+
+

संगीतमा पनि जातीय विभेद !

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १८:०७

४ फागुन, पोखरा । ‘हामी जग्गा जमिन नभएको हुनाले अरुमा भर पर्नुपर्ने अवस्था थियो । जिजुबाजेको पालादेखि नै नाचगान गरेर मागेर खान्थ्यौँ’, गायिका डिक्रा बादीले भनिन्, ‘हाम्रो कलाको सम्मान हुने कुरा त परै जाओस् गाउने र नाच्ने भनेरै सधैं हेपिइनुपर्‍यो ।’

समाजको त्यही हेपाहा नजरकै कारण अहिले त्यही नाच्ने, गाउने परम्परा नै लोप हुन लाग्दा भने बादी चिन्तित देखिइन् । पोखरामा जारी ११ औैं नेपाल लिटरेचर फेस्टिभलमा गायिका डिक्रा बादी सुनिइन्, ‘अहिले त्यही हेपाइ सहन नसकेर पुस्तौँदेखि चल्दै आएको संस्कृति मासिन लागेको छ ।’

पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन संगीतको जातशास्त्र सेसनमा डिक्राले गीत, संगीतमाथि पोखिने जातीय विभेदबारे बोलेकी हुन् । डिक्राले लोक गायक बद्री पंगेनी, डिक्रा बादी र दिलीप गायकसँग मन्थन् गरिन् ।

कुनै समय गीत गाएरै आफ्नो जीविकोपार्जन गरिरहेको समुदाय पनि अहिले समाजको तिरस्कार सहन नसकेर पलायन भइसकेको डिक्राको भनाइ थियो । उनले भनिन्, ‘मैले गाएँ, एल्बम निकालेँ, त्यसैबाट परिवार चलाउन सकेँ, छोराछोरी पढाउन सकेँ । तर, अहिलेको पुस्ता रोजगारीको लागि इन्डियातिर जाने गर्छ ।’

पहिलो देउडा एल्बम निकाल्ने गायिका डिक्राले आफैं सिकेर गाउने नाच्ने गर्दा पनि आफ्नो समुदाय सधैं हेपिइरहनु परेको गुनासो गरिन् । उनले भनिन्, ‘सिमान्तकृत समुदायको कलाकार भएर बाँच्न अझै पनि सहज छैन ।’

लामो इतिहास बोकेको गन्धर्व समुदायले त्यस्तै नियति पनि भोग्न बाध्य भएको दिलिप गायकले बताए । ‘सारंगी बजाएपछि मागिखाने गाइने भन्न थालेपछि ८० प्रतिशतले सारंगी बजाउन छोड्नुभयो’, उनले भने, ‘सबैले मागिखाने भन्दा भन्दै किन सारंगी बजाउने ?’

गन्धर्व समुदायको पहिचानसँग जोडिएको उक्त परम्परा लोपोन्मुख अवस्थामा पुगेसँगै मौलिक बाजा सारंगी नै लोप हुने अवस्थामा पुगेको गायकको भनाइ थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका दिलीप हाल आफूहरुले नै स्थापना गरेको संस्था झलकमान सारंगी पाठशालामार्फत सारंगीको पुस्तान्तरण तथा करखा, तरबार नाच जस्ता गन्धर्वका सांस्कृतिक गायन तथा नृत्यको संरक्षण अभियानमा लागेको बताए ।

केही समय अघिसम्म दोहोरी साँझमा समेत जात सोधेर मात्रै काम दिइने चलन रहेको अर्का गायक बद्रीले बताए । गाउने पेशाकै कारण आफैले अभद्र व्यवहार भोग्नु परेको अनुभव सुनाउँदै धेरै दलित समुदायका कलाकारले आफ्नो थर नै फेर्न बाध्य भएको पनि बताए ।

उनले भने, ‘त्यस्ता विभेदको प्रत्यक्षदर्शी म पनि हो । मैले धेरै विभेदका विरुद्ध गीत पनि गाएको छु । अहिले बिस्तारै कम हुँदैछ तर हटिसकेको छैन । त्यसका लागि हामीले प्रश्न सोध्नुपर्छ, अधिकार खोज्नुपर्छ ।’
जातीय, लैंगिक, वर्गीय जस्तै संगीतमा पनि विभेद हुने गरेको र त्यसलाई निर्मुल पार्न सबै कलाकारले सामूहिक रुपमा काम गर्न आफूले पनि पहल गर्ने उनले बताए ।

सामाजिक न्याय अभियन्ता शिवहरी ज्ञवाली सहजकर्ताको रुपमा रहेको सेसनमा डिक्राले देउडा ठाडी भाका, दिलीपले उनका बाबुको सिर्जना ‘फूल मायामा नभूल’ र बद्रीले ‘कला चल्यो, गला चल्यो’ लगायतका गीत गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?