+
+
प्रभु बैंकका सिनियर डीसीईओ पक्राउ प्रकरण :

देउराली सहकारीका चौलागाईंलाई धितोले नखाम्ने सवा २ अर्ब ऋण दिएका थिए न्यौपाने र गौतमले

विजय पराजुली विजय पराजुली
२०८० फागुन १५ गते १६:१७

१५ फागुन काठमाडौं । बचतकर्ता र बैंकको ७ अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीलाई कमसल धितोमा ऋण दिएको अभियोगमा प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित पक्राउ परेको खुलेको छ ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका न्यौपाने तथा तुलसीराम गौतमसहित १० जना कर्मचारीलाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले मंगलवार पक्राउ गरेको छ ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार, सहकारीका सञ्चालक चौलागाईं तथा उनको आफन्तको नाममा रहेका विभिन्न कम्पनीलाई अत्यन्तै कमसल धितो राखेर गौतम तथा न्यौपानेले दुई अर्ब २५ करोड रुपैयाँ ऋण दिएको पाइएको हो ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, सेन्चुरी बैंकबाट ५० करोड रुपैयाँ बराबरको धितो राखेर सवा २ अर्बको कर्जा लिएको प्रारम्भिक छानबिनमा देखिएको छ । यसरी हेर्दा धितोमा राखिएको सम्पत्ति कुल ऋणको २२ प्रतिशत मात्रै हुन आउँछ ।

बचतकर्ता र बैंकको गरी ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा सीआईबीले देउरालीका सञ्चालक चौलागाईंलाई १८ असोजमा पक्राउ गरेको थियो । देउराली सहकारीमार्फत ठगी भएको विषयमा अनुसन्धान गर्दै जाँदा कमसल धितो राखेर ऋण लिएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

पक्राउ पर्ने अन्यमा तत्कालीन सेञ्जुरी बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारीलगायत छन् । तत्कालीन सेञ्चुरी बैंक हालको प्रभु बैंकमा गाभिएको थियो । साविकको बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने गाभिएपछि भने प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ बनेका थिए ।

देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीमा कमसल धितोमा कर्जा प्रवाह भएको विषयमा नै बैंकका दुई पूर्वसीईओलाई प्रहरीले पक्राउ गरेको नेपाल राष्ट्रबैंक स्रोतले पनि पुष्टि गर्‍यो । ‘देउरालीका अध्यक्ष चौलागाईको अनुसन्धानका क्रममा सीआईबीले पत्रमार्फत हामीसँग पनि जानकारी मागेको थियो, आवश्यक कागजातसहितको विवरण सिआईबीलाई पठाएको थियौं,’ राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका एक अधिकारीले बताए ।

हाल प्रभु बैंकको नाममा चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा गएको २ अर्ब २५ करोड रुपैयाँ ऋणको पोर्टफोलियो छ । साविकको सेञ्चुरी कमर्सियल बैंकले गरेको कर्जा प्रवाह बैंक मर्जर भएर आएपछि प्रभुमा सरेको हो ।

त्यो ऋण पूजा मार्केटिङ प्रा.लि., पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री श्री ब्रदर्स मार्केटिङ प्रा.लि., अन्नपूर्ण डिस्टिलरी प्रा.लि. र उनी स्वयंको नाममा लिएका छन् ।

चौलागाईं र उनका कम्पनीले ऋण चुक्ता नगरेपछि धितो लिलामीका लागि प्रभु बैंकले तीनपटक सूचना जारी गरिसकेको छ, तर सम्पत्ति लिलाम बिक्री नहुने देखिएको बैंक स्रोतले जनाएको छ ।

‘ऋण २ अर्ब २५ करोड छ, धितोमा राखिएको घरजग्गा र सम्पत्तिको मूल्य आधा पनि छैन, त्यसमाथि अहिलेको अवस्थामा लिलामीमा ग्राहक पाउन असम्भव जस्तै छ, यस्तो अवस्थामा सम्पत्ति बिक्रीमार्फत् ऋण असुली हुने सम्भावना छैन,’ गत असारमा अनलाइनखबरसँको कुराकानीमा प्रभु बैंकका एक अधिकारीले भनेका थिए ।

रबिन्द्र चौलागाईले सहकारीका बचकर्ताबाट उठाएको निक्षेपले आफ्ना र परिवारको विभिन्न व्यक्तिको नाममा घर तथा जग्गा किन्ने गरेको थिए । उक्त सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिने गरेको सीआईबी अनुसन्धानबाट पनि खुलेको थियो ।

 

रविन्द्रले आरआर ग्रुप अफ कम्पनी, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोपर्टिज प्रालि, मून भेन्चर इन्भेष्टमेन्ट प्रालि, आरआर रिसर्च एन्ड डेभलपमेन्ट प्रालि, पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्रीश्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि नामका कम्पनी खोलेका थिए ।

यसमध्ये कतिपय सञ्चालनमा थिए भने कतिपय चाहिँ ऋण लिने प्रयोजनका लागि कागजमा मात्रै रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

सहकारीबाट रकम निकालेर जग्गा किने, त्यही जग्गा धितो राखेर बैंकबाट मूल्यभन्दा दोब्बर तेब्बरसम्म ऋण लिएको देखिएको समाचार अनलाइनखबरले यसअघि प्रकाशित गरेको थियो ।

‘सहकारीको पैसा दुरुपयोग गरी एक करोडमा जग्गा किन्यो, अनि त्यही जग्गा धितो राखेर बैंकबाट ३–४ करोडसम्म ऋण निकाल्ने गरेको रहेछ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार, चौलागाईं र उनकी श्रीमती पूजा खत्रीका नाममा केही सय रोपनी जग्गा देखिएको छ ।

ललितपुरको लामाटारमा चौलागाईले ८४ रोपनी जग्गा रहेको र बचतकर्ताको रकम उक्त जग्गा बिक्री गरेर फिर्ता गर्ने बताउँदै आएका थिए । तर, उक्त जग्गामध्ये करिब एक तिहाई मात्रै चौलागाईंको रहेको स्रोतको दाबी छ ।

त्यसमध्ये पनि केही जग्गा माछापुच्छ्रे बैंकले लिलामीमा निकाल्दा बिक्री नभएपछि माछापुच्छ्रे बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेर राखेको छ ।

सहकारीबाट संकलन गरेको निक्षेपको दुरुपयोग गर्दै व्यवसाय र सम्पत्ती जोडेका चौंलागाईंले त्यसलाई नै देखाउँदै विभिन्न बैंकबाट करिब ४ अर्ब ऋण लिएका थिए । अन्य बैंकबाट उनले लिएको ऋणबारे पनि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

सबैभन्दा बढी लगानी भने सेञ्चुरी बैंकबाट भएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

 

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?