+
+

सहकारी ठगीको लहरोले बैंकमा पहरो

सीआईबीको अनुसन्धानले तत्कालीन सेञ्चुरी बैंकले रवीन्द्र चौलागाईंलाई १ अर्ब १४ करोड मूल्यको धितोमा २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको देखाएको छ । जबकि राष्ट्रबैंकको नियमअनुसार कर्जा प्रवाह गरेको भए करिब ४५ करोड ऋण दिन मिल्थ्यो । बैंकले मिल्नेभन्दा ५ गुणा बढी ऋण दिएको देखिन्छ ।

विजय पराजुली विजय पराजुली
२०८० फागुन १५ गते २२:३९

१५ फागुन, काठमाडौं । २० हजार बचतकर्ताको ३ अर्ब रुपैयाँभन्दा बढी रकम आफ्नो व्यक्तिगत सम्पत्तिमा परिणत गरी ठगी गरेको आरोपमा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं गत १८ असोजमै पक्राउ परेका थिए । उनले बचतकर्ताको रकमबाट आफू र आफ्ना कम्पनीको नाममा जग्गा किन्ने तथा त्यो जग्गा धितो राखी यथार्थ मूल्यको तुलनामा दोब्बरभन्दा बढी ऋण लिई बैंकहरुलाई पनि जोखिममा धकेलेका थिए ।

विगत वर्षहरुमा जग्गाको धितोमा धितो मूल्यांकनको ४० प्रतिशतमात्रै ऋण लिन पाइने व्यवस्था थियो । त्यसो हुँदा धितो मूल्यांकनको दोब्बरसम्म कर्जा प्रवाह गर्ने गैरकानूनी काम गर्न ऋण दिने बैंकरसँगको मिलोमतोबिना सम्भव थिएन । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलवार देउराली सहकारीका अध्यक्ष चौलागाईंलाई धितो मूल्यांकनको दोब्बर रकम कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका सिनियर डेपुटी सीईओ तथा तत्कालीन सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने, सेञ्चुरीकै पूर्वसीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको छ । यो घटनापछि भने सहकारी घोटालामा बैंकरहरुको समेत संलग्नताको स्पष्ट आधार दिएको छ ।

सहकारीको घोटाला छानबिन गर्दै जाँदा बाणिज्य बैंकका सीईओहरु नै पक्राउ परेको घटना नेपालमा पहिलो हो । अहिले सयौँ सहकारी संस्थाहरुले बचतकर्ताको निक्षेप दुरुपयोग गरेका नेपाल प्रहरी तथा संघ, प्रदेश तथा स्थानीय सरकारहरुले अनुसन्धान गरिरहेका छन् । सीआईबीको पछिल्लो पक्राउको घटनापछि सहकारी घोटालामा थप बैंकरहरु पनि तानिनसक्ने संकेत गरेको एक उच्च प्रहरी अधिकृत बताउँछन् ।

हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकले रवीन्द्र चौलागाईं, उनका आफन्त र कम्पनीलाई १ अर्ब १४ करोड मूल्यको धितोमा २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ । यो धितो मूल्यांकनभन्दा ९७ करोड बढी हो ।

जबकि, राष्ट्रबैंकको नियमअनुसार कर्जा प्रवाह गरेको भए करिब ४५ करोड मात्रै कर्जा प्रवाह हुनसक्ने अवस्था देखिन्छ । यसरी सेञ्चुरी बैंकले धितोअनुसार कर्जा दिनसक्ने सीमाभन्दा करिब ५ गुणा बढी ऋण दिएको देखिन्छ । यसरी अनियमित रुपमा कमसल धितोमा कर्जा प्रवाह बैंकका सीईओ तथा कर्मचारीहरुको मिलेमतो स्पष्ट रुपमा देखिएकाले उनीहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । 

‘तत्कालीन सेन्चुरी कमर्सियल बैंकबाट कर्जा लिने रवीन्द्र चौलागाईं र निजसमेत आवद्ध कम्पनीहरुलाई कर्जा प्रवाह गर्दा धितोको मूल्यांकन भन्दा बढी कर्जा प्रवाह भएको छ । पूजा ट्रेडिङ एण्ड मार्केटिङ कम्पनी प्रा.लि., थ्री ब्रदर्स मार्केटिङ प्रा.लि., पुजा मार्केटिङ प्रा.लि.र अन्नपूर्ण डिष्टिलरी प्रा. लि. समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत राखिने धितोको मूल्यांकन भन्दा बढी कर्जा प्रवाह भएको पाइएको छ,’ सिआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

१ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाा धितो मूल्यांकनमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको पनि सीआईबीले जनाएको छ । यसरी धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७३ रुपैयाँ अधिक कर्जा प्रवाह भएको सिआईबीको भनाइ छ । 

सोही कर्जा प्रवाह गर्ने कार्यमा संलग्न सीईओसहित कर्मचारीहरु पक्राउ मनोज न्यौपाने, पूर्वसीईओ गौतम, राजेश भण्डारी, दिलिप बराल, सुबासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत रहेको सिआईबीले जनाएको छ ।  

उनीहरुलाई उच्च अदालत पाटनबाट अनुसन्धानका लागि ७ सात थुनामा राख्ने अनुमति लिई गरी बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

तत्कालीन सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकमा गाभिएको थियो । न्यौपानेसहितका केही कर्मचारीहरु प्रभुमै कार्यरत थिए । 

के हो सहकारी बैंक ठगीको घटना?

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थामा २० हजार भन्दा बढी बचकर्ताको ३ अर्बभन्दा बढी निक्षेप थियो । तर, २०७५ सालदेखि नै साधारणसभा तथा नवीकरण नगरेको संस्थाले पछिल्लो २ वर्षयता बचतकर्ताको निक्षेप रकम फिर्ता गरेको थिएन । ललितपुरको लामाटार, र चितवनमा आफ्नो ठूलो जग्गा रहेको र त्यो बेचेर निक्षेप फिर्ता गर्ने झुटो दाबी गर्ने चौलागाईंले ती जग्गाको मोलभन्दा दोब्बर ऋण तिनकै धितोमा निकालेको सीआईबीको अनुसन्धानले समेत देखाएको छ । 

सातदोबाटोमा होलसेल व्यापारसमेत गर्दै आएका चौलागाईंले  उक्त क्षेत्रको साना खुद्रा व्यापार गर्नेलाई सामान आपूर्तिसमेत गर्थे । व्यापार गर्नेहरुले राती पसल बन्द गरेपछि पनि देउरालीले बचत संकलन गर्ने भएकाले स्थानीय व्यापारीहरुले त्यही सहकारीमा रकम निक्षेप राख्ने गरेका थिए । 

सहकारी संस्थामा उनले उनले श्रीमतीसहित आफन्तलाई नै सञ्चालक बनाएर कारोबार गर्दै आएका थिए । देउराली सहकारीलाई उनले बचत संकलनका लागि देखाउने नाममात्रै बनाएका थिए । पाँच वर्षदेखि नियमित लेखापरीक्षण र नवीकरण समेत गरेका थिएनन् । सर्वसाधारणलाई झुक्यानमा पारी संकलन गरेको रकम उनीहरुको खातामा होइन आफ्ना निजी कम्पनी र घरजग्गामा लगानी गर्न तथा बिलाशी गाडी किन्न प्रयोग गर्दै आएको थिए । त्यही सम्पत्तिलाई नाममात्रैको धितो राखेर उनले अर्बौँ रुपैयाँ बैंकबाट समेत निकाल्न सफल भएका थिए । 

रविन्द्रले आरआर ग्रुप अफ कम्पनी, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोपर्टिज प्रालि, मून भेन्चर इन्भेष्टमेन्ट प्रालि, आरआर रिसर्च एन्ड डेभलपमेन्ट प्रालि, पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्रीश्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि नामका कम्पनी खोलेका थिए ।

यसमध्ये कतिपय सञ्चालनमा थिए भने कतिपय चाहिँ ऋण लिने प्रयोजनका लागि कागजमा मात्रै रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

उनलाई पक्राउ गरेर सहकारी ठगीको अनुसन्धानका क्रममा धितो मूल्यांकनभन्दा बढी अस्वाभाविक रुपमा बढी कर्जा प्रवाह गर्दा बैंकरहरुको समेत संलग्नता किटान गरेको छ । सीआईबी मात्रै होइन, नेपाल राष्ट्र बैंकको अध्ययनमा पनि सेञ्चुरी बैंकबाट प्रवाह भएको कर्जामा कैफियत नै कैफियत देखिएको एक उच्च अधिकारी बताउँछन् । ‘सेञ्चुरी बैंकले रविन्द्र चौलागाईंका कम्पनीलाई मात्रै होइन अन्यलाई दिएको कर्जामा पनि ठूलो मात्रामा कैफियत भएको हाम्रो अनुसन्धानबाट समेत देखाएको छ । त्यसो हुँदा सीआईबीले सहकारीको अनुसन्धानका क्रममा बैंकरमाथि नै अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरेको विषय हामीलाई अस्वाभाविक लागेको छैन,’ उनले भने । 

राष्ट्रबैंकले सबै बैंकका सबै फाइल हेर्न सम्भव नहुने हुँदा अनियमितता भएको विषयमा सीआईबीले गरेको अनुसन्धानलाई सकारात्मक रुपमा नै लिएको ती अधिकारीले बताए ।   

‘कानुनतः अनुसन्धान गर्ने निकायले नै अनुसन्धान सुरु गरेको  विषयमा राष्ट्र बैंकले चासो दिनुपर्ने कारण छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यस्ता अनुसन्धानले बैंकहरुको संस्थागत सुशासन बढाउन मद्दत नै गर्छ भन्ने लाग्छ ।’

नेपाल राष्ट्रबैंकले आधिकारिक रुपमा यस विषयमा कुनै धारणा व्यक्त गरेको छैन । तर बैंकिङ सुपरीवेक्षण विभागका एक अधिकारीका अनुसार सीआईबीले देउराली सहकारीका अध्यक्ष चौलागाईको अनुसन्धानका क्रममा सीआईबीले पत्रमार्फत राष्ट्रबैंकसँग पनि जानकारी मागेको जानकारी दिए । ‘आवश्यक कागजातसहितको विवरण सिआईबीलाई हामीले पठाएका थियौं,’ उनले भने । तर राष्ट्रबैंकले सीआईबीलाई यसको अनुसन्धान गर्न भने अनुरोध नपठाएको उनले बताए ।

प्रभु बैंकले पनि यस विषयमा हालसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । बैंकका सीईओ अशोक शेरचनसँग सम्पर्कको प्रयास गरे पनि त्यो सफल हुन सकेन । 

तर, चौलागाईं र उनका कम्पनीले ऋण अशुलीका लागि प्रभु बैंकले पनि पटकपटक प्रयास गरेको थियो । प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीका लागि तीनपटक सूचना जारी गरिसके पनि त्यो विक्री भएको थिएन । सहकारीबाट रकम निकालेर जग्गा किने, त्यही जग्गा धितो राखेर बैंकबाट मूल्यभन्दा दोब्बर तेब्बरसम्म ऋण लिएको देखिएको समाचार अनलाइनखबरले यसअघि प्रकाशित गरेको थियो ।  

स्रोतका अनुसार, चौलागाईं र उनकी श्रीमती पूजा खत्रीका नाममा केही सय रोपनी जग्गा देखिएको छ ।

ललितपुरको लामाटारमा चौलागाईले ८४ रोपनी जग्गा रहेको र बचतकर्ताको रकम उक्त जग्गा बिक्री गरेर फिर्ता गर्ने बताउँदै आएका थिए । तर, उक्त जग्गामध्ये करिब एक तिहाई मात्रै चौलागाईंको रहेको स्रोतको दाबी छ ।

त्यसमध्ये पनि केही जग्गा माछापुच्छ्रे बैंकले लिलामीमा निकाल्दा बिक्री नभएपछि बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेर राखेको छ । चौलागाईंलाई सिटिजन्स बैंक, तत्कालीन मेगा बैंकलगायतले पनि कर्जा प्रवाह गरेका छन् ।

सीआईबीले बैंकका दुई पूर्वसीईओहरु मात्रै होइन, अन्य कर्मचारीहरु समेत पक्राउ गरेपछि बैंकिङ क्षेत्र तरंगित भएको छ । ‘पछिल्लो समय कर्जा डुब्ने क्रम बढ्दै छ । कुनै डुबेको ऋणको फाइलमा सही गरेकै आधारमा पक्राउ परिने हो कि भन्ने डर कर्मचारीमा देखिएको छ,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?