+
+

यातना गृहजस्तो बालसुधार गृह, सामान्य हुन थाले कुटपिट र झडप

अमृत सुवेदी अमृत सुवेदी
२०८० फागुन १२ गते १८:१२

१२ फागुन, पोखरा । खाना खान लाइन लाग्ने क्रममा सोमबार झडप भएपछि कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटस्थित बाल सुधार गृह अझै अशान्त छ । झडपमा घाइते भएका ३ जनामध्ये १ जनाको टाउकोमा गहिरो चोट लागेको छ ।

सुधार गृहमा क्याप्टेन तथा नाइकेले यातना दिँदा सुरु भएको विवाद झडप र चक्कु प्रहारसम्म पुग्यो । सोमबार खाना खान लाइन लागेका बेला गिलासको विषयमा विवाद हुँदा एक जनालाई भाटा हानिएको र त्यसको प्रतिकार गर्दा झडप भएको पाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको भनाइ छ ।

१८ वर्ष भन्दा कम उमेरका बालबालिकाको अपराधमा संलग्नता पुष्टि भएमा बाल सुधार गृहमा राखिन्छ । यस्ता बालबालिका राखिएको पोखरा सराङकोटस्थित बालसुधार गृहमा बिहीबार पुग्दा बालकहरुले आफूहरु असुरक्षित रहेको बताए र त्यहाँभित्रका अरु बग्रेल्ती समस्या पनि सुनाए । उनीहरुले यो ठाउँलाई सुधार गृह भनेपनि यातना गृहजस्तो बनेको गुनासो गरे ।

५० जना क्षमताको बाल सुधार गृहको एउटै भवनमा ९४ जना राखिएको छ । साँघुरो कोठामा तल र माथि सुत्न मिल्ने गरी २ तला बनाइएको ४ वटा फलामे खाट राखिएका छन् । त्यहाँ १६ जनासम्म सुत्ने गरेका छन् ।

‘धेरै जना एकै ठाउँमा सुत्दा समस्या छ । कुरा नमिलेर झगडा हुन्छ, ठूलो–सानो एकै ठाउँमा बस्नुपर्छ, नुहाउन पाइँदैन’, बालसुधार गृहमा रहेका एक बालकले भने, ‘घरमा एक महिनासम्म पनि फोनमा बोल्न नपाउँदा छटपटी हुन्छ । एउटामात्र फोन छ, पालै आउँदैन, टेन्सन हुन्छ ।’

एउटा तलामा एउटा मात्र शौचालय छ, ५० जनाभन्दा धेरैले प्रयोग गर्नुपर्छ । बाल सुधार गृहमा पानीको समस्या पनि उस्तै छ । ‘एक महिनामा एक पटकमात्र नुहाउन पाइन्छ । धेरैजसोलाई लुतो र खटिरा आउने समस्या छ’, सुधार गृहका अर्का बालकले भने, ‘खाना खानेबित्तिकै चर्पी जानुपर्छ, पातलो दाल र भेन्टा, मूलामात्र पाइन्छ ।’

खाना खान धेरै जना एकै ठाउँमा लाइन लाग्नुपर्ने, साँघुरो कोठामा धेरै जना सँगै सुत्नुपर्ने, ठूला तथा नाइकेहरुको दबाब सहनुपर्ने र सुधार गृह प्रशासनको लापरबाहीका कारण बेला बेला घटना हुने गरेको देखिएको छ ।

आपराधिक घटनामा संलग्नता पुष्टि हुँदा १८ वर्ष भन्दा कम उमेर रहेका बाल बिझ्याइँकर्तालाई उनको सजाय अवधि बालसुधार गृहमा नै राखिन्छ । यस्ता धेरै बालक सुधारगृहमा नै वयस्क भइसकेका हुन्छन् । उनीहरुले अरु साना बालकहरुलाई आफ्नो काबुमा राख्ने, कुटपिट गर्ने आदि गर्ने गर्छन् ।

सुधार गृहमा बाहिरबाट लागु पदार्थ पनि सजिलै प्रवेश गर्ने गरेको एक बालकले बताए । ‘क्याप्टेनलाई गेटमा चेक पनि हुँदैन । बाहिरबाट ल्याएर लागुऔषध खाने, कुटपिट गर्नेजस्ता अत्याचार भएपछि हामीले आवाज उठायौं’, एक बालकले भने, ‘हामीले पनि कति सहने ?’

बिरामी हुँदा अस्पताल लैजान गाडीको व्यवस्था नहुने र समयमा उपचार पनि नपाउने समस्या उनीहरुले सुनाए । सुधार गृहमा पेटभरि खान नपाउने र बाहिरबाट किनेर लैजान समेत नपाउने स्थिति रहेको उनीहरुको गुनासो छ ।

सुधार गृहका इनचार्ज अजय थापाले दैनिक प्रतिव्यक्ति ८० रुपैयाँ र ७ सय ग्राम चामल पर्याप्त नहुने बताए । ‘राज्यले दिने पैसा र चामल नै पर्याप्त नहुने र त्यसमा संस्थाले धेरै कुरा थप्नुपर्ने हुन्छ ।

जसका कारण उनीहरुलाई घरपरिवारमै राखेर खाएजस्तो गुणस्तरीय र पर्याप्त दिन नसकेको यथार्थ हो’ थापाले भने । पर्याप्त जनशक्ति राख्न नसकेका कारण पनि आफूहरुलाई अप्ठेरो परेको उनको भनाइ छ ।

वयस्कलाई पनि सँगै राख्दा समस्या

बाल बिझ्याइँकर्तालाई अपराध गरेछु भन्ने आभास हुन नदिई सामान्य र सहज अवस्थामा तोकिएको सजाय व्यतित गरी पुनः समाजमा घुलमिल हुन सकोस् भन्ने उद्देश्यले बालगृहमा राख्ने गरिएको हो । तर बाल सुधार गृह नै अहिले मानसिक तनाव थप्ने गृहजस्तो देखिएका छन् ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ४३ को उपधारा ४ मा बालसुधार गृहमा रहेका बालबालिकाको उमेर अठार वर्ष पुगेमा बानी व्यहोरामा आएको सुधार, आर्जन गरिरहेको सीप आदि ख्याल गरेर अन्य बालबालिकासँग अलग राख्नुपर्ने व्यवस्था छ ।

तर, १८ वर्ष नाघिसकेका व्यक्तिलाई पनि एकै ठाउँमा राख्ने गरिएको र यसकै कारण सुधारगृहमा कुटपिट र झडपका घटना हुने गरेका छन् ।
पोखराको सुधार गृहमा झडप हुँदा चक्कुसमेत प्रहार भएको थियो । यो घटनामा संलग्नहरु १८ वर्ष नाघिसकेका थिए ।

सुधार गृहबाट गत जेठमा ३ जना भागेका छन् । त्यसमध्ये २ जना पोखरा–१८ सेदीमा फेला गरेका थिए भने चोरी मुद्धामा सुधार गृहमा पुगेका १८ वर्षीय ‘गैंडाकोट’ नाम गरेका बालक अझै फरार नै छन् ।

पर्याप्त स्वास्थ्य जाँच, मनोपरामर्श, योग, ध्यान, सीप सिक्ने तथा सुधार हुने माध्यम नहुँदा बालबालिकामा मानसिक समस्या देखा पर्ने र बालअधिकार हननसमेत हुने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय प्रमुख शिव खकुरेलले बताए ।

नाबालक हुँदा सुधार गृहमा राखिए पनि बालिग भइसक्दासम्म सुधार गृहमै राख्न अदालतको आदेशका कारण समस्या भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

पोखराको बालसुधार गृहमा अहिले रहेका ९४ जनामध्ये ३८ जना त १८ वर्षभन्दा माथिका छन् । ४४ जना १६ देखि १८ वर्ष उमेर समूहका छन् १२ जना १४ र १५ वर्षका छन् ।

१८ वर्षभन्दा माथिकालाई व्यवस्थापन गर्न कठिन भएको सुधार गृहका इन्चार्ज अजय थापा क्षेत्रीले बताए ।

अझै जटिल समस्याको जोखिम

सिविन नामक गैरसरकारी संस्थाले हालै गरेको अध्ययनले देशभरिमा सञ्चालित ८ वटै सुधार गृहको कारुणिक र रुग्ण तस्वीर देखापरेको बताएको छ । बालबालिका सुधारको अपेक्षाका वावजुद उनीहरुले थप समस्या भोग्नुपर्ने अवस्था रहेको उसको निश्कर्ष छ ।

‘क्षमताभन्दा अत्याधिक बढी संख्यामा सबै उमेर समूहका बालबालिकालाई लापरवाहीर्पूक राख्ने गरिएको छ । १८ वर्षभन्दा माथिका युवाहरू समेत त्यहीँ छन् । बालसुधार गृहमा लागू औषधका दुव्र्यसनीलाई पनि सँगै राखिएको छ र त्यहाँ लागू औषधको निर्वाध ओसारपसार हुने गरेको छ’, सिविनको प्रतिवेदनमा भनिएको छ ।

देशैभरिका बालगृहमा पछिल्लो समय घटना घट्नुलाई बालबालिकाले पाएको यातना र सास्तीकै उपज भएको प्रतिवेदनमा छ ।

‘बालगृहहरूबाट सार्वजनिक भएका पछिल्ला अप्रिय घटनाहरू यिनै अव्यवस्थाका परिणतिहरू हुन्’, सिविनको प्रतिवेदनमा भनिएको छ, ‘यस अवस्थालाई समयमै सुधार गर्न सकिएन भने बाल सुधार गृहहरूमा थप जटिल समस्या वा घटना घट्नसक्ने जोखिम टड्कारो देखिन्छ ।’

देशभरकै युसेफ नेपालले सञ्चालन गरेका ४ र नेपाल सरकारले सञ्चालन गरेका ४ वटा गरी ८ वटा सुधार गृह छन् । ती सबैको अवस्था दयनिय रहेको सिविनको निश्कर्ष छ ।

सरकारलाई हाइसञ्चो

पोखरासहित देशका ४ वटा बाल सुधार गृह युसेफ नेपाल नामक गैर सरकारी संस्थाले सञ्चालन गरेको छ । ९८ जना बालबालिका रहेको पोखराको सुधार गृहमा एउटा माध्यमिक तहको स्कुल सञ्चालनमा छ र प्रधानाध्यापकसहित जम्मा २ जना शिक्षक छन् ।

सुधार गृहमा जम्मा ३ जना कर्मचारी छन् । एउटै भवनमा धेरै जनाको व्यवस्थापन गर्न नसक्दा तनाव उत्पन्न हुने र त्यसकै कारण बेला बेला घटनासमेत हुने गरेको सुधार गृहकै कर्मचारीहरु बताउँछन् ।

एक स्थानीय लक्ष्मण तिमिल्सिना सुधार गृहलाई एनजीओको जिम्मा लगाएर सरकार मौन बसेको आरोप लगाउँछन् ।

इन्सेकका गण्डकी प्रदेश प्रमुख खकुरेलले पनि सुधारगृहको खानेपानी, खानपान, रेखदेख, सुधारका कार्यक्रम र सुरक्षाको दायित्व राज्यकै भएको बताए । पछिल्लो पटक केही बालगृहमा तोडफोड र बालगृहबाटै बालकहरु हराएको विषयहरु आइरहेको र राज्यले बेलैमा ध्यान नदिए अझै घटना हुन सक्ने उनको भनाइ छ ।

बाल सुधार गृहमा व्यवस्थापन पक्षको पनि कमजोरी देखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । उनले सुधारगृहका बालबालिकाको सिदा र सुरक्षाको व्यवस्था नेपाल सरकारले ब्यहोर्ने र शिक्षादीक्षा, हेरचाह तथा आन्तरिक व्यवस्थापनको काम युसेफ नेपालले गर्ने गरेको सुनाए ।

उनले १८ वर्ष माथिकालाई छुट्टै बाल सुधार गृहमा राख्ने तयारी भइरहेको पनि बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?