+
+
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन :

‘कोशीमा सरकार बनाउँदाको असर राष्ट्रिय सभा निर्वाचनमा देखियो’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते ११:१४

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा सरकार बनाउँदा उत्पन्न परिस्थितिको असर राष्ट्रिय सभा निर्वाचनमा देखिएको टिप्पणी गरेका छन् ।

बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत शर्माको प्रतिवेदनमा कोशी प्रकरणलाई छुट्टै व्याख्या गरिएको छ । कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले कांग्रेसप्रति असन्तुष्टि देखिएको शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

गठबन्धनबाट १८ जना देशभर निर्वाचित हुँदा माओवादी केन्द्रको उम्मेदवार चम्पादेवी कार्की मात्रै कोशीमा पराजित भएकी थिइन् । ‘यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ,’ शर्माले प्रतिवेदनमा लेखेका छन् ।

कोशीमा सरकार गठन गर्दा जे जस्ता घटनाक्रम भए त्यसले पार्टीभित्र द्वन्द्व सिर्जना गरेको शर्माको ठहर छ ।

नेता डा.शेखर कोइराला पक्षधरले नेकपा एमालेसँग मिलेर कोशीमा सरकार बनाएपछि कांग्रेसभित्र विवाद भएको थियो । एमालेको समर्थनमा कोइराला निकट प्रदेश सांसद केदार कार्कीले मुख्यमन्त्री बनेका थिए । कांग्रेस र माओवादी बीच कोशीको मुख्यमन्त्री माओवादी केन्द्रबाट बनाउने सहमति भएको थियो । त्यसको विरुद्धमा कोइराला पक्षका सांसद उत्रिएका थिए । सभापति शेरबहादुर देउवा र दुई महामन्त्री माओवादीलाई मुख्यमन्त्री दिन तयार रहेको भन्दै कोइराला पक्षधर रुष्ट बनेको थियो ।

पार्टीभित्र देखिएको उक्त विवादलाई महामन्त्री शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो त्यसले कांग्रेसभित्रनै द्वन्द्व सृजना भएको थियो,’ शर्मा भन्छन्, ‘माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ ।’

गठबन्धनको सरकार पाँच बर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वास कायम हुने पर्ने शर्मा तर्क गर्छन् ।

गठबन्धन छोड्न सबै स्वतन्त्र रहे पनि गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न भने स्वतन्त्र नहुने शर्माले उल्लेख गरेका छन् । केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको आधारमा कार्य गर्न नसकिए गठबन्धनको भविष्य संकटमा पर्ने शर्माको निचोड छ । ‘अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने हो,’ शर्मा प्रतिवेदनमा लेख्छन्, ‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?