिरहेको छ । गलत र भ्रामक समाचारले उत्पन्न गर्ने नकारात्मक प्रभाव घटाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुन्छ । सामुदायिक प्रसारणले सही र तथ्यपूर्ण सूचना पटक–पटक प्रसारण गरी समाजलाई गलत र भ्रामक सूचनाको शिकार बन्नबाट जोगाउनुपर्छ ।

गतल र भ्रामक समाचारले समुदायमा शंका, अविश्वास र आवेग उत्पन्न गराउँछ । सामुदायिक रेडियो समुदायमा विश्वास, हार्दिकता, मेलमिलाप र सद्भाव बढाउने माध्यम हो, समाजमा संवाद र सहिष्णुता अभिवृद्घि गरी दिगो शान्तिका लागि योगदान पुर्‍याउने माध्यम हो । सकारात्मक सामाजिक रूपान्तरणका लागि सामुदायिक प्रसारण अत्यावश्यक छ ।

समाजमा सम्पन्न र विपन्न बीच खाडल बढ्दो छ । पहुँचवाला र पहुँच बाहिरका नागरिकबीच अविश्वास गहिरिंदो छ । स्रोत–साधनको पहुँचमा असमानता छ । भूगोलका कारण, वर्ग, लिंग, जात, धर्म र संस्कृतिका कारण समाजमा भेदभाव छ । समाजमा रहेको असमानता, विभेद र अन्यायले द्वन्द्व बढाउन बल पुर्‍याइरहेको छ । समाजको सकारात्मक रूपान्तरणका साथै न्याय र समानताका लागि सामुदायिक प्रसारणको सक्रियता आवश्यक छ ।

पहुँचविहीनहरूको माध्यम

समाजमा उपेक्षित, उत्पीडित र आवाजविहीनहरूको आवाजको रूपमा सामुदायिक रेडियो स्थापित भएमा समाजमा सामुदायिक रेडियोको स्वीकार्यता बढ्दै जानेछ । अल्पसंख्यक, फरक क्षमता भएका, अवसरहरूबाट वञ्चित समुदायको सामुदायिक रेडियोमा निर्णायक भूमिका हुनुपर्छ । यसतर्फ हाम्रो अभियानले गुणात्मक रूपान्तरण गर्नु आवश्यक छ ।

लोपोन्मुख भाषा, संस्कृतिलाई बचाउन र पुस्तान्तरण गराउन समेत सामुदायिक रेडियोको दायित्व छ । जलवायु र वातावरणको संकटले उत्पन्न गराउने विपद्को पूर्व तयारीका साथै विपद्कै समयमा मानवीय सुरक्षाको लागि सामुदायिक प्रसारणले महत्वपूर्ण योगदान पुर्‍याएको छ । भूकम्पको समयमा राहत, उद्घार र पुनर्स्थापना कार्यमा गरेको योगदान, कोभिडको समयमा जनचेतनाको लागि गरेको योगदान प्रशंसनीय छ ।

समाजमा लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्न, सुशासन, पारदर्शिता र सहभागिता अभिवृद्घि गर्न सामुदायिक रेडियोको विशेष दायित्व र जिम्मेवारी छ । आमसञ्चारका अन्य माध्यमहरूले गर्न नसक्ने वा गर्न सक्ने भएर पनि उनीहरूको चासो र सरोकारमा नपर्ने कैयौं सामाजिक सवालमा सामुदायिक रेडियोले सकारात्मक र प्रेरक भूमिका निर्वाह गर्ने ठाउँ छ ।

पुनः एकपटक विश्व रेडियो दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना !

रेडियो धादिङका अध्यक्ष रहेका लेखक अमार्क एशिया प्रशान्त क्षेत्रका उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?