+
+

माओवादी कोटाबाट डा. सतिशलाई मेडिकल काउन्सिलमा रजिष्ट्रार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते २०:३४

१५ फागुन, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. देवलाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।

८ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको काउन्सिलको रजिष्ट्रारमा डा. देवलाई सिफारिस गरेको थियो । मन्त्रालयको सिफारिसमा काउन्सिलको रजिष्ट्रार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ ।

काउन्सिलका पूर्वसदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए । उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा फर्माक्लोजीका सहप्राध्यापकसमेत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतका अनुसार सतारुढ नेकपा माओवादी केन्द्रको कोटाबाट काउन्सिलको रजिष्ट्रारमा डा. देव नियुक्त भएका हुन् । यसअघि १३ मंसिरमा नेपाली कांग्रेस निकट डा. चोपलाल भुसाल काउन्सिलको अध्यक्ष नियुक्त भएका थिए ।

मेडिकल काउन्सिलमा उपाध्यक्षसहित सदस्यहरु चुनावबाट आउँछन्, तर अध्यक्ष र रजिष्ट्रार भने मन्त्रिपरिषदले नियुक्त गर्ने व्यवस्था छ । त्यही कारण अवपादबाहेक राजनीतिक दलसम्बद्ध व्यक्ति नै मेडिकल काउसिलको अध्यक्ष, रजिष्ट्रार नियुक्त हुने गर्छन् ।

यसभन्दा अगाडि काउन्सिलको उपाध्यक्षमा पराजित भएका डा. देव दुई पटक काउन्सिलको सदस्यमा निर्वाचित भएका थिए ।

तर उनी सदस्यमा रहँदा देवदेह मेडिकल कलेजको सिट संख्याको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियोे । तत्कालीन काउन्सिलका १२ जना पदाधिकारीविरुद्ध परेको उक्त मुद्धामा सर्वोच्च अदालतबाट सबैले सफाइ पाइसकेका छन् ।

राजनीतिक आस्थाको आधारमा नियुक्त दिँदा काउन्सिलले गर्ने अनुगमन तथा कारबाही प्रभावकारी हुन नसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

काउन्सिलका पूर्वपदाधिकारीका अनुसार चिकित्सकको क्षमता अभिवृद्धि, इथिकल प्राक्टिस, सेवा तथा गुणस्तरमा काउन्सिलले राम्रो काम गर्न सकेको छैन । उनीहरुको अनुसार नयाँ नेतृत्वले हाल सञ्चालन भइरहेको कन्टिनिअस प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) लाई निरन्तर सञ्चालन गर्नुपर्ने, चिकित्सकको लाइसेन्स परीक्षा सुधार्नुका साथै चिकित्सकको आचरणगत व्यवहार सुधार्ने काम गर्नुपर्ने देखिन्छ ।

यस्तै, चिकित्सा पेशामा देखिएको असुरक्षालाई यथोचित रूपमा सम्बोधन नगरिए चिकित्सक विदेशिने क्रम अझै बढ्नेछ । दिनानुदिन चिकित्सक र बिरामीबीचको दूरी बढ्दै गइरहेको सरकारी निकाय राज्य संवेदनशील जरुरी रहेका काउन्सिलका पूर्व पदाधिकारी बताउँछन् ।

त्यो भन्दा ठूलो चाहिँ मेडिकल काउन्सिलले अहिलेसम्म आम नागरिकको विश्वास जित्न सकेको छैन । बरु पछिल्लो समय मेडिकल काउन्सिलका सदस्यहरु डाक्टरको पक्षमा मात्रै बोल्ने भूमिकामा प्रस्तुत भइरहेको अधिकारी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?