+
+

पञ्चकन्या क्रसकन्ट्री दौडको उपाधि एलिसा र सुदीपलाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते २०:५१

५ फागुन, नुवाकोट । पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगितामा पञ्चकन्या गाउँपालिका–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन भएका छन् ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकालाई केन्द्रमा राखेर ‘पञ्चकन्या पर्यटन प्रवर्द्धन’ र युवालाई खेलकुदप्रति आकर्षित गर्न अ पञ्चकन्या जनकल्याण युवा समाजले शनिबार आयोजना गरेको क्रसकन्ट्री दौडअन्तर्गत महिला ११ किलोमिटर दुरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो भएकी हुन् । कविलास गाउँपालिका–२ की मेलिना पौडेल १ घन्टा २२ मिनेट २२ सेकेन्डबाट दोस्रो र पञ्चकन्या ५ की सुष्मा कार्की १ घन्टा २४ मिनेट २८ सेकेन्डबाट तेस्रो भएका थिए ।

११ किलोमिटरमै पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भयो ।  पञ्चकन्या ३ का सरिन थापा ४७ मिनेट ३३ सेकेन्डबाट दोस्रा र म्यागाङ गाउँपालिकाका वीरसिंह तामाङ ४९ मिनेट ११ सेकेन्डबाट तेस्रो भएका थिए । पञ्चकन्या ३ का भोजबहादुर कार्की चौथो र बेलकोटगढी नगरपालिकाका विमल थापामगर पाँचौं स्थानमा आए ।

महिला र पुरुष दुवैतर्फ विजेताले समान २२ हजार, दोस्रोले १६ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए । दुवैतर्फ पाँचौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

११ किमि दुरीको दौडमार्ग लाकुरीभञ्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभञ्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभञ्ज्याङमा टुंगिएको थियो ।

यस्तै पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमी दौडमा पञ्चकन्या वडा १ की सविना राईले ३४ मिनेट १३ सेकेन्डबाट छात्रातर्फ स्वर्ण जितिन् । वडा ४ की सावित्री थापा ३४ मिनेट ३१ सेकेन्डबाट दोस्रो र वडा ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डबाट तेस्रो भए । वडा ४ गौरी सुनुवार चौथो र अस्मिता तामाङ पाँचौं भए ।

सोही दुरीमा छात्रतर्फ किरण तामाङ २३ मिनेट १३ सेकेन्डबाट पहिलो भए । सुरज तामाङ २४ मिनेट २२ सेकेन्डबाट दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डबाट तेस्रो भए । वडा ४ का सुदेश तामाङ र युवराज तामाङ क्रमशः चौथो र पाँचौं स्थानमा विजयी भए । शीर्ष तीन स्थानका विजेताले क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए ।

५ किमि दुरीको दौडमार्ग लाकुरीभञ्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभञ्ज्याङ, झिँगानेटोल सोही रुट हुँदै घलेभञ्ज्याङ रहेको थियो   ।

प्रतियोगिता समापनमा नेपालका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । ७२ वर्षको उमेरमा पनि दौडका प्रतियोगिताहरूमा सहभागी भएर युवालाई दौडमा लाग्न प्रेरित गरिरहेकाले उनको खेलप्रतिको समर्पणको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले बताए । प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?