+
+

रेशम चौधरीबारे छलफलमा निर्वाचन आयोग

रेशम चौधरी भन्छन्, ‘मेरो राजनीतिक दलको सम्बन्धमा कुनै कानुनी अड्चन छैन, कानुनको किताब पल्टाउँदा नैतिक पतन हुनेमा मविरुद्धको मुद्दा पर्दैन ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० फागुन ७ गते १९:०१

७ फागुन, काठमाडौं । रेशम चौधरी राजनीतिक दलको सदस्य हुन योग्य रहेको वा नरहेको भन्ने विषय निर्वाचन आयोगमा पुगेको छ ।

अदालतबाट हत्या मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका बेला रेशम चौधरीले गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी पाएका थिए ।

हत्या मुद्दामा दोषी ठहर व्यक्ति राजनीतिक दलको सदस्य वा पदाधिकारी रहन नमिल्ने कानुनी व्यवस्था छ । तर राष्ट्रपतिबाट माफी पाएका व्यक्तिको हकमा कानुनी हैसियत के हुन्छ भन्ने विषयमा सार्वजनिक रुपमा समेत चासो प्रकट भइरहेका बेला आयोग यही विषयमाथिको छलफलमा जुटेको हो ।

जेलबाट छुटेपछि राजनीतिक सक्रियता बढाएका चौधरीले आफ्नै सक्रियतामा खुलेको नागरिक उन्मक्ति पार्टी (नाउपा) को २७ पुसमा कैलालीमा महाधिवेशन गरेर आफैं अध्यक्ष निर्वाचित भए । महाधिवेशनबाट अध्यक्षमा चौधरी सहितका पदाधिकारी चयन भएअनुसार दलको अभिलेख अद्यावधिक गरिदिनका लागि नाउपाले गत २९ माघमा निर्वाचन आयोगमा निवेदन दिएको छ ।

चौधरी नाउपाको अध्यक्ष भएको औपचारिक जानकारी पाएपछि आयोगका अधिकारीहरुले अनौपचारिक रुपमा सरकारसँग सुझाव लिएका छन् । उक्त दलको अभिलेख अद्यावधिक गर्नुअघि सरकारको बुझाइ मागिएको हो ।

आयोगमा रेशम चौधरीविरुद्ध दुई वटा उजुरी पनि परेको छ । उजुरीमा ‘हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएको व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी बन्न नपाउने’ जिकिर गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चौधरीको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै आयोगमा उजुरी परेको पुष्टि गरे ।

निर्वाचन आयोगका पदाधिकारीहरुका अनुसार दलको अखिलेख अद्यावधिक गर्नु अगाडि प्राप्त उजुरीहरुको अध्ययन हुनेछ ।

आयोगमा हाल १२० वटा दल दर्ता छन् । ती दलका पदाधिकारीहरुले आयोगमा दल दर्ता वा अद्यावधिकका लागि निवेदन दिँदा आफू योग्य रहेको स्वघोषणा गर्छन् । त्यस आधारमा आयोगले दल दर्ता वा विवरण अद्यावधिक गर्ने गर्दछ ।

तर, उजुरी परेको अवस्थामा आयोगले छानबिन गर्ने गरेको छ ।

चौधरीका बारेमा उजुरीका साथसाथै सार्वजनिक मञ्चमा समेत प्रश्न उठिरहेका कारण उनलाई नाउपाको अध्यक्षका रुपमा अद्यावधिक गर्नुअघि आयोगले जाँचबुझ गर्ने भएको हो । आयोगका आयुक्त सगुन शम्सेर जबरा भन्छन्, ‘नाउपाको अखिलेख अद्यावधिकका लागि आएको निवेदनउपर आयोग छलफलमा छ ।’

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १४ मा राजनीतिक दलको सदस्य हुने योग्यता सम्बन्धी व्यवस्था छ । जसअनुसार कुनै पनि राजनीतिक दलको सदस्य नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्छ ।

रेशम चौधरीको हकमा यो व्यवस्था आकर्षित हुने वा नहुनेबारे अब निर्वाचन आयोगले व्याख्या गर्नेछ ।

पदाधिकारी हेरफेरको सम्बन्धमा आयोगले जाँचबुझ गर्न सक्ने व्यवस्था राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ मा छ ।

‘…आयोगले त्यस्तो परिवर्तन, संशोधन वा हेरफेर संविधान, ऐन, यस नियमावली तथा दलको विधान बमोजिम भए नभएको र सो सम्बन्धमा आधिकारिक निर्णय भए नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ’, नियमावलीको नियम २५ (२) मा भनिएको छ ।

जाँचबुझ गर्दा परिवर्तन, संशोधन वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने निष्कर्षमा आयोग पुगेको खण्डमा नाउपाको अखिलेख अद्यावधिक हुने छैन ।

यस्तो अवस्थामा आयोगले अखिलेख अद्यावधिक हुन नसक्ने कारण खुलाई सुधारसहितको विवरण पेश गर्न थप सात दिनको समय दिनुपर्ने हुन्छ ।

पुनः प्राप्त विवरणमा आयोग त्यसमा सन्तुष्ट भए अभिलेख अद्यावधिक हुन्छ । आयोग सन्तुष्ट नभए त्यस्तो दलको अभिलेख अद्यावधिक हुँदैन र पदाधिकारी हेरफेर वा अन्य प्रकारको हेरफेर र संशोधनले मान्यता पाउँदैन ।

तर, रेशम चौधरी आफू र आफ्नो पार्टीको सन्दर्भमा कुनै कानुनी प्रश्न नरहेको बताउँछन् । ‘मेरो राजनीतिक दलको सम्बन्धमा कुनै कानुनी अड्चन छैन’ उनी थप्छन्, ‘कानुनको किताब पल्टाउँदा नैतिक पतन हुनेमा म विरुद्धको मुद्दा पर्दैन ।’

आफू विरुद्ध निर्वाचन आयोगमा परेको उजुरीकै कानुनी हौसियत नपुग्ने चौधरीको जिकिर छ । उनी प्रश्न गर्छन्, ‘हाम्रो दलको अभिलेख अद्यावधिकका लागि निवेदन नपुग्दै आयोगमा उजुरी परेको रहेछ । त्यस्तो उजुरी कसरी स्वीकार्ने ?’

चौधरी जेलमै रहेका बेला श्रेष्ठको पहलमा नाउपा आयोगमा दर्ता भएको थियो । ३ फागुन २०७८ मा निर्वाचन आयोगमा दर्ता हुँदा पार्टी अध्यक्षमा रञ्जिता श्रेष्ठ थिइन् । महधिवेशनले चौधरीलाई अध्यक्ष चयन गरेपछि संस्थापक अध्यक्ष श्रेष्ठ सहअध्यक्षमा मनोनित भएकी छन् । चौधरी र श्रेष्ठ श्रीमान् श्रीमती हुन् ।

नाउपाले ४ मंसिरमा सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लडेको थियो । उक्त चुनावपछि नाउपा ४ सिट सहित संघीय संसदमा छ । नाउपाकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री छन् ।

नाउपाका मधेश प्रदेशमा एक, लुम्बिनी प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जना प्रदेश सभा सदस्य छन् ।

रेशम चौधरी आफैं पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । तर, हत्या अभियोगमा जेल बसिरहेको व्यक्ति भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदियो । रेशम चौधरी उम्मेदवार रहेको क्षेत्रमा उनकै बुबा लालवीर चौधरी स्वतन्त्र उम्मेदवार थिए । लालवीर चुनाव जितेर प्रतिनिधि सभामा छन् र उनले नागरिक उन्मुक्ति पार्टी रोजिसकेका छन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने रेशम चौधरी कैलाली कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । जेलमा रहेका कारण उनले अन्य सांसदहरुसँगै शपथ लिन पाएनन् । तर, पछि निर्वाचन सम्पन्न भएको १३ महिनापछि चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले चौधरीलाई १९ पुस २०७५ मा सिंहदरबारमा पद तथा गोपनीयताको शपथ खुवाएका थिए । त्यसबेला डिल्लीबजारस्थित सदर खोरमा थुनामा रहेका चौधरीलाई सिंहदरबार ल्याएर शपथ गराई, सांसदको लोगोसहित पुनः कारागार पठाइएको थियो ।

८ वर्ष जेल बसिसकेका चौधरीलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले माफी दिएपछि जेलमुक्त भएका हुन् । जेलमुक्त भएपछि रेशम चौधरी राजनीतिमा सक्रिय भएका हुन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?