+
+

मेडिकल काउन्सिलका रजिष्ट्रार देवको नाममा २ लाख २१ हजार बेरुजु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १९:१७

१७ फागुन, हेटौंडा । नेपाल मेडिकल काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा. सतिशकुमार देवको नाममा हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ लाख २१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

प्रतिष्ठानको शिक्षाध्यक्ष रहेका बेला डा. देवले लिएको सुविधा वापतको भुक्तानीमा महालेखा परीक्षकको कार्यालयले २ लाख २१ हजार १ सय ३२ रुपैयाँ बेरुजु देखाएको थियो । महालेखाले शिक्षकको रुपमा काम नै नगरी शिक्षण गरेको सुविधामा उनले भुक्तानी लिएको र उक्त रकम असुलउपर गर्नुपर्ने सुझाव दिएको थियो ।

१५ भदौ २०७७ मा प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त भएका डा. देवले हालसम्म उक्त बेरुजू रकम नतिरेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । प्रतिष्ठानले करिब ५ महिनाअघि उनलाई भुक्तानी लिएको रकम फिर्ता गर्न पत्र काटेको थियो ।

‘उहाँलाई ५ महिना पहिले नै व्यक्तिगत इमेल र हुलाकमार्फत पत्र पठाए र फोन नै गरेर जानकारी गराइएको थियो । पत्र पाएपछि फोनमार्फत उहाँले बेरुजुको सम्बन्धमा कुरा पनि गर्नुभएको थियो । हालसम्म बेरुजु रकम भने तिर्नुभएको छैन’ रजिष्ट्रार प्रसाईले भने ।

मदन भण्डारी प्रतिष्ठानको पदाधिकारी व्यवस्थापन तथा सेवासुविधा सम्बन्धी नियमावली २०७७ नियम ५० को उपनियम २ मा पदाधिकारीले प्रतिष्ठानको शिक्षकको रुपमा काम गरेमा निजलाई पदाधिकारी वा शिक्षकको तलब भत्तासमेत जोड्दा जुन बढी हुन्छ सो पाउने भन्ने व्यवस्था छ ।

डा. देवको शिक्षाध्यक्षको भन्दा शिक्षकको रुपमा तलब भत्ता बढी पाउने देखिएको थियो । महालेखाले डा. देवले शिक्षकको रुपमा काम गरेको पुष्टि गर्न संलग्न गर्नुपर्ने कक्षा तालिका, हाजिरीलगायतका कागजात संलग्न नगरी भुक्तानी लिएको जनाएको छ ।

२० जेठ २०७८ मा बसेको प्रतिष्ठानको १५ औं बैठकमा देवलाई शिक्षाध्यक्षको सुविधा दिने निर्णय नभई पदाधिकारीलाई जानकारी मात्रै दिने निर्णय भएको देखिएको महालेखाले जनाएको छ ।

महालेखाका अनुसार डा. देवले एक लाख ३३ हजार लिनुपर्नेमा २०७८ को चैत, वैशाख, जेठ र असारमा गरी चार महिना २ लाख १९ हजार ३८० का दरले भुक्तानी लिएको पाइएको छ ।

महालेखाले कुलमा दुईलाख २१ हजार १३२ रुपैयाँ असुलउपर गर्नेपर्ने सुझाव दिएको हो । ‘सामान्यता संवैधानिक आयोगले असुलउपर गर्नुपर्छ भनेपछि स्वतः तिर्न आउनुपर्ने हो । पत्र पठाउँदा पनि उहाँ आउनुभएन’, रजिष्ट्रार प्रसाईं भन्छन् ।

डा. देवले शिक्षाध्यक्षको रुपमा ७९ हजार पारिश्रमिक, मासिक २० हजार घरभाडा, पारवाहन सुविधावापत मासिक ३० हजार रुपैयाँ भुक्तानी पाउनुपर्ने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार उनले शिक्षणतर्फ एकलाख ७० हजार रुपैयाँ भुक्तानी लिनुपर्ने हुन्थ्यो । तर, महालेखाले सुविधा दिने निर्णय नै नभएकोमा दोहोरो सुविधा लिएकोमाथि प्रश्न उठाएको हो ।

डा. देवले पदाधिकारीको जिम्मेवारीसहित एमडी फार्माकोलोजीको अध्यापन गराएको रजिष्ट्रार प्रसाईंले बताए । ‘हामी सधैं निरीक्षणमा त जाँदैन्थ्यौं । एक दिन निरीक्षणको क्रममा उहाँले अध्यापन गराइरहनुभएको देखेको हुँ’, उनले प्रतिष्ठानको कार्यकारी परिषद्बाटै सुविधा दिने निर्णय भएको दाबी गरे ।

परिषद्बाट निर्णय भएको महालेखा प्रतिवेदन गलत हो ? भन्ने प्रश्नमा प्रसाईंले भने, ‘महालेखाले किन र कसरी लेख्यो मलाई थाहा भएन ।’, डा. देवले १ पुस ०७९ मा राजीनामा दिएका थिए । उनको राजीनामा २४ माघमा स्वीकृत भएको प्रतिष्ठानले जनाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा फर्माक्लोजीका सहप्राध्यापक रहेका उनी काजमा हेटौंडा आएका थिए ।

काउन्सिलका रजिस्ट्रारमा हालै नियुक्त भएका देवले अनलाइनखबरसँगको कुराकानीमा सुरुमा आफूलाई थाहा नभएर दोहोरो सुविधा लिएको बताए । ६ महिनापछि मात्र आफूले यो विषय थाहा पाएको भन्दै उनले अब आफ्नो नाममा रहेको बेरुजु रकम फिर्ता गर्ने बताए ।

कलेजले फिर्ता गर्नु भनेर पत्र पठाए पनि आफूले प्रतिष्ठानको बैंक खाता नम्बर नपाएको भन्दै देवले बुधबार अनलाइनखबरसँग भनेका थिए , ‘एकाउन्ट नम्बर पाएपछि पैसा फिर्ता गरिदिन्छु ।’

बिहीबार भने उनले बेरुजु रकम तिरेको भौचर अनलाइनखबरलाई पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?