+
+

खाडी मुलुकले लगाए बलिउड फिल्म ‘आर्टिकल ३७०’ लाई प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १३:३८

काठमाडौं । यामी गौतम स्टारर भारतीय फिल्म ‘आर्टिकल ३७०’ लाई मध्यपूर्वका मुलुकले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको, दर्शक र समीक्षकबाट प्रशंसा बटुलिरहेको यो फिल्मले खाडी मुलुकबाट भने धक्का खेप्नुपरेको हो ।

खाडी मुलुकमा प्रतिबन्ध लगाइँदा यसले हिन्दी फिल्मको ठूलो बजारमा प्रवेश पाउनबाट बञ्चित हुनुपरेको छ । यसले फिल्मको समुन्द्रपार व्यापारमा गिरावट आउन सक्छ । यसअघि दीपिका पादुकोण र ऋतिक रोशन स्टारर एरियल-एक्सन फिल्म ‘फाइटर’लाई पनि खाडीमा रोक लगाइएको थियो ।

‘आर्टिकल ३७०’ ले भारतीय बक्स अफिसमा पहिलो सप्ताहन्त २५ करोड भारु कमाएको छ । जम्मू-कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गर्ने नरेन्द्र मोदी सरकारको निर्णयको कथावस्तु यसमा छ । उक्त धारा खारेज गरेपछि जम्मू र कश्मीर दुई अलग राज्य मात्र बने भने यी राज्यमा राष्ट्रपतीय शासन लागू छ ।

यो फिल्ममा यामी गौतमले एक स्थानीय जासूसको भूमिका निर्वाह गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत र क्यानडामा राम्रो कमाइ गरिरहेको छ ।

पछिल्लो समय फिल्म पर्यटनमा कदम चालिरहेका र धेरै भारतीय फिल्म छायांकन हुने मध्यपूर्वमा ‘आर्टिकल ३७०’ माथिको प्रतिबन्ध भने आश्चर्यको कुरा हो । एएनआईका अनुसार यो फिल्म साउदी अरब, यूएई, कतार, ओमान र बहराइनमा प्रतिबन्ध लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?