+
+

नेपालको नयाँ गठबन्धनमा भारतीय मिडियाले जोडे चीन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १५:३८

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग बनाएको नयाँ गठबन्धनबारे भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् ।

कतिपयले राष्ट्रिय सभा अध्यक्षको विषयले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहकार्य टुटेको लेखेका छन् भने कतिपयले चीनको भूमिकाका कारण गठबन्धन फेरबदल भएको जिकिर गरेका छन् ।

हिन्दुस्तान टाइम्सले राष्ट्रियसभा अध्यक्षको दाबीका कारण कांग्रेस र माओवादी केन्द्रको समीकरण टुटेको समाचार लेखेको छ । माओवादी केन्द्रले स्थायी समिति बैठकबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र कांग्रेसले  पनि त्यसमा दाबी नछोडेकोले दुई दलबीचको सहकार्य अन्त्यको स्थितिमा पुगेको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सले सरकार फेरबदलमा प्रचण्ड माहिर रहेको पनि आफ्नो समाचारमा लेखेको छ ।

यस्तै द हिन्दूले प्रचण्डले कांग्रेससँगको १५ महिने सहकार्य तोड्दै एमालेको साथ लिएको समाचार लेखेको छ । निर्वाचनपछि एमालेकै साथ र सहयोगमा सरकार बनाएर पछि फेरि कांग्रेससँग सहकार्य गरेपछि ओली प्रचण्डका प्रखर आलोचक बनेको र हाल तीनै आलोचकको साथ प्रचण्डले खोजेको द हिन्दुको समाचारमा भनिएको छ ।

माओवादी केन्द्र र कांग्रेसको दुरी अर्थमन्त्री प्रकाशशरण महतको कार्यशैलीका कारण बढेको द हिन्दुमा समाचार छ । यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन चाहेको विषयले पनि गठबन्धन संकटमा परेको समाचारमा भनिएको छ ।

यस्तै अमर उजालाले राष्ट्रियसभाध्यक्षकै विवादका कारण कांग्रेस र माओवादीको गठबन्धन टुटेको समाचार लेखेको छ । चितवनको भरतपुर  पुगेर प्रचण्डले गठबन्धनमा खटपटको संकेत गरेको अमर उजालाको समाचारमा उल्लेख छ ।

यस्तै नवभारत टाइम्सले माल्दिभ्सपछि चीन नेपालमा पनि सरकार परिवर्तन गर्न सफल भएको  समाचार छापेको छ । एमाले र माओवादी केन्द्रको गठबन्धन बनाउन चीन सपल भएको समाचार उसले लेखेको छ ।

नयाँ समीकरण बनाउन चिनियाँ राजदूतले भूमिका खेलेको त्यस समाचारमा उल्लेख छ । चीनका धेरै नेताहरुले वाम एकतामा जोड दिएको र त्यही चाहना अनुरुप नयाँ समीकरण बनेको नवभारत टाइम्सले जिकिर गरेको छ ।

उसले एमाले अध्यक्ष ओली भारतका प्रखर आलोचक रहेको र चीन समर्थक रहेको समाचारमा उल्लेख गरेको छ । प्रधानमन्त्री हुँदा ओलीले भारतप्रति विष वमन गरेको नवभारत टाइम्समा समाचार छ ।

इन्डियन एक्सप्रेसले करिब १७ महिनापछि वाम गठबन्धन बनेको उल्लेख गरेको छ । माओवादीले कंग्रेससँगको सम्बन्ध टुटाएसँगै १७ महिनापछि नेपालमा वाम सरकार सम्भव भएको समाचारमा भनिएको छ । पहिला पनि चीनको चाहनामा वाम गठबन्धन बनेकाले यसपटक पनि त्यो सम्भावना रहेको त्यहाँ इंगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?