+
+

पर्वतारोहण संघको बजेट अब सरकारले बेहोर्ने, रोयल्टी विभाज्य कोषमा

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन १६ गते १७:४०
फाइल तस्वीर

१६ फागुन, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को बजेट अब सरकारले बेहोर्ने भएको छ । त्यसको सट्टामा संघले प्रवर्द्धन गरिरहेका हिमालबाट उठ्ने रोयल्टी भने सरकारको विभाज्य कोषमा जम्मा हुन थालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्वतारोहण संघलाई प्रदान गरिने बजेट खर्च सम्बन्धी कार्यविधि ८ फागुनमा स्वीकृत गरेको छ । यसअघि २३ कात्तिक २०८० को मन्त्रिपरिषद् बैठकले साविकका नेपाल पर्वतारोहण संघले व्यवस्थापन गर्दै आएका २७ वटा हिमालको व्यवस्थापन गर्ने अधिकार पाँच वर्षका लागि नवीकरण गरिदिएको थियो ।

संघका अध्यक्ष नीमा नुरु शेर्पाका अनुसार सरकारको निर्णय बमोजिक संघले रोयल्टी विभाज्य कोषमा जम्मा गर्न थालिसकेको छ ।

संघलाई आवश्यक रकम भने अब लागि रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुदानका रुपमा प्राप्त हुने भएको छ । सो रकम प्रदान गर्ने प्रयोजनका लागि मन्त्रालयले कार्यविधि बनाएको हो ।

माघ मसान्त भित्र बजेट माग गर्नुपर्ने

अब संघले आफ्नो कार्य सञ्चालनका लागि प्रत्येक वर्षमा आवश्यक पर्ने अनुमानित बजेट तथा कार्यक्रम प्रत्येक वर्षको माघ मसान्त भित्र मन्त्रालयमा पेश गर्नु पर्ने भएको छ ।

मन्त्रालयले आवको बजेट प्रस्ताव गर्दा संघका लागि विनियोजन गर्नुपर्ने बजेट समेत अर्थ मन्त्रालयमा एकमुष्ट प्रस्ताव गर्नु पर्ने भएको छ ।

नेपाल सरकारले संघको उद्देश्य प्राप्तिका लागि गर्नु पर्ने क्रियाकलाप सञ्चालन गर्न आवश्यक बजेट वार्षिक विनियोजन मार्फत अनुदान उपलब्ध गराउने भएको छ ।

मन्त्रालयले संघबाट प्रस्तावित क्रियाकलापको उद्देश्य र औचित्य समेत हेरी मन्त्रालयले कार्यक्रम स्वीकृत गर्ने भएको छ । रकम त्रैमासिक रुपमा संघलाई मन्त्रालयले उपलब्ध गराउने भएको छ ।

चालु आवको प्रथम त्रैमासिक निकासा माग गर्दा अघिल्लो आवको प्रगति प्रतिवेदन बुझाउनु पर्ने कार्यविधिमा उल्लेख छ । कुल अनुदान रकममध्ये संघले ३० प्रतिशत सम्म मात्र प्रशासनिक खर्च गर्न सक्ने भएको छ ।

संघले कस्ता कार्यक्रम गर्नुपर्छ प्रस्ताव ?

कार्यविधि अनुसार अन्तर्राष्ट्रिय पर्वतीय प्रव्रद्र्धनात्मक कार्यक्रम, राष्ट्रिय प्रवर्द्धन, हिमाल सरसफाई, तालिम, पिक प्रोफाइलजस्ता काममा प्रस्ताव गर्नु पर्ने भएको छ ।

संघले बजेट खर्चको लेखांकन तथा लेखा परीक्षण गरी दुरुस्त राख्नु पर्ने भएको छ । यस्तो प्रतिवेदन असोज मसान्त भित्र मन्त्रालयमा बुझाउनु पर्ने भएको छ । संघबाट कार्यसम्पादनका विषयमा मन्त्रालयले अब संघमा नियमित अनुगमन गर्न सक्नेछ ।

महालेखाले गरिरहेको थियो प्रश्न

यसअघि नेपाल पर्वतारोहण संघले हिमाल प्रवर्द्धनबाट उठाइरहेको रोयल्टीमा महालेखा परीक्षकको कार्यालयले प्रश्न गरिरहेको थियो । सोही अनुसार सरकारले अब संघको आम्दानीलाई राज्य कोषमा ल्याउँदै खर्चमा निगरानी गर्ने भएको हो ।

संघका अध्यक्ष शेर्पाका अनुसार यसले संघको काममा राज्यको निगरानी बढ्नुका साथै पारदर्शिता बढाउन सहयोग पुग्ने बताउँछन् ।

‘यसअघि हामी निजी क्षेत्र जस्तो मात्र थियौं,’ उनले भने, ‘अब हाम्रो बजेट मन्त्रालयबाट स्वीकृति हुने भएपनि संघ पनि सरकारकै एक अंग बनेको छ ।’

२७ वटा हिमालबाट उठेको रोयल्टी सरकारको नियम अनुसार २५ प्रतिशत स्थानीय तह र २५ प्रतिशत प्रदेशमा यसअघि समेत बुझाइएको उनले जानकारी दिए । अब भने सबै रकम सरकारको राजस्वमा जाने छ ।

थप साना हिमाल जिम्मा दिने तयारी !

सरकारले अब संघलाई थप साना हिमाल प्रवर्द्धनको जिम्मा दिने समेत तयारी गरिरहेको बताइएको छ ।

अध्यक्ष शेर्पाका अनुसार अहिले संघ र सरकार कतैबाट पनि प्रवर्द्धन हुन नसकेका ५० भन्दा बढी साना ‘पीक’हरु प्रवर्द्धनका  लागि माग गरिएको जानकारी दिए । त्यसमा सरकार सकारात्मक रहेको उनले बताए ।

‘नेपालमा रहेका कुल हिमालमध्ये २५ प्रतिशतमा पनि आरोहण भएको छैन,’ उनले भने, ‘सोहीकारण थप साना हिमाल संघमार्फत प्रवर्द्धन गरी पर्यटक आकर्षित गर्न खोजिरहेका छौं ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?