+
+

दुई सातामै बोटलर्स नेपाल बालाजुको सेयर मूल्य अढाइ गुणा बढ्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १६:४४

९ पुस, काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल बालाजुको सेयर मूल्य पछिल्ला २ सातादेखि दैनिक १० प्रतिशतले बढिरहेको छ ।

मंसिर २४ गते कारोबार खुल्दा बोटलर्स नेपाल बालाजुको सेयर मूल्य प्रतिकित्ता २४५३ रुपैयाँ थियो । दुई सातापछि अहिले यो कम्पनीको मूल्य प्रतिकित्ता ६३६२ रुपैयाँ ५० पैसा पुगेको छ । अर्थात् २‍.५ गुणा बढेको छ । कम्पनीको यो मूल्य हालसम्मकै उच्च हो । यो दुई साताको अवधिमा कम्पनीको मूल्य १५९ प्रतिशत बढेको छ । यो बढ्ने क्रममा निरन्तरता छ ।

दैनिक १० प्रतिशत मूल्य बढे पनि यो कम्पनीको सेयर खरिद गर्न चाहनेले सेयर पाउँदैनन् । खरिदका लागि दैनिक १० हजार बढी कित्ता सेयर माग हुँदा कारोबार जम्मा ५० कित्तामा सीमित हुने गरेको छ । हिजो आइतबार कम्पनीको सेयरमा १०/१० कित्ताका दरले ५ पटक कुल ५० कित्ता मात्रै कारोबार भयो ।

दैनिक १० प्रतिशत मूल्य बढ्न कम्तीमा ५ पटक कारोबार हुनुपर्ने बाध्यकारी व्यवस्था छ । एक पटकको कारोबारमा २ प्रतिशतका दरले मात्रै मूल्य बढ्ने वा घट्ने व्यवस्था रहेकाले १० प्रतिशत मूल्य बढ्नलाई ५ पटक कारोबार हुनुपर्छ । कारोबारका लागि न्यूनतम सेयर संख्या १० कित्ता हुनुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाका कारण बोटलर्स नेपाल बालाजुको दैनिक ५ पटक १०–१० कित्ताका दरले कारोबार भएको छ । आइतबार ब्रोकर नम्बर १७ मार्फत कम्पनीको ५० कित्ता सेयर बिक्री भएको देखिन्छ भने ब्रोकर नम्बर ५४ मार्फत २०, ४८ मार्फत २० र ४ नम्बरमार्फत १० कित्ता सेयर खरिद भएको छ ।

कम्पनीको आइतबारको कारोबार 

बलियो वित्तीय स्थिति र आपूर्ति कम हुँदा बढिरहेछ मूल्य

लामो समयपछि थोरै कित्ताका दरले भए पनि दोस्रो बजारमा कम्पनीको कारोबार गराइएको छ । दुई सातामै १५९ प्रतिशतले कम्पनीको मूल्य बढ्दा पनि यो मूल्यमा बिक्री गर्नेहरु प्रायः छैनन् । खरिद मागको तुलनामा सेयर आपूर्ति नै नभएपछि स्वतः मूल्य बढ्छ । आपूर्ति नआउनुमा पनि केही कारण देखिन्छन् । एउटा हो– सूचीकृत सेयर संख्या ज्यादै न्यून हुनु । बजारमा कम्पनीको सूचीकृत सेयर संख्या जम्मा १९ लाख ४८ हजार ८८७ कित्ता मात्रै हो ।

त्यस्तै दोस्रो कारण हो– मजबुत वित्तीय स्थितिका बाबजुत न्यून मूल्य । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १९१ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ३ हजार २२४ रुपैयाँ छ ।

यद्यपि कम्पनीको बिक्री आम्दानी भने केही खस्किएको छ । तीन महिना साउन, भदौ र असोजमा कम्पनीको कुल बिक्री आम्दानी ३ अर्ब २६ करोड रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ४ अर्ब १ करोड रुपैयाँ थियो ।

बिक्री आम्दानीमै संकुचन आएपछि खुद नाफा पनि घटेको छ । पहिलो त्रैमासिक अवधिमा कम्पनीले खुद १० करोड ५३ लाख कमाएको छ । गत वर्षको सोही अवधिमा ४० करोड १५ लाख रुपैयाँ थियो ।

बोटलर्स नेपाल तराईसँग तुलना :

नेपालमा बोटलर्सका दुई प्लान्ट सञ्चालनमा छन् । काठमाडौंस्थित बालाजुमा रहेको प्लान्ट बोटलर्स नेपाल बालाजु कम्पनीद्वारा सञ्चालित छ भने चितवनको भरतपुरमा रहेको प्लान्ट बोटलर्स नेपाल तराई कम्पनीद्वारा सञ्चालित छ ।

तराईको सेयर मूल्य अहिले प्रतिकित्ता १३ हजार ९९ रुपैयाँ पुगेको छ । यी दुबै सहकम्पनी तराई र बालाजुको प्रतिसेयर नेटवर्थमा पनि ठूलो अन्तर छैन । बालाजुको प्रतिसेयर नेटवर्थ ३ हजार २२४ रुपैयाँ रहँदा तराईको प्रतिसेयर नेटवर्थ ३ हजार ३४० रुपैयाँ छ ।

तर बजारमा सूचीकृत सेयर संख्या तराईको अझ कम १२ लाख १० हजार मात्रै छ । जसले गर्दा तराईको प्रतिसेयर आम्दानी ४३९ रुपैयाँ छ । लाभांश वितरणमा पनि बोटलर्स नेपाल तराई अगाडि देखिन्छ । बालाजुले यो वर्ष सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरिसकेको छ भने तराईले प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ।

गत वर्ष बालाजुले प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश दिएको थियो भने तराईले प्रतिकित्ता ६० रुपैयाँ नै लाभांश दिएको थियो । त्यसअघिका तीन वर्ष भने दुवै कम्पनीले लाभांश दिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?