+
+

१६ वर्ष पर्खिएको रुविनाको यो शतक

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन १ गते २१:००

१ फागुन, काठमाडौं । अलराउन्डर रुविना क्षेत्री नेपाली महिला क्रिकेटको पाएको सर्वाधिक सफल खेलाडी र लिडर हुन् । सन् २०११ मा नेपाली महिला क्रिकेटको बागडोर सम्हाल्लेकी उनले ११ वर्षसम्म अनवरत कप्तानी गरिन् ।

पछिल्लो समय रुबिनासँगै सीता राना मगरले विदेशमा गएर समेत फ्रेन्चाइज लिग खेलिन् । तर नेपाली महिला क्रिकेटले अहिलेसम्म शतक पाएको थिएन ।

२००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन थालेपछि सीता र रुविनामध्ये एक नेपालको पहिलो शतक हान्ने धेरैको अनुमान थियो । सीताले २०२१ मा कतारविरुद्ध ८२ रन बनाएकी थिइन् । तर शतक बनाउन सकिनन् ।

मंगलबार एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनको अविजित शतकीय इनिङ खेलिन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो ।

सुरुवाती दुई ओभरमा नेपालले २८ रन जोडेको थियो । शमान अलीको तेस्रो ओभरको दोस्रो बलमा कविता कुँवर १३ र तेस्रो बलमा कप्तान इन्दु बर्मा शून्यमा आउट भएपछि रुविना मैदान छिरेकी थिइन् । सीता १५ र डली भट्ट ६ रनमा आउट भएपछि नेपाल ६.२ ओभरमा ६१–४ को अवस्थामा पुगेको थियो ।

‘सीता र इन्दु आउट भइसकेको हुँदा जसरी पनि बस्नुपर्छ भन्ने थियो’, रुबिनाले भनिन्, ‘यो विकेट ब्याटिङ सहयोगी भएको थाहा भएकाले पनि आत्मविश्वास थियो ।’

रुविनाले १२ ओभर सकिँदा ३१ बलमा २ चौका प्रहार गर्दै ३७ रनमा खेलिरहेकी थिइन् । १३ औं ओभरको अन्तिम तीन बलमा माहा नासिरलाई दुई चौका र एक छक्का हानेपछि ३५ बलमा अधशतक पूरा गरिन् ।

बाँकी ५० रन भने १९ बलमा पूरा गरिन् । १६औं ओभरमा रुविनाले लत्शा हालिमाथालाई दुई चौका र एक छक्का हानिन् । १८ औं ओभरमा नाबा नसिमलाई तीन चौका र एक छक्काका साथ शतक पूरा गर्दै इतिहास लेखाइन् ।

नसिमको फुलटस बल लङअफमा खेल्दै चौकाका साथ ऐतिहासिक शतक प्रहार गरिन् । ‘म एकदमै इमोसनल (भावुक) भएँ । त्यो समय मसँग कुनै शब्द नै थिएन’ रुबिनाले मलेसियाको बाँगीमा बनाएको कीर्तिमानी शतक बनाउँदाको अनुभव साटिन् ।

उत्कृष्ट लय

कप्तानी भूमिकामा कुनैपनि खेलाडीको अतिरिक्त जिम्मेवारी हुन्छ । आफ्नो मात्रै होइन, समग्र टोली र नतिजामा ध्यान दिनुपर्छ ।

नराम्रो खेल्दा समर्थक र शुभचिन्तकको गालीको भागीदार पहिला कप्तान हुन्छन् । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक अन्तिम साता रुविनालाई कप्तानबाट हटायो र इन्दु बर्मालाई जिम्मेवारी दियो ।

संयोग, कप्तानको जिम्मेवारी इन्दुतिर सरेपछि टप अर्डरमा आएकी रुबिना लयमा देखिएकी छन् ।

अघिल्लो महिना प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशबाट सानदार प्रदर्शन गरिन् । १० खेलमा ३ अर्धशतकसहित ३४५ रन बनाउनुको साथै ११ विकेट लिइन् । नेपालको जर्सीमा त्यसलाई निरन्तरता दिएकी छिन् ।

इन्दुको कप्तानीमा रुविना हङकङले आयोजना गरेको चार देश सम्मिलित नेपाल, तान्जानिया र जापानसँग टी–२० सिरिज खेलिन् । तान्जानियासँग शून्य रनमै आउट भएकी उनले हङकङसँग २५, जापानसँग ३८ र २१ रन बनाइन् ।

यद्यपि कप्तानमा हुँदा र नहुँदा केही फरक नहुने रुविनाको बुझाइ छ । ‘कप्तानी होस् वा नहोस, देशको लागि खेल्दा सधैं जिम्मेवारी हुन्छ । सधैं प्रदर्शन गर्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘अहिले पनि म र सीता टोलीको लिडरको रुपमा नै छौं । इन्दु युवा कप्तान हो, उसलाई पनि सँगै लगेर जानुपर्नेछ ।’

प्रतियोगिताको सुरुवाती दुई खेलमा हङकङ र भुटानसँग सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन्

आफ्नो प्रदर्शनमा सुधार आउनुमा फिटनेश पनि धेरै काम गरेको उनको बुझाइ छ । ‘हामीले फिटनेसमा धेरै काम गरेका थियौं । यसको श्रेय हाम्रो सपोर्ट स्टाफलाई पनि जान्छ’, मलेसियामा रहेकी रुबिनाले टेलिफोनमा भनिन् ।

मंगलबारको खेलमा प्लेयर अफ दि म्याच अवार्ड लिँदै रुविना ।

महिला टोलीका मुख्य प्रशिक्षक मनोज कटवाल रुविनाको शतकले युवा खेलाडीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्ने बताउँछन् ।

‘महिला क्रिकेटमा यति धेरै योगदान दिएको रुविनाले शतक हान्दा युवा खेलाडीलाई क्रिकेटमा आउन थप प्रेरणा दिनेछ’ उनले भने, ‘उनको शतकले समग्र नेपालीलाई गौरवमय बनाएको छ । उसले योभन्दा अझै उत्कृष्ट इनिङ खेल्छ जस्तो मलाई लाग्छ ।’

…र त्यो अविश्वसनीय पाँच विकेट

रुविनालाई मलेसिया बढी फाप्छ । नेपालबाट महिला क्रिकेटमा ह्याट्रिकको रेकर्ड पनि उनले मलेसियामै बनाएकी थिइन् । २००९ मा एसीसी महिला टी–२० च्याम्पियनसिप सिंगापुरविरुद्ध रुविनाले जादुमयी प्रदर्शन गरेकी थिइन् ।

८० रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरलाई बराबरमा रोक्न रुविनाले अन्तिम ओभरको पाँच बलमा लगातार विकेट लिँदै नेपाललाई बल आउटमा जिताएकी थिइन् । त्यो समय सुपर ओभर नहुँदा बल स्टम्पमा बढी ताक्ने टोली विजयी हुन्थ्यो ।

रुविना ह्याट्रिक गर्ने पहिलो नेपाली महिला खेलाडी हुन् । साथै महिला टी–२० क्रिकेटमा एकै ओभरमा लगातार ५ विकेट लिने विश्वको पहिलो खेलाडी पनि । २०१९ मा कुवेतविरुद्ध महिला टी–२० आई खेलमा ह्याट्रिक पनि लिएकी थिइन् ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?