+
+

पोखराको महेन्द्रपुलमा पत्रिका होइन, डिजिटल बोर्डमा समाचार पढ्ने !

संयुक्त राष्ट्रसंघमा आवद्ध १९३ देशका झण्डा फहराइयो

विकास रोकामगर विकास रोकामगर
२०८० फागुन ७ गते १७:५०

७ फागुन, पोखरा । कुनैबेला पोखराका महेन्द्रपुल पत्रपत्रिकाका लागि निकै चर्चित थियो । महानगरकै एकमात्र आर्ट ग्यालरी, पुस्तकालयदेखि पोखराकै चर्चित पत्रिका पसल ‘गोरखापत्र बाजे’, जोशी पुस्तक पसलसम्म त्यहीं थिए ।

‘महेन्द्रपुल वास्तवमा भन्ने हो भने पत्रपत्रिको सेन्टर प्वाइन्ट थियो । पञ्चायतकालमा पनि बिहानै ४, ५ नबज्दै यहाँ पत्रिका पढ्न आउनेहरुके ठाउँ हो’, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सम्झन्छन्, ‘किताब किन्ने पढ्नेहरुको सेन्टर थियो, यो ।’

तर, अहिले त्यहाँ पोखरालाई ‘खबर बताउने’ त्यो ठाउँको कुनै निशान छैन । जहाँ कुनैबेला आर्ट ग्यालरी थियो । त्यहाँ महानगरले एक करोड लगानीमा सार्वजनिक शौचालय बनाएको छ । गोरखापत्र बाजे, जोशी पुस्तक पसल र पुस्तकालय त्यहाँबाट सरिसके ।

पोखराका साहित्यिक, प्राज्ञिक तथा बौद्धिक व्यक्तिहरुको जमघटले सधैं गुल्जार भइरहने त्यो महेन्द्रपुल गत भदौ २९ मा खण्डहर बन्न पुग्यो । त्यहाँका संरचना पुराना भएको र नयाँ ठाउँमा सुविधासम्पन्न पुस्तकालय, आर्ट ग्यालरी बनाउने भन्दै डोजर चलाएको थियो ।

‘४० सालभन्दा अगाडि बनेका ती संरचना निकै जीर्ण भइसकेका थिए । लामो समयदेखि बिना पिल्लर ठडिएका ती संरचना कतिबेला भत्किने हुन् भन्ने थियो’, मेयर आचार्यले भने, ‘महानगरकै आफ्नै मापदण्ड लागू गर्न पनि भत्काउनै पर्ने थियो ।’

यद्यपि त्यहाँबाट विस्थापित बनेका पुस्तकालय र आर्ट ग्यालरीको अझै टुंगो लागिसकेको छैन । कलाकारहरु आफ्नो चित्रकला प्रदर्शन गर्न होटल, रेस्टुरेन्टतिर धाइरहेका छन् । उनीहरुको आफ्नो दुखेसो छ, गुनासो छ ।

सडकको दायाँबायाँ करिब ४० को दशकमा बनेका ती संरचना भत्काइसकेपछि महानगरले अहिले त्यहाँ गैरआवसीय नेपाली संघ (एनआरएनए) को सहयोगमा सार्वजनिक शौचालय र लायन्स क्लबको सहयोगमा झण्डा पार्क बनाएको छ ।

पार्कमा संयुक्त राष्ट्र संघमा आवद्ध १९३ देशका सहित पोखरा महानगर, लायन्स क्लब, एनआरएन गरेर कूल १९८ वटा झण्डा राखेको छ । महानगरले उक्त पार्क बनाउन ७० लाख भन्दा बढी खर्च भएको उक्त सबै खर्च क्लबले नै व्यहोर्ने महानगरले जनाएको छ ।

‘यूएनमा आवद्ध भएका सबै राष्ट्रका झण्डा भएका पार्क यहाँमात्रै छ । यस्तो अरु कुनैपनि देशमा छैन’, सोमबार त्यही झण्डा पार्कको उद्घाटन गर्दैै मेयर आचार्यले भने, ‘अब विदेशबाट आउने पर्यटकले आफ्नो देशको झण्डा हेरेर गौरव गर्नेछन् । पोखराको पर्यटन प्रचारप्रसारमा सहयोग पुग्नेछ ।’

मेयर आचार्यले झण्डा पार्कमा यूएनमा कुन राष्ट्र कहिले आवद्ध भएको मिति, महादेशसहित जानकारी राखिएको जानकारी दिए । ‘अब पोखराका स्कुलमा पढ्ने विद्यार्थीले यहाँ आएर देश, देशका झण्डाबारे विस्तृत रुपमै थाहा पाउनेछन्’, उनले भने । पार्क करिब २ रोपनी क्षेत्रफलमा बनेको छ ।

आचार्यकै भनाइलाई आधार मान्ने हो भने, महेन्द्रपुलमा आर्टग्यालरी र पुस्तकालय भत्काएर पार्क बनाउनु नै उत्तम उपाय थियो । महेन्द्रपुलको खुला ठाउँमा ३ तिरबाट मापदण्ड लाग्ने र त्यो पूरा गर्दा ३ फिटमात्रै बाँकी हुने उनको भनाइ छ ।

‘खोला, बाटो गरेर सबै मापदण्ड पूरा गर्दा नयाँ संरचना बनाउन सम्भव नै छैन । महानगरको आफ्नै नाममा भएको जग्गा भएकाले पनि मापदण्डमा ध्यान दिनु आवश्यक नै थियो’, मेयर आचार्यले भने ।

सडकको माथिल्लो भागमा खाली रहेको भागमा नेवारी संस्कृति अनुसारको फल्चा बनाउने तयारी रहेको महानगरले जनाएको छ । ‘फाउन्टेनसहित फल्चा पार्क बनाएपछि त्यसले पनि महेन्द्रपुलको सौन्दर्य अझै बढ्नेछ’, मेयर आचार्यले भने ।

कुनैबेला पत्रपत्रिकाका लागि चर्चित बनेको महेन्द्रपुलमा ‘डिजिटल’ समाचार पढ्ने व्यवस्था गरेको छ । अब पार्कमा जानेहरुले पार्कभित्र राखिएको डिजिटल बोर्डमा आफैं आफ्नो रुचिअनुसार वेबसाइट सर्च गरेर समाचार पढ्न सकिने मेयर आचार्यले बताए ।

‘अब हामी पनि विस्तारै डिजिटलाइज्ड हुँदैछौं । यो ठाउँमा कुनैबेला बिहानै समाचार पढ्नेहरु जम्मा हुन्थे’, मेयर आचार्यले भने, ‘अहिले पनि हामी प्रकाशित हुने सबै पत्रिका यहाँ राख्छौं नै त्यसबाहेक डिजिटल रुपमा अनलाइनबाट खबर प्राप्त गर्ने सुविधा छ ।’

४ सय जना एकैसाथ अटाउने दाबी गरिएको उक्त झण्डा पार्कमा २ वटा डिजिटल बोर्ड राखिएको छ । जसमा पार्क पुग्नेहरुले आफ्नो रुचिअनुसार खबर प्राप्त गर्न सक्ने मेयर आचार्यले बताए ।

कहिले बन्छ ‘पोखरा घर’ ?

महेन्द्रपुलको आर्ट ग्यालरी र पुस्तकालयमा डोजर चलेसँगै महानगरले साविकको अस्थायी ट्राफिक कार्यालय रहेको जग्गामा सुविधासम्पन्न पोखरा घर बनाउने बताएको थियो । ग्यालरी, पुस्तकालयसहितको भवन बनाउने भन्दै ट्राफिक कार्यालय भत्काएको १ वर्ष बितिसक्दा पनि उक्त योजना पूरा हुन सकेको छैन । विकल्पबिनै आर्ट ग्यालरी र पुस्तकालय भत्काइएको भन्दै कलाप्रेमी रुष्ट छन् ।

महानगरले पोखरा घर बनाउन मंसिर ७ गते बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र माघ १३ गते खोलिनेछ । महानगरले मागेको सूचनामा ७ वटा बोलपत्रदाता प्राविधिक प्रस्तावमा छानिएका छन् । त्यसपछि पोखरा घर बनाउने प्रक्रिया अघि बढाइने मेयरले जानकारी दिए ।

‘पोखरा घर’ को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बनाउने महानगरको योजना थियो । त्यसका लागि महानगरले अघिल्लो आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन पनि गरेको थियो । तर, काम अघि बढ्न सकेन ।

महानगरले पृथ्वीचोकमा सुविधासम्पन्न पोखरा घर बनाउने योजना अन्तिम चरणमा पुगेको दाबी गरेको छ । पोखरा घर १० करोड रुपैयाँमा बनाउने महानगरको योजना छ । पृथ्वीचोकमा बन्ने भनिएको ‘पोखरा घर’को भूइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र माथिल्लो तलामा घन्टाघर बनाउने महानगरको योजना छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?