+
+
नवनियुक्त उपकुलपतिसँग वार्ताः :

‘त्रिविको गुणस्तर सुधार्नेबाहेक मसँग अर्को विकल्प छैन’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १९:५२

१० फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपतिमा प्रा. डा. केशरजंग बराललाई नियुक्त गरेका छन् । पोखरामा रहेका बराल उपकुलपति नियुक्त भएको जानकारी पाएपछि काठमाडौं आएका छन् ।

उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री अशोक राईको नेतृत्वमा गठित समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । उनीहरु तीन जनामध्ये दोस्रो नम्बरमा रहेका बराललाई त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन् ।

दरखास्त आह्वान गरेर उपकुलपति छनोट गर्ने विधिमाथि नै कतिपयले प्रश्न उठाए भने कतिपयले फेरि भागवण्डाकै आधारमा नियुक्ति गरेको भनेर आलोचना गरे ।

केही आलोचना र केही आरोपका बीच उपकुलपति नियुक्त भएका बरालसँग अनलाइनखबरका लागि नुनुता राईले गरेको संक्षिप्त कुराकानी :

प्रक्रियामाथि अनेकौं विवादका बीच नियुक्त हुनुभयो । तपाईं आफ्नो राजनीतिक पहुँचका कारण नियुक्त हुनुभएको हो र ?

नियुक्ति प्रक्रियामा किन विवाद भयो, त्यो त समितिले जान्ने कुरा हो । आवेदन माग भयो, मैले आवेदन दिएँ । उहाँहरूले मूल्याङ्कन गरेर सिफारिस गरेको कुरालाई मैले जवाफ दिने कुरा भएन । म एकेडेमिक (प्राज्ञिक) मानिस हुँ, राजनीतिको विषयमा धेरै बोल्न चाहन्नँ । म राजनीति गरेर हिंडेको छैन । कुलपति (प्रधानमन्त्री) ले किन (मलाई नियुक्त) गर्नुभयो भनेर पनि मैले जवाफ दिन सक्ने कुरा भएन ।

तपाईंमाथि लागिरहेको आरोपलाई कसरी चिर्नुहुन्छ ?

अहिले नै भन्न अलि सक्दिनँ । किनभने काम नै सुरु नगरी धेरै किन बोल्ने ? जिम्मेवारी इमानदार, लगनशील भएर निभाउनेछु । त्रिविको शैक्षिक गुणस्तर उकास्ने बाहेक मसँग अरू विकल्प छैन ।

मैले हासिल गरेको प्राज्ञिक ज्ञान र व्यवस्थापन अनुभवलाई कार्यान्वयन गर्छु । यी सबै कामको अनुभव राम्रैसँग छ । सबैलाई समेटेर काम गर्दा प्रतिफल दिन्छ भन्ने अनुभव छ । विदेशी विश्वविद्यालयहरू कसरी सञ्चालन हुन्छन् भन्ने पनि बुझेको छु ।

त्रिविको शैक्षिक गुणस्तर सुधार्ने के योजना छन् ?

संक्षिप्तमा भन्दा शैक्षिक पात्रो लागू गर्ने र त्यसको आधारमा समयमा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्ने र पाठ्यक्रमलाई अद्यावधिक गर्ने योजना छ । त्रिविको शैक्षिक कार्यक्रमलाई ट्रयाकमा ल्याउन शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्नुपर्नेछ । शैक्षिक सत्रलाई सुधार्ने गरी कदम चाल्नुपर्ने देखिएको छ ।

तपाईंले भन्नुभएको योजना कार्यान्वयन गर्न कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ ?

काम नै सुरु नभएकोले अहिले नै यो वा त्यो चुनौती छ भनेर भन्न सकिंदैन । जे चुनौती आउँछ चिर्दै अघि बढ्ने हो । अहिले मैले चुनौती केलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?