+
+

युवालाई स्वदेश फर्काउन सकिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १९:११

४ फागुन, पोखरा । युवा पलायनको पछिल्लो तथ्यांक हेर्ने हो भने दैनिक ३ हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन् । केही समयअघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ ।

विदेशबाट फर्किने र फर्किने चाहने नेपालीको संख्या पनि बढ्दो नै छ । पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा यही विषय वरिपरि रहेर ‘ब्रेन गेनः फर्केर के गर्ने ?’ भन्ने विषयमाथि छलफल भएको थियो ।

सोनिया अवालेले सहजीकरण गरेको उक्त सत्रमा प्रतिनिधि सभा सांसदसमेत रहेका स्वर्णिम वाग्ले र शृंखला खतिवडा वक्ताका रुपमा डाकिएका थिए । शिक्षाको खोजमा लामो समय परदेशमा बिताएका वाग्लेले पछिल्लो समय श्रमको खोजिमा भौतारिने स्वरुप बद्लिँदै गएको बताए ।

‘रोजगारीको अवसरको खोजीमा नेपालीहरु भौतारिँदै मुग्लान झर्ने, आर्मीमा आबद्ध हुने पूरानै हो यसको स्वरुप बदलियो । २१ औं शताब्दीमा श्रम र पूजीको अन्तरघुलन भूमण्डलीकरण चर्केको हो । क्यापिटल र लेबलको मुभमेन्ट भएको हो,’ सत्रमा वाग्लेले भने ।

समयचक्रले विकसित देशमा दक्ष जनशक्तिको आवश्यकता परेपछि नेपालीले सो अवसरलाई सदुपयोग गरेको श्रृंखला खतिवडा बताउँछिन् । अवसर देखिरहेका नेपालीले विकसित देशहरुको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको उनले बताइन् ।

‘समय चक्रले यस्तो बनायो विदेशी भूमिका युवा शक्ति, कामदारको कमी भयो विभिन्न दक्षताको चाहियो’, खतिवडाले भनिन्, ‘त्यो कारणले उनीहरुले ढोका खोल्दै गएँ । नेपालीले देखिरहेको थियो । त्यसपछि नेपालीहरु जान थाले ।’

अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई नेपाल फर्काउने रणनीति कस्तो जरुरी छ त ? अवालेको प्रश्नमा खतिवडा भन्छिन्, ‘बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन् । उनीहरु खाडी मुलुकमा गइरहेका छन् । उहाँहरुलाई नेपाल फर्काउनु हाम्रो लागि च्यालेन्ज होइन, तर फर्काइ सकेपछि कसरी नेपालमा राख्ने प्रश्न हो ।’

नयाँ सिर्जनात्मक अवसरको लागि पलायन हुने वर्गलाई रोक्नु वा फर्काउनु चुनौती रहेको खतिवडा बताउँछिन् ।

‘दक्षता बढी होला, त्यो डिग्री म्याच हुने जागिर छैन, आफनो त सुरक्षा भइहाल्यो अब आउने छोराछोरीको लागि उहाँहरु राम्रो अवसरको लागि नेपाल छोडेर जाँदै हुनुहुन्छ, उहाँहरुलाई नेपाल फर्काउनु एकदम च्यालेजिङ कुरा हो,’ उनले भनिन् ।

यी सबै समस्याको सम्बोधन गर्नका लागि ग्लोबल सिटिजन कन्सेप्ट महत्वपूर्ण रहेको विचार स्वर्णिम वाग्लेको छ । नीजि व्यवसायी वा लगानीकर्ता विदेशलाई कर्मथलो बनाएका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण सजिलो बनाउनुपर्ने विचार उनको थियो ।

‘ग्लोबल सिटिजनको कन्सेप्ट नेपाल छोडे पनि नेपाली नै हो भन्ने अवधारण ल्याउन सक्यो भने धेरै हुन्छ’, वाग्लेले भने, ‘नभनिएको होइन हरेक पञ्चवर्षीय योजनामा लगानी गर्न सहज गर्छौं भन्ने छ तर त्यो वातावरण छैन ।’

हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी शृंखलाले आफ्नो लागि नेपालमा अवसर भएकै कारण फर्किएको जिकिर गरिन् । ‘विदेशभन्दा नेपालमा मलाई अवसर भएर नै फिर्ता आएकी हुँ’, उनले भनिन्, ‘ग्लोबल एरिनामा मैले केही गर्नुछ भने नेपाललाई नै लञ्च प्याड बनाउँदा सबैभन्दा भ्यालुएबल र सुनौला अवसर थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?