+
+

सात महिनामा नौ नयाँ सबस्टेसन सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १८:००
फाइल तस्वीर

१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा नौ नयाँ सबस्टेसन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साउन २०८० यता विद्युत् वितरणतर्फ नौ सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो ।

प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्‍याउन र त्यहाँबाट उपभोक्तासम्म विद्युत् पुर्‍याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको जनाएको छ ।

साथै, वितरण ट्रान्सफर्म पनि जडान गरिएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरि नै वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रूपमा चलिरहेको बताए ।

विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्ति सुधार गर्न वितरण प्रणाली विस्तार र सुदृढीकरण व्यापक गरिरहेको उनको भनाइ छ ।

संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर तथा औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो बनाउन काम भइरहेको उनले बताए । गुणस्तरीय र भविष्यमा बढ्ने माग सन् २०५० को समयमीमा निर्धारण गरी उच्चस्तरको भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेसन चरणबद्ध निर्माण अगाडि बढाइसकेको समेत उनले बताए ।

घिसिङले यसका लागि अहिले सञ्चालनमा रहेका प्रसारण तथा वितरण लाइन र सबस्टेसन स्तरोन्नति तथा सुदृढीकरण र नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको समेत जानकारी दिए ।

प्राधिकरणले इलाम पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुर बागमती तथा बकैया गाउँपालिकामा विद्युत् आपूर्तिका लागि छतिवन सबस्टेसन, म्याग्दी मङ्गला, मालिका तथा धौलागिरि गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो ।

आयोजना अन्तर्गत देशभरि २५ नयाँ सबस्टेसन निर्माण र १२ स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अगाडि बढाइएको थियो । २५ मध्ये पाँचको निर्माण अन्तिम चरणमा छ भने सबस्टेसनको स्तरोन्नति सम्पन्न भइसकेको छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना मार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा मकवानपुर मनहरी, सिन्धुली दुधौली, दोलखा नाम्दु र ललितपुर उनीचौरमा वितरणतर्फ ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै विश्व बैंककै सहुलियतपूर्ण ऋणमा रामेछाप बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनसम्म पुग्ने ३३ केभी प्रसारणलाइन र त्यहाँबाट विद्युत् आपूर्तिका लागि लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?