+
+

घाटामा रहेका समाज लघुवित्त र बोटलर्स नेपालको सेयर मूल्य दैनिक १० प्रतिशत वृद्धि

बजार बढोस् वा घटोस् यी दुई कम्पनीको मूल्यमा केही महिनादेखि कुनै असर परेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ८:५०

९ फागुन, काठमाडौं । सेयर बजार घट्दा पनि दुई कम्पनीको मूल्य केही महिनादेखि नै दैनिक १० प्रतिशतका दरले बढ्दै गइरहेको छ । बजार बढोस् वा घटोस् यी दुई कम्पनीको मूल्यमा केही महिनादेखि कुनै असर परेको छैन । ती हुन् समाज लघुवित्त र बोटलर्स नेपाल ।

समाज लघुवित्तको १ साउनदेखि बजारमा कारोबार सुरु भएको हो । त्यसयता कुनै पनि दिन कम्पनीको मूल्य घटेको छैन, कारोबार हुँदा मूल्य बढेकै छ । यसको पहिलो कारोबार प्रतिकित्ता ७२ रुपैयाँ १० पैसाबाट सुरु भयो । लघुवित्त कम्पनीको यति थोरै मूल्यबाट कारोबार सुरु हुनु अस्वाभाविक थियो । सूचीकृत भएको सात महिनापछि मंगलबार कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ७ सय ९८ रुपैयाँ ७० पैसा पुगेको छ । मंगलबार पनि कम्पनीको मूल्य १० प्रतिशत बढेको हो ।

त्यस्तै दैनिक १० प्रतिशत बढेको बोटलर्स नेपाल बालाजुको २२ साउनयता थोरै संख्यामा कारोबार भइरहेको छ । यसको कारोबार हुँदा १०–१० कित्ताका दरले दिनमा जम्मा ५–६ पटक अर्थात् कुल ५०/६० कित्ता मात्रै कारोबार हुने गरेको छ । यद्यपि, साउन २२ यता पनि कम्पनीको नियमित कारोबार भएको छैन । तर, कारोबार भएका दिन मूल्य भने १० प्रतिशत नै बढेको छ । मंगलबार पनि १० प्रतिशत बढेर प्रतिकित्ता ११ हजार २ सय ६७ रुपैयाँ १० पैसा मूल्य पुग्यो ।

यी दुई कम्पनीको मूल्य स्वाभाविक हो वा अस्वभाविक भन्ने विषय लगानीकर्ता आफैंले वित्तीय स्थिति केलाएर मूल्यांकन गर्ने विषय हो । केहीलाई जोखिम लाग्ला केहीलाई फाइदाको आश । बजार घट्दा पनि दैनिक १० प्रतिशत मूल्य बढेका यी कम्पनीको वित्तीय स्थितिबारे कतिपयलाई जानकारी नहुन सक्छ । संयोगवश सार्वजनिक भएको अपरिष्कृत दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार दुवै कम्पनी नोक्सानीमा छन् । कम्पनीको वित्तीय स्थितिले हालको मूल्यलाई ‘सपोर्ट’ गर्दैन ।

कस्तो छ समाज लघुवित्तको वित्तीय स्थिति ?

साउनदेखि पुस मसान्तसम्म ६ महिनामा कम्पनी १६ लाख ७० हजार नोक्सानीमा छ । जबकि, गत वर्ष यसै अवधिमा कम्पनी ७५ लाख ८२ हजार खुद नाफामा थियो ।कम्पनीको नोक्सानी पहिलो त्रैमासको तुलनामा भने घटेको छ । पहिलो त्रैमासमा कम्पनी ३३ लाख ७७ हजार रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ३१ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ९८ रुपैयाँ २६ पैसा छ ।

कम्पनीको मुख्य बिजनेस नै घटेको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ करोड ८० लाख रुपैयाँ कुल ब्याज आम्दानी गरेको छ, जबकि गत वर्षको यसै अवधिमा ५ करोड ७८ लाख रुपैयाँ थियो । कुल कर्जामा कम्पनीको निष्क्रिय कर्जा ४.०१ प्रतिशत छ । यस्तो कर्जा ठूलो दरमा बढेको छ । गत वर्षको यसै अवधिमा जम्मा ०.०९ प्रतिशत थियो । यो कम्पनीले यसअघि लगानीकर्तालाई १४ दशमलव २५ प्रतिशत बोनस सेयर दिएको थियो ।

नोक्सानमा रहेको समाजको मूल्य किन बढ्यो ?

कम्पनीको कारोबारमा आउने सूचीकृत सेयर संख्या निकै न्यून छ । कम्पनीको कुल ९८ हजार २ सय ५५ कित्ता सेयर मात्रै सर्वसाधारण समूहमा जारी भएको हो । यही सेयर मात्रै कारोबारमा आउन सक्छ । तर, कारोबारमा आउन योग्यमध्ये पनि धेरै सेयर आउँदैन । मंगलबार जम्मा १० हजार ८४ कित्ता मात्रै कारोबार भयो ।

कारोबारमा आउने सेयर संख्या न्यून हुनुले पनि लगानीकर्ता मूल्य बढाएर बेच्न पाइने आशमा यस कम्पनीमा आकर्षित देखिएका छन् । अर्कातर्फ, महिनौदेखि मूल्य बढिरहेकाले लगानीकर्तामा यो कम्पनीको मूल्य बढिरहन्छ भन्ने मनोभाव बनेको छ ।

तर, कम्पनीको वित्तीय स्थितिलाई हालको मूल्यले सपोर्ट गर्दैन । जुनसुकै बेला कम्पनीको मूल्यमा असर पर्न सक्छ । कम्पनीको सेयरका लागि माग पनि बलियो देखिँदैन । साढे २ बजे ‘मार्केट डेप्थ’ हेर्दा खरिदका लागि कुल कित्ता माग २ हजार ५ सय ६५ मात्रै देखिन्थ्यो ।

त्यति सेयरको आपूर्ति समेत हुन सकेको छैन । अर्कातर्फ, कम्पनीको सेयर थोरै कित्ताका दरले मात्रै बिक्रीमा आउने गरेको छ ।

कस्तो छ बोटलर्स नेपाल बालाजु ?

बोटलर्स नेपाल बालाजु पनि चालू आव दोस्रो त्रैमासमा १५ करोड १५ लाख रुपैयाँ नोक्सानीमा गएको छ । गत वर्ष यस अवधिमा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा थियो । यसको पनि बिक्री आम्दानी घटेको छ भने वित्तीय लागत बढेको छ ।

दोस्रो त्रैमासमा बिक्री आम्दानी ४ अर्ब ५८ करोड रुपैयाँ छ । गत आव यसै अवधिमा यस्तो आम्दानी ५ अर्ब १९ करोड थियो । आम्दानी घट्दा वित्तीय लागत भने दोब्बर भएको छ ।

गत आव दोस्रो त्रैमासमा ७ करोड ४२ लाख रुपैयाँ वित्तीय खर्च थियो भने अहिले १५ करोड ४९ लाख रुपैयाँ छ । कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १ सय ४९ रुपैयाँ ऋणात्मक छ । दोस्रो त्रैमासमा कम्पनीको वित्तीय स्थिति खस्किए पनि कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार १ सय २० रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा यसको मूल्य प्रतिकित्ता ९ हजार ३ सय ११ रुपैयाँ छ ।

किन बढिरहेको छ बोटलर्स नेपालको मूल्य ?

विगतका वर्षमा लामो समयसम्म यस कम्पनीको कारोबार नै नहुँदा गत मंसिरसम्म पनि कम्पनीको मूल्य प्रतिसेयर नेटवर्थभन्दा तल थियो, जसले गर्दा मूल्य बढ्नु वा बढाइनु पनि स्वाभाविक थियो ।

प्रतिसेयर नेटवर्थभन्दा ३ गुणा अधिकसम्मको मूल्यलाई सामान्य मानिन्छ । यस कम्पनीको पनि बजारमा सूचीकृत सेयर संख्या न्यून छ । कुल ४ लाख ८७ हजार २ सय २१ कित्ता साधारण सेयर सूचीकृत छ भने १४ लाख ६१ हजार ६ सय ६६ कित्ता सेयर संस्थापक समूहको छ ।

यस कम्पनीको सेयर आपूर्ति नै हुँदैन, मूल्य बढाउनका लागि मात्रै ५० कित्ता कारोबारमा ल्याइने गरेको देखिन्छ । मंगलबार १०–१० कित्ताका दरले ५ पटक ५० कित्ता मात्रै सेयर कारोबार भयो ।

एउटा कारोबारमा २ प्रतिशतभन्दा धेरैले मूल्य घटबढ नहुने भएकाले १० प्रतिशत मूल्य बढ्नका लागि कम्तीमा ५ कारोबार हुनैपर्छ । कारोबारको स्थिति हेर्दा १० प्रतिशत मूल्य बढाउनकै लागि कारोबार भएको देखिन्छ । मंगलबार १०–१० कित्ताका दरले १७ नम्बर ब्रोकरमार्फत ५ पटक सेयर बिक्री गरिएको छ ।

कम्पनीको मंगलबारको कारोबार फ्लोरसिट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?