+
+

लघुवित्तको निष्क्रिय कर्जा साढे ७ प्रतिशत पुग्दा २१ संस्था नोक्सानीमा

खुद्रा कारोबार गर्ने ५४ लघुवित्तको ६ महिनाको नाफा ३१ करोडमा सीमित भएको छ । गत आव दोस्रो त्रैमासमा २ अर्ब ४२ करोड ८७ लाख नाफा कमाएकोमा चालु आवमा ८७ प्रतिशतले घटेको हो ।

विजय पराजुली विजय पराजुली
२०८० फागुन ६ गते २०:०८

६ फागुन, काठमाडौं । निष्किय कर्जा अनुपातमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्ट्याएको रकममा वृद्धि हुँदा वित्तीय विवरणमा दबाब बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो त्रैमासमा ५७ मध्ये २१ लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

थोक कारोबार गर्न तीन संस्थाको खुद नाफामा गिरावट भएको राष्ट्र बैंकले जनाएको छ । खुद्रा कर्जा कारोबार गर्ने ५४ लघुवित्तमध्ये २१ खुद नोक्सानीमा रहेको राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार चालु आव दोस्रो त्रैमासमा थोक कर्जा प्रदायक लघुवित्तको नाफा २४.५८ प्रतिशतले घटेको छ । गत आव पुस मसान्तमा ७८ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आव सोही अवधिमा ५९ करोड २५ लाख मात्रै नाफा आर्जन गरेको छ ।

यता खुद्रा कारोबार गर्ने ५४ लघुवित्तको ६ महिनाको नाफा ३१ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । गत आव दोस्रो त्रैमासमा २ अर्ब ४२ करोड ८७ लाख नाफा कमाएकोमा चालु आवमा ८७ प्रतिशतले घटेको हो ।

खुद्रा कर्जा प्रदायक लघुवित्तको खुद ब्याज आम्दानी नै २२.४० प्रतिशतले गिरावट हुँदा नाफा घटेको हो । गत आव दोस्रो त्रैमासमा ११ अर्ब २८ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेकोमा चालु आव सोही अवधिमा ९ अर्ब २१ करोड ८२ लाख मात्रै खुद ब्याज आम्दानी गरेको छ ।

निष्क्रिय कर्जामा भएको वृद्धिले कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्ट्याएको रकम बढेसँगै लघुवित्तको वित्तीय विवरणमा दबाब देखिएको हो ।

निष्क्रिय कर्जा साढे ७ प्रतिशत पुग्यो

चालु आव दोस्रो त्रैमासमा थोक कर्जा प्रदाय लघुवित्तको निष्क्रिय कर्जा केही कम भए पनि खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा करिब साढे ७ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असार तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको छ। जसमध्ये निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात् ७.४९ प्रतिशत छ ।

२०८० असार मसान्तमा निष्क्रिय कर्जा अनुपात ५.५२ प्रतिशत थियो । गत असारको तुलनामा पुसमा निष्क्रिय कर्जा वृद्धिदर ४०.७८ प्रतिशत थियो ।

२०७९ पुस मसान्तमा ४.६८ प्रतिशत रहेको निष्क्रिय कर्जा एक वर्षमा करिब २.८० प्रतिशत बिन्दुले बढेको हो । २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाले पुनर्तालिकीकरण गरेको कर्जा रकम ४२ अर्ब १७ करोड छ ।

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको छ । चालु आव दोस्रो त्रैमासमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई ५४ अर्ब ८ करोड पुगेको छ ।

उक्त कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १ अर्ब २२ करोड अर्थात् २.२५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जा अनुपात ०.७१ प्रतिशत र २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र थियो ।

६ महिनामै निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ । सक्रिय कर्जा भने ११.७१ प्रतिशतले घटेको छ । २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाले पुनर्तालिकीकरण गरेको कर्जा रकम २६ करोड छ ।

खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा अनुपात

  • २०७९ असार : २.५६ प्रतिशत
  • २०७९ पुस : ४.६८ प्रतिशत
  • २०८० असार : ५.५२ प्रतिशत
  • २०८० पुस : ७.४९ प्रतिशत

निष्क्रिय कर्जासँगै बढ्यो कर्जा नोक्सानी व्यवस्था

अर्थतन्त्रमा देखिएको शिथिलता तथा विभिन्न आन्दोलन प्रभावले कर्जा असुली प्रभावित भएर निष्क्रिय कर्जा बढ्दै गएको छ । जसले निष्क्रिय कर्जा अनुपात छोटो अवधिमा नै भारी वृद्धि भएको छ । निष्क्रिय कर्जा बढेसँगै लघुवित्त संस्थाले कर्जा जोखिममा रहेको कर्जाका लागि गरेको कर्जा नोक्सानी व्यवस्था रकम पनि बढेको छ ।

चालु आव दोस्रो त्रैमाससम्म खुद्रा कर्जा प्रदायक लघुवित्तको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भएको हो ।

२०८० पुस मसान्तमा लघुवित्तअरूको कुल कर्जा नोक्सानी व्यवस्था गत असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर २० अर्ब २२ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ३२.८९ प्रतिशतले वृद्वि भई १४ अर्ब १७ करोड पुगेको छ ।

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था पनि बढेको छ । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ७.१६ प्रतिशतले बढेर १ अर्ब ६८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ६७.८६ प्रतिशतले वृद्वि भई ७१ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले असल कर्जाका लागि १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकको कर्जा नोक्सानी व्यवस्था अनुसार सुक्ष्म निगरानी र पुनर्संरचना/पुनर्तासलकीकरण कर्जाका लागि ५ प्रतिशत तथा बीमित कर्जाका हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै सक्रिय कर्जाका लागि कुल कर्जा रकमको १.६० प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिएको छ । जुन राष्ट्र बैंकले तोकेभन्दा बढी हो ।

यस्तै राष्ट्र बैंकको निर्देशन अनुसार २०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमशः २५, ५० र १०० प्रतिशत तथा बीमित कर्जाका हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिएको छ ।

२०८० पुस मसान्तमा लघुवित्तहरूको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ६.८५ प्रतिशत देखिन्छ । साथै, निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ३.३९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् ।

२०८० पुस मसान्तसम्ममा लघुवित्तहरूले २१ अर्ब ९० करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् । उक्त रकम कुल कर्जाको ४.९८ प्रतिशत र निष्क्रिय कर्जाको ७२.७४ प्रतिशत छ ।

घट्न लागे लघुवित्तका ऋणी र सदस्य

दोहोरो ग्राहक संख्या घट्दै जाँदा लघुवित्तका ऋण र सदस्य संख्या पनि घट्न लागेको छ । चालु आव ६ महिनामा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ । गत असारमा ६० लाख १६ हजार थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणी संख्या पनि घटेको राष्ट्र बैंकले जनाएको छ । गत असारमा २९ लाख ८४ हजार रहेको कुल ऋणी संख्या २०८० पुसमा आउँदा घटेर २७ लाख ३६ हजार भएको छ ।

२०७९ असारमा ३३ लाख ३ हजार रहेको ऋणी संख्या १८ महिनामा करिब ५ लाख ६७ हजारले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

लघुवित्तका ऋणी संख्या घट्दा कर्जा लगानी पनि घट्न पुगेको देखिन्छ । २०७९ असारपछि घट्न लागेको कर्जा गत असारबाट भने पुनः सुधार देखिएको हो ।

२०७९ असारमा ३ खर्ब ९१ अर्ब ७५ करोड रहेको कुल कर्जा २०७९ पुसमा ३ खर्ब ९१ अर्ब ४४ करोड र २०८० असारमा ३ खर्ब ७१ अर्ब ९३ करोडमा झरेको थियो । चालु आव पुस आउँदा सुधार भएर ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको छ ।

यसबाहेक थोक कर्जा कारोबार गर्ने लघुवित्तको कुल कर्जा २०८० असारमा ६० अर्ब ३१ करोड रहेकोमा पुसमा घटेर ५४ अर्ब ८ करोड भएको छ ।

बैंकिङ प्रणालीमा तरलता सहज भएर ब्याजदर घटेको र अधिक तरलताले बैंकहरूले आधार दरमै थोक कर्जा दिन लागेपछि थोक कर्जा प्रवाह गर्ने लघुवित्तको लगानी घटेको हो ।

खुद्रा कारोबार गर्ने लघुवित्तको बचत र सापटी बढेको छ । २०८० असारमा १ खर्ब ६५ अर्ब २४ करोड रहेको बचत संकलन पुस मसान्त आउँदा १ खर्ब ६७ अर्ब ६४ करोड पुगेको हो । यस्तै सापटी असारमा १ खर्ब ६४ अर्ब ३५ करोड रहेकोमा पुसमा १ खर्ब ७५ अर्ब ८३ करोड पुगेको छ ।

घट्दै लघुवित्तका ऋणी

  • २०७९ असार : ३३ लाख ३ हजार
  • २०७९ पुस : ३२ लाख ६० हजार
  • २०८० असार : २९ लाख ८४ हजार
  • २०८० पुस : २७ लाख ३६ हजार

धेरै लघुवित्त संस्था नोक्सानीमा जाँदा पनि पूँजीकोषमा दबाबको अवस्था भने देखिँदैन । राष्ट्र बैंकले लघुवित्त संस्थाको प्राथमिक पूँजीकोष न्यूनतम ४ प्रतिशत र कुल पूँजीकोष न्यूनतम ८ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरेको लघुवित्त समस्या समाधान सुझाव कार्यदलले २०८५ सम्म लघुवित्त संस्थाको न्यूनतम पूँजीकोष १५ प्रतिशत पुर्‍याउन सिफारिस समेत गरेको छ ।

२०८० पुस मसान्तमा लघुवित्त संस्थाहरूको प्राथमिक पूँजीकोष ११.३२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असारमा ११.९९ प्रतिशत थियो । २०७९ पुसमा १२.२३ प्रतिशत थियो । कुल पूँजीकोष १३.३३ बाट १२.६ प्रतिशतमा झरेको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?