+
+

महानगरले सुर्ती जफत गर्‍यो, चुरोट किन गरेन ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० मंसिर २८ गते १८:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार (२८ मंसिर)बाट सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि १२ मंसिरमा १५ दिनको अवधि दिएर महानगरले सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

काठमाडौं महानगरपालिकाले पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ । काठमाडौं महानगरपालिकामा सुर्तीजन्य पदार्थ निषेध गरिनुको कारण के हो ? कसरी नियमन हुँदैछ भन्ने विषयमा महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलसँग संक्षिप्त कुराकानी गरिएको छ ।

काठमाडौ महानगरभित्र सुर्तीजन्य पदार्थ जफत गरिदै छ, त्यो भनेको सुर्ती चुरोट सबै हो ?

काठमाडौं महानगरपालिकाभित्र सुर्ती, गुटका, पान पराग पूर्ण रूपमा प्रतिबन्ध गरिएको हो । चुरोट भने  सार्वजनिक स्थलको १०० मिटर वरपर पूर्ण प्रतिबन्ध हो । सार्वजनिक स्थलको १०० मिटर वरपर चुरोट बिक्री गर्न पाइँदैन । त्यसैले यो दूरीभन्दा बाहेक चुरोट चाहिं जफत गरिएको छैन ।

क्रमैसँग चुरोटलाई पनि नियमन गर्ने तयारी भइरहेको छ । साथै होटेल रेस्टुरेन्टमा स्मोकिङ जोन र नन- स्मोकिङ जोन बनाउनुपर्छ भन्ने सन्देश हामीले दिइरहेका छौं ।

यसले मानव स्वास्थ्यमा असर गर्छ भनेर हो वा जमिनलाई प्रदूषित बनाउँछ भनेर निषेध गरिएको हो ?

सुर्तीजन्य पदार्थलाई निषेध गरिनुको मुख्य उद्देश्य मानव स्वास्थ्यलाई मध्यनजर गरेर नै हो । त्यसबाहेक सहरी सौन्दर्य कायम गर्ने र वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्ने उद्देश्यले पनि हो ।

मानव स्वास्थ्यमा असर गर्ने विषय हो भने त चुरोट बढी हानिकारक मानिन्छ, यस्तोमा किन पहिले सुर्ती र गुटका प्रतिबन्धलाई प्राथमिकता दिइयो ?

मानव स्वास्थ्यको दृष्टिकोणले त चुरोट बढी हानिकारक हो । चुरोट तान्ने व्यक्ति मात्र होइन, अरूलाई पनि यसले असर गर्छ । त्यसैले हामीले चुरोटलाई सार्वजनिक स्थलमा खान नपाउने र होटेल रेस्टुरेन्टमा स्मोकिङ जोन बनाउनुपर्ने कुरालाई जोड दिएका छौं ।

अहिले तत्काल सुर्ती र गुटकालाई नियन्त्रण गरौं । त्यसपछि चुरोटलाई पनि पूर्ण नियन्त्रण गर्ने भन्ने योजना हो । चुरोटलाई नियन्त्रण गर्ने पूर्वतयारी पनि हो सुर्ती र गुटका नियन्त्रण ।

सुर्तीजन्य पदार्थको प्लास्टिकले जमिनलाई प्रदूषित बनाउँछ भने चाउचाउ, बिस्कुट जस्ता खाद्यपदार्थ पनि प्लास्टिकको खोलमा नै प्याक भएर आउँछन् नि ?

अन्य प्लास्टिकको तुलनामा सुर्तीजन्य पदार्थ प्याक भएर आउने प्लास्टिक बढी खराब हुन्छ । अन्य प्लास्टिक भन्दा यस्ता प्लास्टिक धेरै लामो समयसम्म नष्ट नहुने हुँदा वातावरणमा झन् धेरै असर गर्ने भयो । अन्य प्लास्टिकहरू पनि काठमाडौं महानगरमा प्रतिबन्ध नै छ । तर अहिले सुर्तीजन्य पदार्थको प्लास्टिकले सहरलाई बनाएको प्रदूषणलाई रोक्न यसमा अघि बढिएको हो ।

नियमन कसरी गर्दै हुनुहुन्छ ? 

बिहीबारबाट नै नगर प्रहरीहरूले अनुगमन र नियमन गरिरहनुभएको छ । अनुगमन गर्दा पसलमा सुर्तीजन्य वस्तु पाइए सचेत गराउने र जफत गर्ने गरिएको छ । दुई पटकसम्म एउटै पसलबाट सुर्तीजन्य पदार्थ जफत भए पसल बन्द गराउने सम्मको कारबाही हुनेछ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?