+
+

गगनको प्रतिवेदन माथि जितजंगको टिप्पणी : कांग्रेसलाई अर्को पार्टीमा रुपान्तरण गर्न खोजेको भान पर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १२:१८

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावले अर्को कुनै पार्टीमा रुपान्तरण गर्न खोजेको भान परेको बताएका छन् ।

बिहीबार पेश भएको महामन्त्री थापाको प्रतिवेदनमा शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बस्नेतले ‘युवासँग कांग्रेस’ मा युथ कांग्रेस, उद्यमशील कांग्रेस विधानले नचिन्ने बताएका छन् । ‘पार्टीको विधानले युथ कांग्रेस चिन्दैन । युथ कांग्रेस भनेको के हो ?’

तरुण दलका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले भने, ‘कतै २०१० सालमा महामानव वीपी कोइरालाले कलिलो प्रजातन्त्रको रक्षाका लागि गठन गरिएको नेपाल तरुण दललाई घाँटी निचोर्ने काम त भएको होइन ? तरुण दलको तदर्थमै चलाउनुको भित्री रहस्य कहीँ यही युथ कंग्रेस त होइन ?’

महाधिवेशनमा स्वतः प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्न केन्द्रीय सदस्य, सांसद लगायत वडाबाट निर्वाचित हुनुपर्ने छलफलका लागि प्रस्ताव महामन्त्री थापाले अघि सारेका छन् । वडाबाट नै निर्वाचित पदाधिकारीको हकमा लागु हुने कि नहुने ? भनि बस्नेतले प्रश्न उठाएका छन् ।

महामन्त्री थापाले छलफलका लागि प्रस्तुत गरेको प्रस्तावमा सबै तहमा सभापति केही पद निर्वाचित गर्ने र बाँकी सदस्य मनोनित गर्ने प्रस्ताव राखेका छन् । ‘यसमा कस्तोलाई योग्यता पुगेको मान्ने ? पार्टी सदस्यता योग्यता पुगेको भनेको के हो ? सबै क्रियाशील सदस्यहरुबाट चुनिएका साथीहरु के अयोग्य नै भन्न खोज्नुभएको हो महामन्त्रीज्यू ?’ उक्त प्रस्तावप्रति बस्नेतको प्रश्न छ, ‘अब पार्टीले नेपाली कांग्रेसको क्रियाशील सदस्यताको व्यवस्था खारेज नै गर्न खोजेको हो ?’

प्राइमरी इलेक्सन नेपाली मौलिकतमा आधारित नभएकाले अमेरिकी व्यवस्था साभार गर्न लागिएको भन्दै उनले महामन्त्री थापालाई प्रश्न गरेका छन् । महामन्त्री थापाले प्रतिवेदनलाई निकै फूलबुट्टा पार्न खोजिएको बस्नेतले आरोप लगाएका छन् ।

विधानले परिकल्पना नगरेको विधान अधिवेशनको विषय उठाएको भनेर पनि उनले आपत्ति जनाएका छन् । ‘केही समय पछाडि हाम्रो महासमिति बैठक जहाँ हुँदैछ, त्यहाँ नै एमाले जे गर्यो, त्यही कांग्रेसले अपनाउन जरुरी छ र ?  के कांग्रेसको विधान पूर्ण असफल भएकै हो र ?’ बस्नेतले भने । प्रतिवेदन मिडियामा आएकोप्रति पनि उनले बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?