+
+

जापान नेपालको विकासको सहयात्री : राष्ट्रपति पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते ११:२३

१३ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र र विकासको सहयात्री भएको बताएका छन् ।

नेपाल जाइका अलमुनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार काठमाडौंमा उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा राखेका हुन् । उनले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पुर्याएको योगदानको नेपालले सदैव उच्च मूल्यांकन गरेको बताए ।

‘मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमासमेत प्रगति भैरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्वपूर्ण रहने छन्,’ उनले भने ।

नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए ।

विगत ६ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्याउन र जापानमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालको विकासमा लगाउन एशोसियसनले गरेको योगदान सह्रानीय रहेको उल्लेख गर्दे राष्ट्रपति पौडेलले जानले ग्रामिण क्षेत्रमा जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका कामहरू गरिरहेको र यस्तो कार्यलाई थप ग्रामिण क्षेत्रमा विस्तार गर्न सुझाव पनि दिए  । उनले नेपाल–जापानबीचको मित्रतालाई अझै घनिभुत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्ने काममा यस्ता कार्यक्रमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?