+
+

मंगलगढी-काँक्रेविहार सडक अलपत्र, ठेकेदारको धरौटी जफत

सुरुमा बाटो बनाइदेऊ भनेर आन्दोलन गरेका स्थानीय अहिले छिटो काम सम्पन्न गरिदिन माग गरिरहेका छन् । उनीहरुले प्रशासन घेरे, मन्त्री गुहारे, धर्ना बसे तर धुलो र हिलोबाट मुक्ति पाएका छैनन् ।

यज्ञ खत्री यज्ञ खत्री
२०८० फागुन १ गते ७:४२

१ फागुन, सुर्खेत । वीरेन्द्रनगरको मंगलगढी-काँक्रेविहार सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत गरिएको छ ।

सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र पारेपछि कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले अमर-सिस्ने नेपाल-मेघा कम्पनीको धरौटी जफत गरेको हो ।

पटक-पटक ताकेता गर्दा पनि काम नगरेपछि धरौटी रकम जफत गरिएको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी हरि शर्मा धितालले जानकारी दिए । उनका अनुसार कम्पनीको धरौटी वाफतको ८७ लाख रकम जफत गरिएको छ ।

‘नियम अनुसार ८७ लाख रकम जफत गरिएको छ । कम्पनीलाई अब कालोसूचीमा राख्ने तयारी भइरहेको छ, ‘सूचना अधिकारी धितालले अनलाइनखबरसँग भने, ‘हामीले धेरै पटक ताकेता गर्दा पनि काम नगरेपछि पेस्कीवाफतको रकम जफत गरिएको हो ।’

लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार हेर्न आउने पर्यटकलाई सडकको नाजुक अवस्थाले दुःख दिने गरेको छ ।

सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको, काम गर्छु भन्दै झुक्याएको र अटेरी गरेका कारण कार्यालयले कानुनी कदम चाल्नु परेको निर्देशनालयका सूचना अधिकारी धिताल बताउँछन् ।

सजाय स्वरूप धरौटी रकम जफत गरिएको भन्दै उनले कार्यालयले थप कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिए ।

निर्देशनालयले सडक स्तरोन्नतिका लागि अमर-सिस्ने नेपाल-मेघा कम्पनीसँग २०७८ मंसिरमा सम्झौता गरेको थियो ।

सम्झौता अनुसार कम्पनीले १५ असार २०८० सम्म काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको थियो ।
म्याद थपिएको समय पनि गुज्रिन थालेपछि कम्पनीको पेस्की रकम जफत गरिएको सूचना अधिकारी धितालले बताए ।

उक्त सडक यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर अघि बढाएका थिए ।

तर अहिले निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको थियो । पछिल्लो पटक २०७८ मा पुनः सम्झौता गरिएको थियो । २४ सय मिटर सडकको काम अहिलेसम्म ४३ प्रतिशत मात्र सकिएको निर्देशनालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार कम्पनीले हालसम्म २ करोड ७७ लाख रूपैयाँ भुक्तानी लिएको छ । सो कम्पनीले १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

नागरिकलाई सास्ती

राजेन्द्र शाही भन्छन्, ‘त्यही बाटो भएर प्रत्येक दिन बिहान कलेज जानुपर्छ । घरायसी कामका लागि बजार जानुपर्छ । बिहान सफा कपडा लगाएर गयो, बेलुका धुलाम्मे भएर आइन्छ । यो सडकले त दिनुसम्म दुःख दिएको छ ।’

मंगलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नुपरेको छ । घर, पसल र रूख-बिरुवा समेत धुलोले ढाकिएका छन् । धुलो उडाउँदै गाडी हुँइकिंदा धुलो आँखा, नाक, मुखभित्रै पर्छ ।

वीरेन्द्रनगर-९, लाटीकोइलीकी कमला शाही धुलोबाट मुक्ति दिन आग्रह गर्छिन् । ‘घाम लागे घुलो उड्छ । पनि परे हिलाम्मे हुन्छ । वर्षाको बेला तीन/चारवटा मोटरसाइकल ढले । एक जनाको त हिलोमा चिप्लिएर हातै भाँचियो,’ उनले भनिन्, ‘यो बाटो समयमै नबन्दा हामीलाई जीनाहराम भएको छ ।’

सडक विस्तारको काममा ढिलाइ भएको भन्दै स्थानीयले पटक-पटक सडक संघर्षका कार्यक्रम समेत गरे । उक्त सडकको धुलो र हिलोबाट स्थानीयले विगत ५-७ वर्षदेखि सास्ती खेप्दै आएको र सास्तीबाट मुक्ति खोजिरहेको वीरेन्द्रनगर नगरपालिका-९, का युवा अगुवा कपिलनाथ योगीले बताए ।

‘पहिलो स्थानीय निर्वाचनभन्दा अगाडिबाट नै हो त्यो बाटो भत्काइएको । अहिले ५-७ वर्ष भयो,’ योगीले अनलाइनखबरसँग भने, ‘पछि दुई लेन बनाउँने भन्दै झनै भत्काइयो तीन वर्ष बित्यो बाटो अझै बन्न सकेको छैन ।’

लाचारी सरकार र अटेरी ठेकदारका कारण जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको योगी बताउँछन् । ‘पहिला बाटो बनेन भनेर आन्दोन गर्यौं । पछि बाटो छिटो बनाउन भनेर आन्दोन गर्यौं । सडक संघर्षका कार्यक्रम गरियो,’ उनले भने, ‘अझै कहिले बन्ने हो थाहा छैन । हामी धुलो र हिलोबाट मुक्ति खोजिरहेका छौं ।’

सुरुमा बाटो बनाइदेऊ भनेर आन्दोलन गरेका स्थानीय अहिले छिटो काम सम्पन्न गरिदिन भन्दै आन्दोलन गर्नुपरेको बताउँछन् । पटक-पटक म्याद गुजि्रंदा पनि समयमै काम नहुँदा स्थानीयले प्रशासन घेरे, मन्त्री गुहारे, धर्ना बसे, प्रदर्शन गरे तर धुलो र हिलोले अझै सास फेर्न गाह्रो भइरहेको पीडा लाटीकोइलीवासीको छ ।

सडकले सास्ति दिएपछि आन्दोलनमा उत्रिएका स्थानीइ विद्यार्थी ।

मंगलगढीदेखि काँक्रेविहार जोडने यो सडकमा दैनिक सयौंको संयामा सवारी साधन ओहर-दोहर गर्छन् । प्रदेशको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार र नजिकै रहेको शिव मन्दिर दर्शनका लागि आन्तरिक तथा बाहृय पर्यटकहरू आउने गरेका छन् । प्रदेश राजधानीको यो सडकले पर्यटकलाई समेत सास्ती दिने गरेको छ ।

यो सडक हुँदै तल्लो सुर्खेततर्फ ठूला ट्रक, टिपरहरु पनि ओहर-दोहर गर्दछन् । तल्लो सुर्खेतबाट निर्माणका सामग्री ल्याउनका लागि जब ट्रकहरूको लस्कर लाग्छ, त्यो बेला सडक पुरै धुलोले ढाक्छ भने पैदल यात्रुहरू आँखा चिम्लिँदै नाक-मुख छोपेर हिँड्नुपर्छ ।

मंगलगढीबाट दक्षिणतर्फ पर्ने यो सडकको ट्रयाक खुलेको पञ्चायतकालमै हो । तर पनि अहिलेसम्म सडकको अवस्था सुध्रिएको छैन । यही सडक किनारामा पर्छ, राजेन्द्र शाहीको घर । बिचमा सडकको उचाइ माथि उठाइँदा उनको घरको छत र सडक बराबर देखिन्छन् ।

मोटरसाइकल चल्यो भने पनि सीधै धुलो उनको भान्सा कोठासम्मै पुग्छ । ‘त्यही बाटो भएर प्रत्येक दिन बिहान कलेज जानुपर्छ । घरायसी कामका लागि बजार जानुपर्छ । बिहान सफा कपडा लगाएर गयो, बेलुका धुलाम्मे भएर आइन्छ । यो सडकले त दिनुसम्म दुःख दिएको छ,’ उनी भन्छन् ।

सडकमा अहिलेसम्म नाला निर्माण, फिलिङ गर्ने लगायतका कामहरू मात्रै भएका छन् । तर, ठेकदारका लापरबाहीका कारण पूर्वाधारका काम पनि जीर्ण बनिरहेका छन् । फागुनसम्म म्याद थप गरे पनि अहिलेसम्म काम सुरु भएको छैन ।

उक्त सडक हेरिरहेका पूर्वाधार विकास निर्देशनालयका सब-इन्जिनियर प्रेमचन्द्र पाण्डे निर्माण व्यवसायीबाट नै सुस्त गतिमा काम भएकाले गाली खानु परिरहेको बताउँछन् । ‘बेस बिच्छ्याउने काम भइरहेको थियो, गाडी, घोडाहरू साइटमै छन् तर काम भएको छैन,’ उनले भने ।

यसअघि सडक विस्तार र निर्माणका क्रममा केही ठाउँमा विद्युत् प्राधिकरण बाधक थियो । यो सडक अन्तर्गत ४८ वटा विद्युत् पोल सार्नुपर्ने थियो । अहिले उक्त समस्याको पनि समाधान भइसकेको छ । निर्देशनालयले प्राधिकरणलाई ५० लाख भुक्तानी दिइसकेको छ । यस सडक अन्तर्गतका ३४ वटा घर हटाइसकिएको छ ।

 

सडक स्तरोन्नतिको काम सक्न भन्दै आन्दोलनमा उत्रिएका स्थानीय ।
लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?