+
+

काठमाडौंमा महानगरको आतंक चलेको छ : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १५:५२

१८ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले काठमाडौंमा महानगरपालिकाको आतंक चलिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभामा शुक्रबार विशेष समय लिएर उनले महानगरपालिकाको कार्यको आलोचना गरेका हुन् ।

‘काठमाडौंमा महानगरको आतंक चलेको छ । रोडमा स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाडीहरुमाथि डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ’ उनले भनेका छन्, ‘महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन ? यदि लाग्छ भने सरकारले महानगरमाथि नियमन गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

कवाडी सामान संकलन गर्नेहरु महानगरबाट आतंकित, असुरक्षित र त्रसित रहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘हरेक व्यक्तिले व्यापार व्यावसाय गर्न पाउँछन् यो संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होइन ?’

कवाड व्यवसायको सुरक्षाका लागि उनले सरकारसँग अनुरोध गरे । ‘केन्द्र सरकारसँग, गृहमन्त्रालयसँग विशेष आग्रह गर्न चाहन्छु– ती कवाड व्यवसायीहरुको सुरक्षाको ज्ञारेन्टी गर्नुहोस् ।’

गैरकानुनी ढंगले कसैलाई व्यवसाय र पेशाबाट वन्चित गर्न नमिल्ने दोहो¥याउँदै उनले अगाडि भनेका छन्, ‘महानगरपालिकाले मनोमानी ढंगले, गैर कानुनी ढंगले कवाड व्यावसायीहरुलाई आतंकित गराएको छ, बेदख्खल गर्न कोसिस भइरहेको छ । जबरजस्ती गरेर भगाउने काम भइरहेको छ ।’

महानगरपालिकाको यस्तो कार्यले लाखौं नागरिक रोजगारबाट बेरोजगार हुने उनको भनाइ छ । उनी थप्छन्, ‘लाखौंलाई रोजगारबाट बेरोजगार बनाउने प्रयास भएको छ । राज्यले त रोजगारी दिनुपर्ने हो । रोजगारलाई व्यवस्थित गर्नुपर्ने हो, त्यसलाई आंतकित गर्नुपर्ने, रोडमा पु¥याउने, बोरजगार बनाउने काम राज्यको हुन्छ जस्तो लाग्दैन ।’

काठमाडौंको घरघरमा काम नलाग्ने चीजहरुलाई दिएर हटाएर कवाड व्यवसायीहरुले सफा गरिरहेको उल्लेख गर्दै उनले भने, ‘यदी ती कवाडीहरुले घरघरको कवाड हटाएनन् भने काठमाडौंको स्थिति के हुन्छ ? सफा सुग्घर हुन्छ ?’

काठमाडौं सफा गर्ने कवाड व्यावसायमा रहेकाहरुलाई सम्मान गर्नुपर्ने साहले बताए । ‘तर, श्रमिकहरु अपमानित भइरहेका छन् । भ्रष्टहरु सम्मानको ओहोदामा छन् । श्रमिकहरु अपमानित भएर हिड्नुपर्ने जो स्थिति छ यसलाई रोक्नुपर्ने छ,’ उनले भने ।

सुकुम्बासी हटाउने भए विकल्प देउ

काठमाडौंमा रहेका सुकुम्बासी हटाउने भए विकल्प दिनुपर्ने पनि आजपा अध्यक्ष साहले बताए ।

‘यदी सुकुम्बासीलाई हटाउन चाहनुहुन्छ भने सुविधा सम्पन्न भवनहरु दिनुहोस् । कतिपय नगरपालिकाहरुले सुविधा सम्पन्न भवन दिएर व्यवस्थापन गरेका छन्’ उनले भने ।

तर, काठमाडौं महानगरपालिकाका प्रहरीहरुले देशको कानुन भन्दा माथि ठानेर जो कवाड व्यवसायी र सुकुम्बासीहरुप्रति व्यवहार गरिरहेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?