+
+

हिमपातले कर्णाली राजमार्गको नाग्म–गमगढी सडक अवरुद्ध

रासस रासस
२०८० फागुन २० गते १६:३६
हिमपातको प्रतिनिधिमूलक तस्वीर ।

२० फागुन, मुगु । लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ ।

एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले पन्छाएर यातायात सञ्चालन गरेको थियो । शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनः अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारी साधन बाटोमै रोकिएका छन् । झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए ।

मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने उनको भनाइ छ ।

कार्यालयले एक सूचना जारी गरी हिउँ निरन्तर परिरहेकाले यस खण्ड भएर यात्रा गर्ने सबैलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ ।

सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालबाहक सवारी साधन बुलबुलेमा रोकिएका छन् ।

नाग्म– गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानीले पर्दा पहिरो आएर अवरुद्ध हुने गर्दछ ।

नेपालकै ठूलो तथा गहिरो रारा ताल र नेपाली भाषाको उदगमस्थल सिञ्जा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सधैँ व्यस्त हुने गर्दछ ।

पर्यटकीय सडक भएकाले पर्यटकले दुःख भोग्ने नपरोस् भनेर सडक डिभिजनले अवरोध हटाउन स्काभेटर र सडक रक्षक तैनाथ अवस्थामा राख्दै आएको छ । साथै सडक स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइरहेको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?