+
+
पुस्तक चर्चा :

विघटित समाजका संयोजित कथा ‘सम्बन्धको दोबाटो’  

उमेश अवस्थी 'आदर्श' उमेश अवस्थी 'आदर्श'
२०८० फागुन २१ गते ७:२८

नेपाली कथा साहित्यमा रविन्द्र केसी नवीन नाम होइन । सामाजिक घटनालाई क्रमशः संयोजन गरी सरल कथा लेख्ने केसीको ‘सम्बन्धको दोबाटो’ कथासंग्रह प्रकाशित भएको छ । अनलाइन पत्रिकामा विशिष्ट स्थान बनाएका केसीका दर्जनौं कथाहरू विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित छन् । उनले आफ्नो नवीन कृति सम्बन्धको दोबाटोमा २१ वटा कथालाई संग्रहित गरी नेपाली साहित्यलाई मौलिक एवं सामाजिक कथाहरूको संगालो समर्पण गरेका छन् ।

कथामा मानव र मानवताबीचको अन्तरसम्बन्धको पृष्ठपोषण गर्दै विविध घटना, भिन्नभिन्न पात्र परिवेश, सामाजिक विकृति विसंगति, आन्तरिक द्वन्द्व, राजनैतिक क्रियाकलाप तथा क्यारेबियन भूमिमाथिका पदचाप एवं नेपाली माटोको सुगन्धको आवाजलाई समेत एउटै मालामा सुन्दर तरिकाले संयोजन गरिएको छ ।  यसलाई सरल र रचनात्मक ढंगले प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

सामाजिक घटनाअन्तर्गत जातीय विभेद, गरिबी, बेरोजगारी, राजनीतिक वितृष्णा, घरेलु तथा लैंगिक हिंसा र यौनजन्य अपराधहरू कथामा प्रमुख विषय बनेका छन् भने विज्ञानको नवीनतम् प्रयोगले प्राप्‍त भएका सुख-दु:खका साथै समकालीन समाजमा प्रविधिले सिर्जना गरेका अपराधहरू सहायक विषयमा रूपमा देखिएका छन् । समाज एक्लोपन अर्थात् प्रविधिमा अभ्यस्त भइरहेको वर्तमान समयमा प्रविधिले निम्त्याउने अपराधबाट आम मानव समुदाय किन सचेत हुने ? समाज विघटनको मार्गमा अगाडि बढिरहँदा यसले भविष्य दिने परिणाम कस्तो हुनेछ ? यस्ता प्रश्नहरूको जवाफ केसीका कथामा भेटिन्छन् ।

समाजका सबै किसिमका घटनाको अनुभव सँगालेका कथाकार सामाजिक घटनाहरूका साक्षीसमेत हुन् । विशेषतः भोगाइलाई कथाको माध्यमबाट प्रस्तुत गरिएको देखिन्छ । बाध्यताले जब घाँटी निमोठ्दछ, त्यसपछि विवेक, बुद्धि र अनुभवहरूलाई तिलाञ्जली दिनुपर्ने अवस्था सिर्जना हुन्छ त्यस्तो अवस्थामा मानव मथिङ्गल समरभूमि बन्दछ । यसप्रकारको विचारको बीजारोपण पनि कथाहरुमा गरिएकै छ ।

मूलभूत रूपमा सामाजिक घटनाका अनुभवले कथाकार मेमोरी जस्तै बनेका छन् । उनका मानसपटलमा हजारौं घटनाहरू सलबलाइरहेका छन् जसलाई ओकल्न उहाँले कथाको भाषा प्रयोग गरेको मेरो बुझाइ रहेको छ । देशभन्दा परिरहेको देश, जहाँ भाषा, संस्कृति एवं सामाजिकीकरण समेत भिन्न र मौलिक छ त्यस्तो अवस्थामा पनि मानव-मानवबीचको निकटवर्ती सम्बन्धमा प्रेमको पासो कसरी लाग्दछ ? मानव बीचको प्रेम कतिबेला कसरी सलबलाउँछ ? यो कुराको प्रष्ट उदाहरण सम्बन्धको दोबाटो कथासंग्रहभित्रका कथामा पाइन्छ । मानव व्यवहारद्वारा सिर्जित विभेद, मानव कल्याणका निमित्त निर्माण गरिएका संस्कृतिले मानव समुदायमा नै थपेको अन्तरभेदको रंगले समाज स्वयं नै बलि चढेको चित्रण र सुन्दर प्रतिभाहरूको प्रस्फुटनमा सामाजिक विभेदले उत्पन्न गरेको समस्यालाई समेत कथामा प्रस्तुत गरिएको छ ।

विदेशमा बेचिएका नेपाली चेलीहरूले भोगिरहेका समस्या र मानव वेचबिखनका घटनाको आफू साक्षी बस्दा एउटा मान्छेको हृदय कसरी रुन्छ ? त्यो कुरा त सम्बन्धको दोबाटो पढ्नेले थाहा पाउनेछ वा पाठक स्वयं अनुभूति गर्नेछन् कि यी कथाले हरपाठकका जीउमा काँडा उमार्नेछन् । अर्को प्रसंगमा यौन व्यापार बाध्यता हो या यो एउटा रोगकै रूपमा विकसित परम्परा भएको छ ? यसका कतिपय फेहरिस्तहरू कथामै छन् । कथाहरू कथा भन्दा पनि घटनाका रूपमा बढी प्रस्तुत छन् । नेपाली नरनारीहरूको वीरतापूर्ण साहसले विश्‍वमा नेपालीको शिर उँचो भएको प्राचीन इतिहासलाई नवीन युगका नवीन घटनाले झन् व्याख्या विश्‍लेषण गरेका छन्  ।

यसै सन्दर्भमा विदेशमा बेचिएका नेपाली चेलीहरू कोठीबाट भागेर आफ्नो देशमा कसरी फर्किएका छन् ? देश र युगलाई उनीहरूले दिएको सन्देशले हामी सुन्दर समाजको निर्माण कसरी गर्न सक्छौं ? त्यो सन्देश समेतको सौन्दर्यपूर्ण विवेचना कथामा छ । सहवासको नवीन विश्‍लेषण गरिएको वर्तमान समयमा गर्भपतनका कारण मानव समुदायमा सलबलाएका अपराधहरू र यसले भविष्यमा मानवका लागि निर्माण गर्ने महारोगको सूचना अहिल्यै दिएको छ । गर्भपतनका विषयमा वर्तमान समयमा समाजमा भित्री रूपमा सल्किएको भुसको आगो समानको आगोले हाम्रा सपनाहरूलाई दन्दनी जलाउने विषयमा केसीले चिन्ता व्यक्त गरेका छन् ।

युद्धकालीन समयका घटनाहरू पनि कथामा प्रशस्त मात्रामा छन् । विशेषतः युद्धविरामपछि राज्यले दायित्व पूरा नगरेको र युद्धका घाउहरुले चोटिएका कलिला मुनाहरूका सुन्दर सपनाको वीभत्स रूपमा हत्या भएकाले राज्य असफलताको बाटोतर्फ जाने हो कि भन्ने डर पैदा भएको छ । युद्धमा हजारौं मान्छे हताहत भए । मान्छे पो हजारौं मात्र हताहत भए, उनीहरूसँगै उनीहरूका करोडौं सपना पनि हताहत भएका हुन् । त्यसको मूल्यांकन कसरी गर्ने भनी कथामा प्रश्‍न सोधिएको छ । व्यवस्था परिवर्तनले केही तौरतरिका परिवर्तन भएपनि अवस्था परिवर्तन हुन व्यवहार नै परिवर्तन हुनुपर्छ । दुर्भाग्य हामी व्यवस्था परिवर्तनको इतिहासमा रमाएर पुरानै व्यवहारमा छौं, जसले गर्दा हामी दीर्घकालीन हुनसक्ने छैनौ ।

सहर पसेपछि छोराछोरीले आफ्नो आमाबुवाको दुःख आर्तनादलाई भुल्ने गरेकाले समाजमा अपराध झन् झन् बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा अलिकति प्रगति गर्ने बित्तिकै आफ्नो विगत भुल्ने परम्परा विकास भएको छ । यसले गर्दा सानोतिनो प्रगति नै ठूलो प्रगतिको बाधक बन्ने सम्भावना जीवित रहन्छ । यसैले मानिसले कहिल्यै खुट्टा टेकेको भुईंलाई छोड्नुहुन्न भन्ने ऐतिहासिक मिथकलाई कथामा आत्मसात गरिएको छ । प्रेमको कुरा गर्दा एकोहोरो रूपमा गरिने प्रेम, प्रेम हो कि मनोरोग हो ? वा यो केवल आकर्षण हो ? यसको साक्षी स्वयं समयमै हुनुपर्छ भनेर कथाकारले समयकै जिम्मामा धेरै कुरा छोडेका छन् ।

महत्त्वाकांक्षाले मानिस कसरी उदाङ्गो बन्दछ, यसको गहिरो समीक्षा कथामा गरिएकै छ । तर स्वदेश छोडेर अधिक अपेक्षाका साथ विदेशिंदा विदेशमा भोग्नुपर्ने समस्याका साक्षी स्वयं कथाकार बसेका छन् यसको गहन घटनाक्रम कथामा समेत प्रस्तुत गरिएको छ । गरिबीले मानिसका इच्छाहरूको मृत्यु कसरी गर्छ र विष पिउन बाध्य गराउने हिम्मत कहाँबाट सिर्जना हुन्छ ? यस प्रकारले गरिबी र बेरोजगारीका समस्यालाई पनि कथामा उठाइएको छ । दरिद्रताको फाइदा समाजमा कसले उठाएको छ ?  यी जीवनका अनेक पक्ष पनि समेटिएका छन् ।

मानिसका आत्मकेन्द्रित सपनाहरूले अकल्पनीय रूपमा अरूमाथि असर पुर्‍याइरहन्छन् । आत्मकेन्द्रित सोचबाट सामाजिकीकरण नभएसम्म समाजको सर्वाङ्गीण विकास हुन नसक्ने कुरामा दुइमत छैन । शोषित वर्ग समाजबाट मात्र नभई घरबाटै पनि शोषित भएको कुरा कथामा उठाइएको छ ।

देशदेखि परदेश र देशभित्रैका विभिन्न भूभागका घटना टपाटप टिपेर हाम्रै वरपरका कथालाई सुन्दर तरिकाले एउटै मालामा उन्ने प्रयास गरे पनि कथासंग्रहमा केही कमजोरी नभएका होइननन् । जस्तै, घटनाहरूको कथानक तरिकाले संयोजन गर्न नसक्नु, व्याकरणात्मक रूपमा शुद्ध पदसंगति नहुनु, भाषा शिल्पमा खासै ध्यान नपुर्‍याउनु, कथाको भाषा सम्पादन नहुनु जस्ता विषयहरू कथासंग्रहमा कमजोरीका रूपमा देखिएका छन् । आत्मपरक भएर लेखिएका कथामा समेत कथाकार केही कथामा पुरुष र केही कथामा स्त्रीको रूपमा देखिनु जस्ता द्वैध तथा  विविध समस्या देखा परेका छन् । कथासंग्रहको भाषा सम्पादनमा अझै जिम्मेवार बनेको भए कथाहरू थप रोचक र सुन्दर बन्ने थिए भन्ने कुरामा दुइमत छैन । तथापि अनुभवहरूको संयोजनबाट निर्माण भएका कथाकार रविन्द्र केसीको सम्बन्धको दोबाटो कथासंग्रहले समाजको अन्तरआवाजलाई बोलेको छ ।

अन्त्यमा कथा खोज्न यत्रतत्र कहीं जानु पर्दैन, कथानक इँटाहरू हाम्रै वरिपरि छरिएका छन् । तिनीहरूलाई टिपेर कथा बनाउन सक्नु नै राम्रो प्रयास हो । लेखक केसीले पनि हामी र हामी वरपरका कथानक इँटाहरूलाई टिपेर कथासंग्रह तयार पारेकाले यो कृति सदैव नवीन रहनेछ भन्ने विश्‍वास लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?