+
+
फ्राइडे रिलिज :

हलमा लागे अगस्त्य, ड्युन २, लापता लेडिज र अप्रेसन भ्यालेन्टाइन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १४:३१

काठमाडौं । शुक्रबार नेपालमा चार फिल्म रिलिज भएका छन् । बहुप्रतीक्षित हलिउड फिल्म ‘ड्युन २’ देखि नेपालको ‘अगस्त्य’ प्रदर्शनमा आएका छन् । दुई बलिउड फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’ र ‘लापता लेडिज’ पनि रिलिज भएका छन् ।

दुई श्रृंखलामा बन्ने घोषणा गरिएको ‘अगस्त्य’को पहिलो भाग हलमा लागेको छ । सौरभ चौधरी निर्देशित यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरि लगायतको अभिनय छ । नेपाल र भारत सीमावर्ती क्षेत्रको सेटिङमा बनेको यो फिल्मले बेचबिखनका लागि भारत पुर्‍याइएका नेपाली किशोरीको उद्धारको कथा भन्छ ।

तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । पीजी सर्टिफिकेट प्राप्त गरेको यो फिल्मको रनटाइम १७० मिनेट छ ।

हलिउडको प्रतीक्षित फिल्म ‘ड्युन : पार्ट २’ पनि शुक्रबारदेखि विश्वभर लागेको छ । डेनिस भिलेनुएभ निर्देशित यो फिल्ममा तिमोथी चालमेट, जेन्डाया, रेबिका फर्गुसनको शीर्ष भूमिका छ । पल एट्रेइड्स (तिमोथी)ले चानी (जेन्डाया) र फ्रेमेन (आदिवासी) मानिससँग मिलेर आफ्नो परिवार सिध्याउने शासकसँग बदला लिन लागेको कथावस्तु यो फिल्ममा छ ।

विश्व फिल्मको डेटा राख्ने आईएमडीबीमा यो फिल्म अहिलेसम्म सर्वाधिक रेटिङ पाउने फिल्म समेत बनेको छ । यो साइन्स फिक्सन फिल्म अर्राकिस नामक काल्पनिक मरुभूमि ग्रहको कथावस्तुमा आधारित छ । यो फिल्मको लम्बाइ १६७ मिनेट छ ।

बलिउड फिल्म ‘लापता लेडिज’लाई किरण रावले निर्देशन गरेकी हुन् । यो कमेडी ड्रामा फिल्मले सन् २००१ ताका भारतको एक ग्रामीण क्षेत्रमा रेलबाट दुईजना बेहुली हराएपछि सिर्जना हुने रमाइलो कथा पेश गर्छ । यो फिल्मको रनटाइम १२९ मिनेट छ ।

अर्को हिन्दी फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’ पनि शुक्रबारदेखि हलमा रिलिज भएको छ । वरुण तेज, मानुषी छिल्लर र रुहानी शर्मा अभिनित यो थ्रिलर-एक्सन ड्रामालाई शक्तिप्रताप सिंहले निर्देशन गरेका हुन् । यो फिल्मको रनटाइम १३३ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?