+
+

स्थायी निक्षेप सुविधासँगै बैंकहरूले राखे २८ अर्ब निक्षेप

नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराएसँगै २ फागुनमा नै उक्त सुविधा उपयोग गर्दै राष्ट्र बैंकमा २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १८:१६

३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएसँगै बैंकहरूले उक्त सुविधा उपयोग गर्न थालेका छन् ।

२९ माघमा आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा १ फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याउने केन्द्रीय बैंकले जनाएको थियो ।

राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वयन गर्न भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिने जनाएको थियो ।

मौद्रिक नीति घोषणा अनुसार नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली र खुला बजार कारोबार कार्यविधिको चौथो संशोधन गरेर १ फागुनदेखि उक्त सुविधा उपलब्ध गराएको हो ।

राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराएसँगै २ फागुनमा नै उक्त सुविधा उपयोग गर्दै राष्ट्र बैंकमा २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राखेका छन् ।

स्थायी निक्षेप सुविधा चार दिनका लागि उपलब्ध हुने नेपाल राष्ट्र बैंक खुला बजार कारोबार कार्यविधिमा उल्लेख छ । तर, भुक्तानी मितिमा बैंक बिदा पर्ने अवस्थामा बिदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

कस्तो अवस्थामा पाइन्छ स्थायी निक्षेप सुविधा ?

स्थायी निक्षेप सुविधा लिन अन्तरबैंक सापटी दायित्व बाँकी नरहेको हुनुपर्ने छ । यस्तै पछिल्लो ३० दिनको दैनिक कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभित्र रहेको र पछिल्लो ३० दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको हुनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

यस्तै स्थायी निक्षेप सुविधा लिने बैंकले सबै प्रकृतिका स्वदेशी मुद्रा बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर स्थायी निक्षेप सुविधाको ब्याजदर भन्दा कम नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।

स्थायी निक्षेप सुविधाको न्यूनतम रकम २० करोड र त्यसभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । बैंकलाई उक्त हरेक आइतबार र बुधबार दिनमा एकपटक मात्र उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।

तर, उक्त दिन सार्वजनिक बिदा भए त्यसपछि बैंक खुलेको दिन यो सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी मितिअघि नै सम्बन्धित बैंकलाई निक्षेप फिर्ता नहुने राष्ट्र बैंकले जनाएको छ । स्थायी निक्षेप सुविधामा जम्मा रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने उल्लेख छ ।

तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?