+
+

एमाले उपाध्यक्ष बादलले दिए जनयुद्ध दिवसको शुभकामना

एमालेको उपाध्यक्ष रहेका पूर्वमाओवादी नेता बादलले आज मंगलबार बिहान फेसबुकमा ‘जनयुद्ध दिवस’ को सम्झना गर्दै दिएको अभिव्यक्ति यति बेला चर्चामा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १८:१४

१ फागुन, काठमाडौं । उसो त रामबहादुर थापा ‘बादल’ आफू उपाध्यक्ष रहेको पार्टीलाई हिजोको एमाले मान्दैनन् । जनताको बहुदलीय जनवाद (जबज) होइन, जनताको जनवाद मान्ने पाँच वर्षअघिको नेकपा (नेकपा) कै परिष्कृत रुप, जसले उनीसहितका पूर्वमाओवादी नेताहरुलाई अँटाएको छ ।

त्यही एमालेको उपाध्यक्ष रहेका पूर्वमाओवादी नेता बादलले आज मंगलबार बिहान फेसबुकमा ‘जनयुद्ध दिवस’ को सम्झना गर्न पुगे ।

उनका पार्टी अध्यक्ष केपी ओलीले विगतमा झैं मंगलबार पनि माओवादीले सशस्त्र युद्ध थालेको दिनप्रति कडा टिप्पणी गरेका छन् । यसअघि पनि ओलीले फागुन १ लाई ‘राष्ट्रिय हिंसा दिवस’ भन्ने गरेका थिए ।

युद्धको सुरुदेखि नै माओवादीमा रहेका एक उच्च तहका नेता बादलले फेसबुकमा मंगलबार बिहान माओवादीले युद्ध थालेको दिन सम्झँदै शुभकामना दिएका छन् । उनले शहीद, बेपत्ता, घाइते आदिको सम्झना पनि गरेका छन् ।

बादलले लेखेका छन्, ‘२९औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान शहीदहरुको स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।  बेपत्ता तथा घाइते योद्दाहरुको योगदानको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान ब्यक्त गर्दछु । साथै शहीद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’

उनका अध्यक्ष ओलीले मंगलबार हिंसाको औचित्य पुष्टि गर्न चुनौती दिँदै माओवादीमाथि प्रश्नै प्रश्न गरेका छन् । ओलीले सत्ताका लागि बाहेक अरु कुनै औचित्य पुष्टि गर्न नसकेको भन्दै आलोचना पनि गरे ।

‘हिंसा सुरु गरेको मिति ०५२ सालबाट ०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो ? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो । त्यही संसदमा नलडीकन हिस्सा लिइयो । सरकारमा चुनाव नलडी पुगियो । अनि हिंसा छोडियो’ ओलीले प्रश्न गरे, ‘के भएर ? किन त्यत्ति थियो त्यसको उद्देश्य ? पार्लियामेन्टमा अच्छाखासा सिट संख्या र सरकारमा राम्रो हिस्सा । अरु त केही प्राप्त गरेको देखिँदैन । भनेपछि हिंसा किन गरेको थियो अहिलेसम्म पुष्टि छैन ।’

विगतमा पनि एमाले अध्यक्ष ओलीले युद्धको औचित्यमाथि प्रश्न उठाउँदा माओवादीबाट एमाले प्रवेश गरेका बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा लगायत नेताहरु निरुत्तर हुने गर्थे । एमालेबाट अर्घाखाँचीमा प्रतिनिधिसभा चुनाव जितेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोग भोग्दै हाल जेलमा छन् । उनी एमालेको सचिव पदबाट हाल निलम्बित छन् ।

बादलकै छोरा प्रतीक पनि सोही प्रकरणमा अभियोग लागेपछि हाल फरार छन् । पछिल्लो दिनमा बादलको राजनीतिक सक्रियता शुन्यप्रायः भएको छ । उनी एमालेले आयोजना गरेका मिसन ग्रासरुटमा पनि सहभागी भएनन् ।

बादलले माओवादीले थालेको जनयुद्ध दिवसका लागि दिएको शुभकामनाबारे थप प्रतिक्रिया लिन खोज्दा उनी उपलब्ध भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?