+
+

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते २१:४५

६ फागुन, काठमाडौं । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ ।

समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।

सिफारिस समितिले २३ पुसमा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४२ जनाले निवेदन दिएका थिए । तीमध्येबाट २५ माघमा समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो ।

विज्ञहरु प्रा.डा.चन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. सुरेशराज शर्मा समितिका सदस्यहरु शिक्षा सचिव सुरेश अधिकारी र वौद्ध अध्ययन विभाग प्रमुख चन्द्रकला घिमिरेले २९ माघ , १ र २ फागुनमा सर्टलिस्टमा परेकाहरुको अन्तर्वार्ता, व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र सोचपत्रको मूल्यांकन गरेका थिए ।

मूल्यांकनपछि उम्मेदवारको सोँचपत्र र व्यावसायिक कार्ययोजनाका प्रस्तुतिकरण मूल्यांकनको क्रममा भने समितिले फरक फरक विज्ञको सहयोग लिएको थियो । त्यसपछि सिफारिस समितिले उनीहरुको मूल्यांकनको आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो । अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन् ।

त्रिविको उपकुलपति पदका लागि कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापा सर्टलिस्टमा परेका थिए ।

कात्तिक १६ गते तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि तत्कालीन रेक्टर प्रा.डा.शिवलाल भुसालले ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका थिए । तर त्यस अवधिमा पनि उपकुलपति छनोट नसकिएपछि पुन: ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?