+
+

मलाई मान्छेहरुले क्षेप्यास्त्र नै हान्न आएको हो कि भन्थे

डा. सीके राउत डा. सीके राउत
२०८० फागुन ६ गते १५:१५

मान्छेको छवि निर्माणमा धेरै कुराले अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो पेशाबाहेक अरुले मलाइ चिन्ने कुरा भएन । अमेरिकाबाट फर्किएर राजनीतिमा लागिसकेपछि पनि जनताले प्रत्यक्ष भेट्ने, हेर्ने मौका पाएका थिएनन् । त्योबेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो, ‘मिस्टिरियस’ छवि !

जब कोही मान्छेलाई निषेध गरिन्छ, त्यसप्रति झन् आकर्षण बढ्छ । सरकारले घरबाटै निस्किन नदिएपछि ‘यो कस्तो खतरनाक मान्छे रहेछ’ भनेर सोचिहाल्छन् । लोकतन्त्र आइसक्दा पनि किन बाहिर जान नदिएको होला भन्ने लागिहाल्छ । त्यसमाथि ‘मिसाइल इन्जिनियर’ को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि भन्ने पनि कतिपयले ठान्थे ।

पहिले नै दुई दर्जन चोटी पक्राउ परे हुँला, अस्ति भर्खर सांसद भइसकेपछि पनि धोती लगाउँदा पक्राउ परें । कतै बोल्न जाँदा पनि हातमा माइक समात्नेत्तिकै पक्राउ परिहाल्थें । यसले मान्छेहरुलाई स्वभाविक रुपमा जिज्ञासा लाग्ने भयो, ‘सीकेले के बोल्दो रहेछच ? मुखबाट आगो निकाल्छ कि क्या हो ?’ त्यतिबेला मेरो अन्तर्वार्ता लिएको भन्दै एउटा मिडियालाई स्पष्टिकरण नै सोधियो ।

मेरो त्यो रहस्यमयी पात्रको छवि कतै न कतै मिडियाले नै बनाइदिएको हो । यसमा मेरो कुनै दुखेसो चाहिँ छैन । क्रमिक रुपमा मिडियाले नै अहिले स्पेस दिँदै आएको छ । अरुले पनि सुन्न पाएका छन् । हामीसँग भएका जिज्ञासाहरु क्रमिक रुपमा स्पष्ट पार्दै गइराखेका छौं ।

म सन् २०११ मा नेपाल फर्किएँ, अमेरिकामा वैज्ञानिकको एउटा राम्रो जागिर छाडेर आउँदा त्यतिबेला स्वभाविक रुपमा प्रश्न उठ्थ्यो । ‘यो मान्छे कि नेपाल आयो, अरु मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला ! मिसाइल बोकेर आएको छ कि’ भनेर पनि प्रश्न उठ्थ्यो ।

अमेरिकाबाट किन नेपाल फर्किएको प्रश्न १३ वर्षअगाडि पनि सोधिन्थ्यो । अहिले पनि त्यही सोधिन्छ लाग्दैछ-यो प्रश्नको आयु धेरै लामो रहेछ । जबसम्म कोही पत्रकार आफैंले त्यो प्रश्न सोध्दैनन्, अरुलाई दिएको जवाफबाट सन्तुष्ट हुनुहुन्न ।

मेरो जन्म सप्तरीको गाउँमा भयो, त्यतिबेला त्यहाँ प्राथमिक विद्यालयमात्रै थियो । अहिले पनि लगभग त्यस्तै छ । मैले त्यहीं पढें । अर्को गाउँबाट १० कक्षासम्मको पढाइ सकें । त्यसपछि मात्रै बस चढेर काठमाडौं गएको हुँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभसियर पढे, त्यहीँबाट इन्जिनियरिङमा ब्याचलर गरें । त्यसपछिमात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागिर गरें ।

गरिब पृष्ठभूमिमा हुर्किएको भए पनि मेरो बुवा शिक्षक हुनुहुन्थ्यो । दाइहरु कलेजसम्म पढ्न भ्याउनुभएको थियो । त्यही भएर पनि  बच्चैदेखि मेरो मानसिकता इन्जिनियर बन्छु भन्ने थियो ।

त्यतिबेला एक हजार रुपैयाँ लिएर इन्जिनियरिङ पढ्न आएँ । काठमाडौं आउनुभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने पनि देखेको थिइनँ । कक्षामा नेपाली पढाइ हुन्थ्यो, लेख्न आए पनि बोल्न आउँदैनथ्यो ।

काठमाडौं जाने बस पनि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो । त्यही बसमा हामी काठमाडौं गयौं । त्यतिबेला बीच बाटोबाट चढ्नेहरुलाई टिकट नदिएर मुढामा बसालिन्थ्यो । त्योबला बसमा अरुले दशथरि गाली गर्थे, लात्ताले हान्थे । बस चढ्नेवित्तिकै विभेदको महसुस भयो– अहो ! यो कस्तो व्यवहार गरेको ?

कहिले ‘सामान फाल्दिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो मलाई बडो विरक्त लाग्यो । भारतमा महात्मा गान्धीमाथि भएका व्यवहारहरुको सम्झना हुन्थ्यो ।

काठमाडौंमा कक्षामा पढ्न बस्दा परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन त आइहाल्छ नि ! व्याकरणको दृष्टिले शुद्ध भए पनि बोल्नेबित्तिकै गलल्ल हाँस्थे । त्यस्तो ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो । त्यसपछि बाहिर निस्केर हनुमानढोका जान्थें, संग्रहालय जान्थें । कक्षामा जान असहज महसुस हुन्थ्यो । त्यही कारण पहिलो वर्षको नतिजा पनि राम्रो आएन ।

लिटरेचर फेस्टिभलमा सीके राउतसँग संवाद गर्दै लेखक खगेन्द्र संग्रौला ।

दोस्रो वर्षमा बुवाले नतिजा राम्रो आएन भनेपछि केही उत्तरदायित्व सम्झिएर गम्भीर भएर यिनीहरुले जति हेपे पनि हेपुन्, इग्नोर गर्छु भनेर लागें । त्यो मेरो जीवनमा एउटा संक्रमणकालीन समय थियो । त्यसपछि अर्को वर्षको पढाइमा टप गरें । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । टप गर्न थालेपछि सबैले विस्तारै माया पनि गर्न थाले । पछि इन्जिजियरिङमा भर्ना भएर त्यसमा पनि राम्रै भएर निस्किएँ ।

त्यो बेलादेखि नै म अलि राष्ट्रवादी खालको थिएँ । कविताहरु लेख्थें, प्रतियोगिताहरुमा भाग पनि लिन्थें । पुल्चोक क्याम्पसमा पहिलो वर्षमा पढ्दा एकचोटि ‘तराई–मधेश नवजागरण’ भन्ने एउटा संस्थाको सदस्यता लिन आग्रह गर्दा मैले किन सदस्यता लिनुपर्‍यो,  ‘मधेशी-पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ ।

त्यतिबेला म विद्यार्थीमात्र थिएँ, राजनीतिमा चासो थिएन । चुनावमा भोट हालेको पनि थिइनँ, खाली पढाइमा मात्रै ध्यान थियो । म क्याम्पस पढ्दैमा भारतीय अभिनेता हृतिक रोशनले नेपाललाई घृणा गर्‍यो है भनेर कतै छापियो । त्यो फैलिँदैफैलिँदै काठमाडौंसम्म आइपुग्यो । त्यहीबेला काठमाडौंमा मधेशविरोधी कार्य भए ।

काठमाडौंका मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो । काठमाडौंमा कर्फ्यूको वातावरण बन्यो । त्यतिबेला क्याम्पसमा जाडो बिदा थियो । कतिपय साथीहरु घर फर्केका थिए, मभने पढन्ते भएको हुनाले काठमाडौंमै पढ्न बसेको थिएँ । विभेदको नांगो रुप मैले त्यतिबेलै हो देखेको ।

एउटा पुलमा मलाई समातेर ‘यसलाई फाल है’ भनियो । त्यो घटनामा आर्टिटेक्चर पढ्दै गरेका एक जना नेवार साथीले गर्दा म जोगिएँ । ‘यो मधेशी होइन, कालो भए पनि नेवार हो’ भनिदिएपछि म बाँचें ।

काठमाडौंका मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो । काठमाडौंमा कर्फ्यूको वातावरण बन्यो । त्यतिबेला क्याम्पसमा जाडो बिदा थियो । कतिपय साथीहरु घर फर्केका थिए, मभने पढन्ते भएको हुनाले काठमाडौंमै पढ्न बसेको थिएँ । विभेदको नांगो रुप मैले त्यतिबेलै हो देखेको ।

त्यतिबेला काठमाडौंका मजदुरसँग नेपाली हो भने नागरिकता खोई भनिन्थ्यो । नागरिकता देखायो भने खोस्थे, त्यो मैले भोगेको छु । यो घटनापछि पहिले विभेद नगर्ने साथीहरुले पनि गाली गर्न थाले । अर्कै नजरले हेर्न थाले । त्यसपछि मेरो के अपराध छ भन्ने सोचाइ आउन थाल्यो ।

त्यतिबेला काठमाडौंमा मधेशीलाई कोठा भाडामा दिएकाहरुले पनि बाहिरबाट ताला लगाएर यहाँ कोही छैन भन्नुपर्ने स्थिति बनेको थियो । त्यसले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छ त, आखिर म को हुँ ?’ भन्ने प्रश्न आयो ।

भारतका कोही कलाकारले केही भन्यो भन्दैमा ममाथि किन आक्रमण भइरहेको छ, मेरो राष्ट्रियता के हो, मेरो पहिचान के हो ? मेरो अधिकार के हो त यो देशमा ? यस्ता प्रश्न मेरो मनमा आउँथ्यो ।

त्यतिबेलादेखि नै हो राजनीतिप्रति मेरो चासो बढ्न थालेको । त्यसपछि मैले इतिहास पढ्न थालेँ, मेरो इतिहास, मेरो पहिचान के हो भनेर खोज्न थालें । त्यहीबेला जापानमा छात्रवृत्ति पाएँ ।

‘नेपालमा जति हेपे पनि हेपुन्, विदेश गइदिउँला नि त !’ भनेर ढुक्क भएर बसेको थिएँ । जापान जाँदा प्लेन चढ्दै गर्दा प्रतिज्ञा गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो । सबै कुरा यहीं बिर्सिन्छु । त्यहाँ मैले फ्रेस लाइफ स्टार्ट गर्छु ।’

तर, जापान पुग्दा पनि उस्तै विभेद पाएँ । नेपालीको कार्यक्रम भनेको छ, हामीलाई जान नै नदिने । नेपालीको रेस्टुरेन्ट जाँदा तपाईं नेपाली  नै होइन भनिदिने । सहपाठी र प्रोफेसरका अगाडि तँ नेपाली होइन भनिदिँदा साह्रै अप्ठेरो महसुस हुन्थ्यो ।

मधेश आन्दोलनका बेला संघीयता भन्ने शब्द उतिसारो प्रयोगमा आइसकेको थिएन, राज्य पुनर्संरचना धेरै भनिन्थ्यो । तर मलाई भने राज्य पुनर्संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो । अधिकार, पहिचान र स्वायत्तताको कुरा राज्य पुनर्संरचनाबाट हुँदैन भन्ने लागेको थियो ।

म पहिले नेपाललाई जापानजस्तो बनाउनुपर्छ भन्ने सोच्थें । तर, जापान गइसकेपछि त्यहाँको लाइफस्टाइल देखेर ‘यहाँ जीवन नै छैन । ठूलाठूला भवन छन्, मान्छेमा जीवन छैन । खाना खाने फुर्सद छैन ।  दुनियाँको तीव्र गतिको रेल छ, तर, मान्छेहरु हातमा बर्गर लिएर दौडिराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन यस्तो पनि जीवन हुन्छ भनेर तुरुन्तै सोच्थेँ ।

भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुसी छैन । रेलमा निदाएर बस्नुपरेको छ । कसैको आँखामा खुशीको चमक देख्दिनथेँ । यो त हुँदै भएन भनेर बुवालाई पत्र लेखें, ‘बुवा यता राम्रो छैन ।’

०००

अमेरिकाको बोस्टनमा एउटा नेपाली संस्थाले कार्यक्रम राखेको थियो । त्यो कार्यक्रममा नेपालबाट संविधानसभा सदस्यहरु बोलाइएका थिए । संविधानसभा सदस्यहरुमा एकजना धोती लगाउने पनि हुनुहुन्थ्यो । तर, धोती लगाएकै कारण उहाँलाई कार्यक्रमबाट वञ्चित गरियो । धोती नेपालीको पहिचान होइन भनेर पस्न दिइएन ।

म त अमेरिका पुगेको त्यस्तै ३/४ महिना भएको थियो । मलाई फोन आयो, हामीलाई यस्तो दुव्र्यवहार गरियो, हामीलाई स्वागत नगर्ने ? भन्नुभयो । उहाँहरुलाई म र एकजना साथी मिलेर डिनर स्वागत गर्‍यौं । त्यति बेलासम्म म नेतालाई मन पराउँदिनथेँ । उहाँहरुले मधेश पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो । त्यसको एक महिनापछि नेपाल फर्किएँ ।

मधेश कतिको बनेको रहेछ भनेर हेर्न मेची–महाकाली यात्रा गरेँ । कमैया, बेरोजगार, किसान, भूमिहीन सबै क्षेत्रका मानिसहरुसँग कुरा गरें । कञ्चनपुरबाट फर्किने बेला थारुहरुको विस्थापित बस्तीमा छिरें, त्यो बस्तीमा छिर्दा त बुज्रुकहरु खुट्टा समातेर रुन थाले । उनीहरु घर, जग्गा बनाउने ठाउँ दिनुपर्‍यो, प्रहरी आएर कुटेको कुट्यै गरे भन्ने गुनासो गर्नुभयो ।

न म सिडिओ न प्रहरी । आदिवासी समुदायले त्यसरी खु्ट्टा समातेर रोएपछि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध भयो । अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरुले नै बनाइदेलान् । यहाँ त म आफैंले काम गर्नुपर्छ भन्ने बोध भयो ।

मेरो आफ्नै गाउँमा पनि कोही नेता आयो भने ‘तपाईंहरुलाई के चाहिन्छ ?’ भनेर सोधिन्छ, मैले पनि सोधें । उनीहरुले बाटोघाटो मागेनन् । खेतमा बोरिङको व्यवस्था गरिदिनुपर्‍यो बाबु’ भने । ‘खेतमा बाली र पेटमा अन्न पर्‍यो भने घुँडासम्म त के छातीसम्म हिलो भए पनि हिँड्न तयार छौं’, भनेर भने ।

उनीहरुको माग ठीकै थियो । त्यसपछि मैले बोरिङको लागि कोशिश गरें, लाहानको कार्यालयमा सम्पर्क गरें । अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरें । तर, मैले जे जे भने पनि गाउँमा एउटा पनि बोरिङ लैजान सकिन ।

अमेरिकामा ठूलो वैज्ञानिक हुँला, धेरै पढेको हुँदा । तर, एउटा बोरिङसम्म आफ्नो गाउँलेका लागि ल्याइदिने मेरो हैसियत रहेनछ भन्ने थाहा भयो । त्यसपछि जबसम्म म राजनीतिमा आउँदिन, तबसम्म यो प्रवृत्ति बदलिँदैन भन्ने लाग्यो ।

म अमेरिकाबाट फर्केर यो समस्या समाधान गर्छु भनेर आफैंसँग वाचा गरें । त्यसको करिब १ वर्षपछि म नेपाल फर्किएको हुँ ।

नेपाल फर्केर खुलामञ्चमा एक सार्वजनिक कार्यक्रममा भाषण गरें । तर, भाषणबाट धेरै त्रसित भए । अमेरिकाबाट हाइप्रोफाइल किन नेपाल आयो भनेर वाचलिस्टमा राखे । जहाँ जाँदा पनि जासुस लागिरह्यो । पछि विचार राख्ने क्रममा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो ।

हामी कर्णाली सबैभन्दा पिछडिएको छ भन्छौं । कर्णाली, सुदूरपश्चिम पनि विकसित हुनुपर्छ । तर, आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ । २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांक हेर्दा पनि मधेशको साक्षरता दर ६३ प्रतिशत छ, तर कर्णालीको ७६ प्रतिशत छ ।

हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नदिने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं । अब मूलधारमै आएर, संविधानभित्रै बसेर केही गरौं भनेर आएको हो ।

यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो । धेरै धरपकड गरियो । यतिसम्म कि फ्री डा सीके राउत (सीके राउतलाई रिहा गर) भन्दा जन्मकैदको मुद्दा लगाइयो । यो कस्तो खालको लोकतन्त्र हो भन्ने लाग्थ्यो । अदालत तारिख लिन जाँदा कसैले सीके राउत जिन्दावाद भन्दा पनि मुद्दा लगाइन्थ्यो ।

राजनीतिक कुरा गर्न दिएन भनेर जनकपुरमा विवाह पञ्चमीका बेला पानी खुवाउन पानी राख्यौं, पानी खुवाउने मान्छेलाई पनि समातेर मुद्दा लगाइयो ।

हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नदिने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं । अब मूलधारमै आएर, संविधानभित्रै बसेर केही गरौं भनेर आएको हो ।

म अमेरिकाबाट फर्किँदा नेपालमा संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन । तर २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो । राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो । म अमेरिकाबाट फर्किंदा र ०७५ सालको राजनीतिक अवस्था एउटै थिएन । त्यहीबेला सरकारले वार्ता टोली गठन गर्‍यो ।

हाम्रा साथी राममनोहरको हिरासतमै मृत्यु भयो । हामी त्यसलाई हत्या भन्छौं । उहाँमाथि कुनै मन्त्रीलाई कालोझण्डा देखाएको आरोप थियो । त्यसपछि हामीले सविधानले जति अधिकार दिएको छ, त्यो अधिकार पनि हामीले पाएनौं भनेर संविधान दिवसलाई कालो दिवस मनायौं । त्यसको प्रतिशोधस्वरुप मलाई पक्राउ गरेर जेलसम्म पुर्‍याइयो ।

जेल बस्दा वार्ता अगाडि बढ्न सकेन । पछि धेरै गृहकार्यपछि मात्रै वार्ता सफल भयो । सरकारसँग सहमति भएपछि पार्टी गठन गर्‍यौं । हामी मूलधारको राजनीतिमा परिवर्तन गर्न सकिन्छ भनेर आएका हौं । योभन्दा अगाडि संसदमा पुगिसीकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने लागेको थियो ।

तर, त्यहाँ गइसकेपछि बोल्न पनि पाइँदैन भनेर थाहा पाएँ । संसदमा कोसँग कति राम्रो र महत्वपूर्ण विषय छ भन्ने कुराले महत्व राख्दैन । त्यहाँ कसले कति बोल्ने भन्ने उनीहरुको सिट संख्याका आधारमा हुने रहेछ ।

(पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा डा. सीके राउतले ‘मधेश मन्थन’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश)

प्रस्तुति : विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?