+
+

गठबन्धन फेरिएपछि एकीकृत समाजवादी अलमलमा, ३ बजे सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १३:२६

२१ फागुन, काठमाडौं । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको छ ।

सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी अलमलमा परेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ राजनीतिक घटनाक्रमका विषयमा दिउँसो ३ बजे बस्ने सचिवालयको बैठकमा छलफल हुने बताए । यद्यपि, एकीकृत समाजवादी सुरुदेखि नै वाम गठबन्धनको पक्षमा भएको हुँदा नयाँ समीकरणको पनि स्वागत गर्ने बताए ।

‘हामी सुरुदेखि नै वाम गठबन्धन र एकताको पक्षमा थियौं । व्यक्तिगत रूपमा त मैले ‘डे वान’ देखि नै कांग्रेससँगको गठबन्धन ठीक भएन भनिरहेको थिएँ । आज वाम एकता हुने गरी भएको गठबन्धनको निर्णय स्वागतयोग्य छ’, नेता खनालले भने, ‘यो गठबन्धनमा हामी के गर्छौँ भन्ने विषयमा आज ३ बजे बसेको बैठकमा छलफल हुन्छ । अहिले नै यसै के गर्ने भनेर भन्न सकिँदैन ।’

अहिलेसम्म नयाँ गठबन्धनमा माओवादीसँग नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । तर दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा एकीकृत समाजवादी भने बाहिर परेको छ ।

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने पार्टीको पदाधिकारी बैठकमा बताएका छन् ।

हाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल कृषिमन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।

माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्री प्रचण्डले वाम एकतामा जाने गरी एकीकृत समाजवादीलाई समेटेर लैजाने मनस्थितिमा रहेको बैठकमा बताएका थिए ।

‘प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई पनि मिलाएर लैजाने भन्नुभएको छ । तर पहिलो चरणको छलफलमा चारवटा पार्टी मात्रै समेटिएका छौँ । अरू दलसँग छलफल गरेर छिट्टै उहाँहरू पनि गठबन्धनमा आउने वातावरण बन्छ’, पौडेलले भने ।

नयाँ गठबन्धनमा समेट्ने गरी प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका नेताहरूसँग अनौपचारिक छलफल भने गरिरहेका छन् । तर गठबन्धनमा एकीकृत समाजवादीलाई कस्तो भूमिका दिने भन्ने स्पष्ट प्रस्ताव न प्रधानमन्त्रीले दिएका छन्, न एकीकृत समाजवादीले अगाडि सारेको छ ।

एकीकृत समाजवादीका एक नेताका अनुसार ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीका तर्फबाट आएको प्रस्तावबारे छलफल हुने र सोहीअनुसार कसरी अगाडि बढ्ने भन्ने निर्णय लिनेछ ।

‘हामी अहिले यो नै चाहियो भनेर माग गर्ने अवस्थामा छैनौं । तर, केही न्यूनतम आधारहरूमा मात्रै गठबन्धनमा जाने वा नजाने तय हुन्छ’, ती नेताले भने, ‘पहिलो कुरा हामीले यसअघि पाउँदै आएको भागबण्डा के हुन्छ ? दोस्रो, प्रदेशलगायत संरचनामा हामी कहाँ हुन्छौं ? तेस्रो, सबैभन्दा महत्वपूर्ण गठबन्धनले हामीलाई लिन चाहन्छ कि चाहन्न ? चाह्यो भने त्यसको आधार के हुन्छ भन्ने कुराले निर्धारण हुने हो ।’

त्यस्तै एकीकृत समाजवादीले एमालेलाई हेर्ने दृष्टिकोण के हो भन्नेमा पनि छलफल हुनुपर्ने ती नेताको भनाइ छ ।

‘हामीले एमालेका बारेमा विभिन्न बैठकबाट धारणा बनाएका छौँ । त्यही धारणा बनाएर गठबन्धनमा सँगै रहन कति नैतिक हुन्छ र त्यसलाई एमालेले कसरी हेर्छ भन्ने कुराले पनि अर्थ राख्छ’, ती नेताको भनाइ छ ।

एकीकृत समाजवादीका सम्मानित नेता खनाल भने एमालेलाई वर्ग दुष्मन नै घोषणा नगरेको हुँदा त्यसलाई ठूलो अर्थमा बुझ्न नहुने बताउँछन् । बरु सरकारले गर्ने कामले सँगै रहने वा नरहनेको कुराको अर्थ रहने बताउँछन् ।

‘यो गठबन्धनले राष्ट्रका मुद्दालाई कसरी सम्बोधन गरेर जान्छ भन्ने कुरा फेरि पनि महत्वपूर्ण हुन्छ । सरकारले राम्रा गरेका कामको समर्थन गर्छौं, राम्रो काम भएन भने आलोचना हुन्छ’, उनले भने, ‘हामी पद मागेर जाँदैनौं । नीति, कार्यक्रम, बजेट र विधेयकका बीचमा मतैक्यता भयो भने हामी सरकारमा सहभागी हुनसक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?