+
+

कार्यसम्पादनमा प्रदेश र स्थानीय तहको नतिजा कमजोर

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा प्रदेश र स्थानीय सरकारको नतिजा कमजोर देखिएको छ । उनीहरुले पाएको अंक हेर्दा कोशी सबैभन्दा अगाडि र लुम्बिनी सबैभन्दा पछाडि छन् । महानगरहरुमा भरतपुरको अंक धेरै छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० फागुन ९ गते २१:२३

९ फागुन, काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८०को प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा कमजोर देखिएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार सबैजसो प्रदेश र स्थानीय तहको नतिजा कमजोर देखिएको हो ।

आगामी आव २०८१-८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्यांकन गरेको छ ।

आयोगको मूल्यांकनमा सबैभन्दा धेरै अंक कोशीले र सबैभन्दा कम अंक लुम्बिनी प्रदेशले पाएका छन् ।

सबैभन्दा धेरै अंक ल्याउने कोशी प्रदेशको अंक ३०.८९ मात्रै छ । दोस्रो स्थानमा रहेको बाग्मतीले २७.२९, गण्डकीले २३.०७, मधेशले २२.३१, सुदूरपश्चिमले २१.०८, कर्णालीले २०.९८ र लुम्बिनीले १६.९९ अंक मात्रै पाएको छ ।

आव २०७८/७९ को लेखापरीक्षणबाट औंल्याएको बेरुजु, प्रदेश सरकारको आ.व २०७९-८० को विनियोजित रकम अनुसार खर्च, आव २०७९-८० मा प्रदेशले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन, आव २०७९-८० को प्रदेश तहको वायुको गुणस्तर सूचकाङ्क, आव २०७९/८० मा व्यवस्थित वनले ढाकेको क्षेत्रफलमा भएको वृद्धिको अवस्थालाई आधार बनाएर यस्तो अंक दिइन्छ ।

प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान प्रदान गरे/नगरेको र आव २०७९-८० मा सवारी साधन कर वापत बाँडफाँट गरिएको ४० प्रतिशत रकम प्रदेश सरकारले मासिक रुपमा सम्बन्धित स्थानीय संचित कोषमा जम्मा गरे/नगरेको पनि हेरिन्छ ।

प्रदेश सरकारले आव २०७९/८० मा स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानिकरण अनुदानको अनुमानित विवरण स्थानीय तहलाई चैत्र मसान्तभित्र उपलब्ध गराएको वा नगराएको, प्रदेश सरकारले आव २०८१-८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७९ पुस मसान्तभित्र संघीय अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, प्रदेश सरकारले आव २०७९/८० को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी त्यसको विवरण २०७९ कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको पक्ष पनि मूल्यांकन गरिन्छ ।

कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार आव २०७९-८० मा कुनैपनि प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान दिएनन् ।

यस्तै आव २०७९-८० मा सवारी साधन कर वापत बाँडफाँट गरिएको ४० प्रतिशत रकम कुनै प्रदेश सरकारले मासिक रुपमा सम्बन्धित स्थानीय संचित कोषमा जम्मा पनि गरेनन् । आव २०७९-८० मा व्यवस्थित वनले ढाकेको क्षेत्रफल बढाउन सुदूरपश्चिम कोशी प्रदेशबाहेक अन्य सफल भएनन् । सोही सूचकमा पाएको ५ अंकका कारण कोशी कार्यसम्पादनमा बाग्मतीभन्दा अघि भएको हो ।

काठमाडौंभन्दा भरतपुर अगाडि

कार्यसम्पादन मूल्यांकनमा स्थानीय तहको नतिजा पनि निराशाजनक छ । १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा धेरैजसो स्थानीय तहरु ३० अंक घटाउन पनि असफल छन् ।

स्थानीय तहमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६१.८१ अंकसहित पहिलो भएको छ भने चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंकसहित दोस्रो भएको छ । गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंकसहित चौँथो र सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अंकसहित पाचौं भएको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंकसहित छैठौं, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अंकसहित सातौं, गुल्मीको रेसुंगा नगरपालिका ५०.०३ अंकसहित आठौं, सिन्धुपाल्चोककै पाँचपोखरी थांपाल गाउँपालिका ४९.३६ अंकसहित नवौं र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंकसहित दशौं स्थानमा पर्न सफल भएका छन् ।

स्थानीय तहमध्ये महानगरपालिकामा सबैभन्दा धेरै अंक भरतपुर महानगरपालिकाले ल्याएको छ । भरतपुरले ५६.२९ अंक ल्याएको छ भने काठमाडौंले ३९.०२, वीरगञ्जले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८, पोखरा २०.७४ अंक पाएको छ ।

१० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएकोलगायतका आधारमा मूल्याकंन गरिन्छ ।

स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले समेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे÷नगरेकोजस्ता आधारमा पनि अंक दिइन्छ ।

आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग लगायतका पक्ष पनि हेरिन्छ ।

स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको पनि मूल्यांकन हुन्छ । स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखिएको छ । यस्ता सूचकहरुमा गरिएको मूल्यांकनका आधारमा धेरै स्थानीय तहको प्राप्तांक ५० भन्दा कम छ ।

वित्त आयोगका नीति विश्लेषण तथा व्यवस्थापन महाशाखाका उपसचिव नारायणप्रसाद अधिकारी प्रारम्भिक रुपमा प्रकाशित नतिजामा प्रदशे र स्थानीय तहको गुनासो सुनेर केही दिनमै अन्तिम नतिजा सार्वजनिक हुने बताउँछन् । ‘यो अन्तिम नतिजा हैन, कुनै प्रदेश र स्थानीय तहले यसमा दिएको अंकमा केही प्रतिक्रिया दिएर त्यसको उचित सुनुवाइ गरेर अन्तिम नतिजा सार्वजनिक गर्छौं,’ उनले भने ।

यस्तो छ नतिजा

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?